ad ad

समाज


३ दिनयता भेटिएनन् कोरोना संक्रमित, लकडाउन अब प्रदेश तहमा गर्ने तयारी

३ दिनयता भेटिएनन् कोरोना संक्रमित, लकडाउन अब प्रदेश तहमा गर्ने तयारी

सागर न्यौपाने
चैत १९, २०७६ बुधबार १७:१३,

तीन दिनयता कोरोना भाइरसबाट संक्रमित एउटै रिपोर्ट नआएपछि सरकारले एक किसिमको राहत महशुस गरेको छ।

अहिलेसम्म कोरोनाबाट संक्रमित पाँच जनामध्ये एक जना निको भैसकेका छन् भने अन्य चार जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। पछिल्ला तीन दिनमा एक जना पनि संक्रमित नथपिएको अवस्थामा सरकारले एक साता हेरेर जनजीवन सामान्य बनाउने सोच बनाउन थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रुपमा कोरोना परीक्षण रिपोर्ट सार्वजनिक गर्दै आएको छ, जसअनुसार तीन दिनयता एक जना पनि संक्रमित भेटिएका छैनन्।

कोरोना लक्षण देखिएका व्यक्तिहरूको स्वाव परीक्षण गर्दा सोमबार, मंगलबार र बुधबार तीनदिनमा एक जनाको पनि पोजिटिभ रिपोर्ट नआएको मन्त्रालय अन्तर्गतको नीति तथा योजना महाशाखाका प्रमुख डा.गुणराज लोहनीले बताए।

‘समयमै लकडाउन, सीमामा कडाई र नेपालमा बढ्दै गएको गर्मीको कारण संक्रमणको जोखिम नबढेको हुनसक्छ’, लोहनीले बुधबार साँझ नेपालखबरसँग नेपालमा कोरोना संक्रमित नबढ्नुको कारण अथ्र्याउँदै भने, ‘युरोपमा भन्दा नेपालमा आएको भाइरसको प्रभाव कम हो कि भन्ने पनि छ।’

जनवरीको अन्तिममा दुवै देशमा सँगै कोरोना संक्रमण देखापरेपनि भारतमा भन्दा इटलीमा दशौं गुणा मानिसको मृत्यु भएको लोहनीले तुलना गरे। भारतभन्दा चिसो ठाउँ भएकाले इटलीमा बढी क्षति भएको को कि भन्ने उनको संकेत छ।

‘हामीले लोकलाइज गर्ने, जाँच पड्ताल गर्ने, संक्रमित भेटेकाबाट समुदायमा फैलन नदिने र समयमै उपचार गरी निको बनाउने हो’, उनले भने।

लोहनीका अनुसार विदेशबाट बिरामी अवस्थामा नेपाल फर्केका र यहाँ परीक्षण गर्दा संक्रमित भेटिएका व्यक्तिले अरुलाई सारे कि सारेनन् भन्नेमा मन्त्रालय बढी सजग रहेको छ।

सरकारले देशव्यापी रुपमा गरेको लकडाउन अहिले दोस्रो हप्तामा चल्दैछ। संक्रमणको त्रास र सजगता दुवै कारण सर्वसाधारण घरभित्रै बस्न तयार रहेपनि सरकारले भने संक्रमितको संख्या धेरै नबढेको अवस्थामा एक हप्तापछि लकडाउन खोल्ने तयारी गरेको संकेत लोहनीले गरे।

‘सबै परीक्षण गरेर २ हप्तापछि सरकारले अवस्था हेरेर प्रदेश–प्रदेश लकडाउन गर्न सक्छ,’ लोहनीले थपे।

चीन र अमेरिकाको अनुभव हेर्ने हो भने कोरोना संक्रमण कुन रुपमा फैलिन्छ त्यो अवस्था हेरेर बढी प्रभावित क्षेत्र वा शहरमा मात्रै लकडाउन गरेका उदाहरण छन्।

चीनको वुहानमा गत डिसेम्बरदेखि देखिएको कोरोना भाइरस संक्रमण नेपालमा भने माघमा चीनबाटै आएका एकजनामा देखिएको थियो।

माघको ९ गते नेपालमा कोरोनाबाट संक्रमित पहिलो व्यक्ति फेला परेका थिए, जो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार गरेपछि निको भएर घर फर्केका थिए। उनी अहिले स्वस्थ्य रहेका छन्।

पहिलो संक्रमित फेला परेको दुई महिनापछि मात्रै दोस्रो संक्रमित फेला परेका थिए, चैत १० गते। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना पोजिटिभ देखिएको थियो।

दोस्रो पटक कोरोना पोजिटिभ भएका व्यक्ति फेला परेपछि सरकारले मुलुकभर लकडाउन गरेको छ। पहिलोचरणमा गरेको एक हप्ताको लकडाउनको अवधि सकिएपछि फेरि एक हप्ता थपेर चैत २५ गतेसम्म पुर्याइएको छ।

दोस्रो पटक लकडाउनको अवधि थप गर्दा नेपालमा कोरोना संक्रमितको संख्या ४ जना पुगिसकेको छ।

चैत १० गते दोस्रो कोरोना संक्रमित फेला परेको पर्सीपल्ट अर्थात चैत १२ गते धादिङका एक ३२ वर्षका युवामा कोरोनाको संक्रमण देखियो, जसको उपचार पनि टेकुकै आइसोलेसन वार्डमा भइरहेको छ।

चैत १३ गते फेरि धनगढीका एक युवामा कोरोना संक्रमण भएको देखियो। युएईबाट नेपाल फर्केका ती युवालाई सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखेर उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको सुदुरपश्चिम सरकारका सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।

चैत १५ गते कोरोना संक्रमित अर्की युवती फेला परिन्। युरोपबाट फर्केकी ती युवती चैत ४ गते कतार एयरवेजमार्फत नेपाल आएकी थिइन। सोही दिन कतार एयरवेजमै आएकी १९ वर्षकी युवतीलाई चैत १० गते परीक्षण गराउँदा कोरोना संक्रमण देखा परेको थियो।

बाग्लुङ घर भएकी ती १९ वर्षकी युवतीको जिल्लाकै अस्पतालको आइसोलेसनमा उपचार भइरहेको र अवस्था सामान्य रहेको गण्डकी प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदबन्दू शर्माले बताए।

बुधबार सम्मको तथ्यांकलाई आधार मानेर मन्त्रालयले नेपालमा कोरोना रोजगार र अध्ययनका लागि विदेशमा गएर फर्केका व्यक्तिमा मात्रै देखिएको छ।

सातै प्रदेश र विभिन्न स्थानीय तह तथा कोरोना उपचार गर्न स्थापना भएका विशेष अस्थायी अस्पतालहरुले टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाव परिक्षणका लागि पठाउने गरेका छन्।

बुधबार साँझसम्म देशैभर गरेर ११३३ जनाको नमूना संकलन गरी परीक्षण गरिसकिएको र पाँच जना बाहेक अन्यमा कोरोना संक्रमण नभेटिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार परीक्षण गराउनेको संख्या भने बढ्दै गएको छ। काठमाडौंको टेकु र पाटन कोरोना संक्रमितका लागि उपचार गर्न छुट्याइएका अस्पताल हुन्। टेकुको आइसोलेसनमा ४ जना र पाटनको आइसोलेनमा ६ जना रहेको अस्पतालले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .