ad ad

समाज


बागलुङका कोरोना संक्रमित बिरामी लिन गण्डकी र टेकु अस्पतालद्वारा अस्वीकार

बागलुङका कोरोना संक्रमित बिरामी लिन गण्डकी र टेकु अस्पतालद्वारा अस्वीकार

सागर न्यौपाने
चैत २१, २०७६ शुक्रबार १२:३२,

धौलागिरि प्रादेशिक अस्पताल, बागलुङमा दुई जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ। तर, सो अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि आवश्यक उपकरण र स्वास्थ्य सामग्री नै नभएको पाइएको छ।

साधनस्रोतको अभाव भएपछि ती बिरामीलाई पोखरा र काठमाडौँ पठाउन खोज्दा गण्डकी अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले लिन अस्वीकार गरेको पनि धौलागिरि अस्पतालले जनाएको छ।

सो अस्पतालमा उपचार गराइरहेका संक्रमितमध्ये एक ६५ वर्षीया महिला पनि छिन्। उनलाई दम र पिसाबसम्बन्धी रोग पनि रहेको चिकित्सकहरुले बताएका छन्। उनी नेपालमा फेला परेका संक्रमितमध्ये सबैभन्दा बढी उमेरकी हुन्।

तर, उनको उपचार भइरहेको धौलागिरि अस्पतालमा आईसीयू, भेन्टिलेटरजस्ता सुविधा छैनन्।

अस्पतालका प्रमुख डा. शैलेन्द्र विकले अस्पतालमा आईसीयू मात्र होइन, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), एन ९५ मास्क, गगल्सजस्ता स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक सामग्री समेत नभएको बताए।

रातारात गरेर भेन्टिलेटर ल्याएपनि जडान भइनसकेको उनले बताए।

‘भेन्टिलेटर जडान गरेपछि एक किसिमको उपचार त गर्न सक्छौं। तर, हाम्रोमा आईसीयू छैन,’ उनले भने, ‘बिरामीमा कम्प्लिकेसन आयो भने गाह्रो हुन्छ। अहिलेसम्म बिरामीलाई ज्वरो आएको छैन र केस जटिल भएको छैन। स्रोत, साधन नहुँदा समस्या आइहाले के गर्ने भन्ने चिन्ता छ। बिरामीमा जुनसुकै बेला कम्प्लिेकसन आउन सक्छ।’

 धौलागिरि अस्पतालमा भिडियो एक्सरे र रगत परीक्षणजस्ता सामान्य सुविधा मात्रै उपलब्ध रहेको उनले बताए।

‘गण्डकी र शुक्रराज अस्पतालले बिरामी लिन मानेनन्’
बिरामीलाई पोखरा वा काठमाडौं लैजाने तयारी गरेपनि आफूहरु सफल नभएको अस्पताल सञ्चालक समितिका सदस्य शालिकराम शर्माले गुनासो गरे।

‘हामीले गण्डकी अस्पताललाई पटक–पटक अनुरोध ग¥यौं तर बिरामी लगेर उपचार गर्न मन गर्नुभएन,’ शर्माले नेपालखबरसँग भने, ‘गण्डकीले नमानेपछि मन्त्रालय र टेकु अस्पतालमा पनि पटकपटक कुरा गरेका हौं। तर, उहाँहरुबाट पनि रेस्पोन्स पाएनौं, अहिले जोखिम मोलेर यहीँ उपचार गरिरहेका छौं।’

दोस्रो कोरोना संक्रमित फेला परेपछि बाग्लुङ नगरपालिकामा त्रास फैलिएको नगरप्रमुख जनकराज पौडेल बताउँछन्।

‘त्रसित वातावरण छ, पहिलो केस भेटिँदा अत्तालिएका नगरबासी फेरि अर्काे केस पनि देखिएपछि थप त्रासमा छन्’, उनले भने।

अस्पतालको चिन्ताः बिरामीलाई गाह्रो भए कहाँ पठाउने?
अस्पताल र नगरपालिकाको एउटै चिन्ता छ–बिरामीको अवस्था गम्भीर भयो भने उपचारका लागि कहाँ लैजाने?

‘बिरामी आइसोलेसनमा छन्, कुनैपनि बेला क्रिटिकल भयो भने कहाँ रिफर गर्ने? साह्रै तनाव छ,’ अस्पतालका सञ्चालक शर्मा भन्छन्।

त्यही भएर पहिलो संक्रमित देखिएलगत्तै आफूहरुले प्रदेश सरकार र केन्द्र सरकार गुहारेको बाग्लुङ नगरपालिकाका नगर प्रमुख पौडेल बताउँछन्।

‘हामीले पटक पटक सुविधासम्पन्न अस्पताल पठाउने प्रयास गरेका हौं, पोखरा र काठमाडौं लगेर उपचार गर्ने हाम्रो जोड हो,’ नगर प्रमुख पौडेल भन्छन्, ‘उहाँहरुको अनिच्छाकै कारण यहाँ जोखिम मोलेर उपचार गरिरहेका छौँ।’

युवतीको दोस्रो रिपोर्ट पनि पोजिटिभ
चैत ४ गते कतार एयरवेजमा नेपाल आएकी १९ वर्षीया युवतीको १५ गते पहिलो पटक आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको थियो।

युरोपबाट आएकी उनी कोरोना संक्रमण देखिएपछि घरमै क्वारन्टिनमा बसेकी थिइन्। उनले गाउँघरका मानिसहरुसँग हिमचिम नगरेको नगर प्रमुख पौडेलले बताए।

ती युवतीको आफन्त र छिमेकीको समेत परीक्षण गरिएको तर संक्रमण नदेखिएको उनले जानकारी दिए।

युवतीमा भने दोस्रो पटक गरिएको परीक्षणमा पनि कोरोना पोजिटिभ नै देखिएको छ।

बुधबार स्वाव लिएर बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा पोजिटिभ भेटिएको र फेरि २४ घण्टापछि अर्काे परीक्षण गराउन काठमाडौंको राष्ट्रिय प्रयोगशाला पठाइएको अस्पतालका सञ्चालक शर्माले बताए।

६५ वर्षीया महिला पनि चैत ४ गते नै कतार एयरवेजबाटै नेपाल आएकी हुन्। उनी पनि घरमै बसेकी थिइन्। उनले भेट्न आउनेहरुलाई चकलेट बाँडेको तर आफू भने घरबाहिर ननिस्केको नगरप्रमुख पौडेलले बताए।

‘विदेशबाट आएकाले चकलेट बाँड्नुभएछ। अन्त कतै गएको पाइएन,’ नगरप्रमुख पौडेलले भने। उनलाई चैत २० गते कोरोना संक्रमणको पुष्टि भएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .