ad ad

समाज


कोरोनाका ६ संक्रमित सबै आयातित, स्थानीय समुदाय कसरी जोगियो?

कोरोनाका ६ संक्रमित सबै आयातित, स्थानीय समुदाय कसरी जोगियो?

सागर न्यौपाने
चैत २०, २०७६ बिहिबार १४:३५,

नेपालमा अहिलेसम्म भेटिएका कोरोना संक्रमित सबै जना विदेशबाट आएका मात्रै रहेकाले यसले महामारीको रुप लिने संभावना कम देखिएको सरकारी अधिकारीहरूले विश्लेषण गरेका छन्।

बिहीबारसम्म नेपालमा ६ जना कोरोना संक्रमित भेटिएका छन्, जो सबै विदेशबाट आएका मात्रै हुन्। यी ६ जना वा विदेशबाट आएका अन्यबाट स्थानीयमा कोरोना संक्रमण सरेको अहिलेसम्म नभेटिँदा सरकारी स्वास्थ्य अधिकारीहरू केही उत्साहित देखिएका हुन्।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले अहिलेसम्म नेपालमा देखिएका कोरोना संक्रमित सबै आयातित भएकाले महामारी फैलिने संभावना अब कम रहेको बताए।

‘आजसम्म भेटिएका ६ जना कोरोना संक्रमित पोजिटिभमध्ये सबै विदेशबाट आएका मात्रै छन्,’ पाण्डेले बिहीबार नेपालखबरसँग भने, ‘उनीहरुबाट अन्य नेपालीलाई सरेको भए नराम्रो हुन्थ्यो। तर अहिलेसम्म स्थानीय समुदायमा सरेको भेटिएको छैन।’

नेपालमा करिब डेढ महिनाअघि, माघ ९ गते पहिलो पटक कोरोना संक्रमित भेटिएका थिए, जो कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको वुहानबाट आएका विद्यार्थी थिए।

त्यसको दुई महिनापछि चैत १० गते फ्रान्सबाट फर्केकी एक युवतीमा कोरोना संक्रमण भेटियो। तेस्रो संक्रमित युएईबाट आएका युवा थिए भने चौथो र पाँचौं संक्रमित पनि विदेशबाट फर्केका नेपाली नै थिए।

बिहीबार भेटिएकी छैठौं संक्रमित पनि युरोपबाट फर्केकी महिला रहेको पुष्टि भएसँगै नेपालमा अहिलेसम्म कोरोनाका संक्रमित सबै आयातित रहेको देखिएको हो।

पहिलो संक्रमित भेटिएको करिब अढाई महिना र दोस्रो भेटिएको दश दिनसम्म पनि उनीहरूबाट स्थानीय समुदायमा संक्रमण सरेको नभेटिँदा विज्ञहरूले अब यसले महामारीको रुप लिने संभावना कम भएको विश्लेषण गर्न थालेका हुन्।

विदेशबाट आएका नेपालीमा मात्र कोरोना संक्रमण देखिनुलाई ‘आयातित केस’ भन्दै उनीहरूले केही राहत महशुस गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नीति तथा योजना महाशाखाका प्रमुख डा. गुणराज लोहनीले पनि बुधबार कोरोना संक्रमणले नेपालमा महामारीकै रुप लिने संभावना कम हुँदै गएको बताएका थिए।

‘समयमै लकडाउन, सीमामा कडाई र नेपालमा बढ्दै गएको गर्मीको कारण संक्रमणको जोखिम नबढेको हुनसक्छ’, लोहनीले बुधबार साँझ नेपालखबरसँग भनेका थिए, ‘युरोपमा भन्दा नेपालमा आएको भाइरसको प्रभाव कम हो कि भन्ने पनि छ।’

स्थानीय समुदायमा संक्रमण नफैलिएर आयातितमा मात्र सीमित रहेसम्म जोखिम कम हुने विज्ञहरूको तर्क छ।

डा. पाण्डेका अनुसार बाग्लुङकी महिलामा बिहीबार देखिएको कोरोना संक्रमणले जोखिम निम्त्याउने संभावना कम छ। चैत ४ गते नेपाल आएकी उनको बाग्लुङ, पोखरा हुँदै मंगलबार काठमाडौंमा स्याम्पल आइपुगेको थियो। राष्ट्रिय प्रयोगशालामा हिजो परीक्षण गर्न नभ्याएपछि बिहीबार परीक्षण गर्दा पोजिटिभ देखिएको हो।

‘विदेशबाट आएकाहरुको क्वारेन्टिनमा बस्ने अवधि १४ दिन हो, जोखिम पनि यही अविधिमा बढी हुन्छ भन्ने छ,’ डा. पाण्डे भन्छन्, ‘यी महिलाबाट अब सर्ने संभावना टरिसक्यो।’

यसअघि फ्रान्सबाट चैत १० गते आएकी बाग्लुङकै एक युवतीमा कोरोना संक्रमण देखिएपछि उनका आफन्त र नजिकका व्यक्तिहरुको स्याम्पल परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आयो। डा. पाण्डेका अनुसार अन्य व्यक्तिमा फैलिएको भए अहिलेसम्म लक्षणहरु देखिने थियो।

अब बिहीबार भेटिएकी संक्रमित महिलाको आफन्त र उनको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब परीक्षण गरेर सजगता अपनाउने उनको भनाइ छ।

‘स्थानीय समुदायमा कसैलाई पनि सरेको देखिएको छैन, यसबाट हामीलाई थप सजगता अपनाउन सहज भएको छ,’ पाण्डेले भने, ‘थप परीक्षण अब हुन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .