ad ad

समाज


सुदूरपश्चिमका नाकाबाट एक लाख बढी स्वदेश भित्रिए, २३ सय मात्रै क्वारेन्टिनमा

सुदूरपश्चिमका नाकाबाट एक लाख बढी स्वदेश भित्रिए, २३ सय मात्रै क्वारेन्टिनमा

गोकुल जोशी
चैत २३, २०७६ आइतबार ८:४१,

सुदूरपश्चिमका विभिन्न नाका प्रयोग गर्दै एक महिनाको अवधिमा भारतबाट लाख भन्दा बढी मानिस स्वेदश फर्किएका छन्।

भारतको विभिन्न सहरमा मजदुरी गरी कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, खक्रौला, बैतडीको झुलाघाट तथा दार्चुलास्थित मुख्य नाकाको प्रयोग गर्दै एक महिनाको अवधिमा एक लाख बढी सुदूरपश्चिमेली भित्रिएका छन्। भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रुपमा लिएपछि मात्रै उनीहरु भित्रिएका हुन्।

सुदूरपश्चिमस्थित भारतसँग सीमा जोडिएका विभिन्न नाकाको प्रयोग गर्दै भारतबाट फर्किनेहरुमा सुदूरका पहाडी जिल्लाका बढी छन्। कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक महिनाको अवधिमा ६८ हजार तीन सय ३१ जना मानिस भित्रिएको हेल्थ डेस्ककी अनमी निर्मला जोशीले बताइन्। फागुन २३ गते गड्डाचौकीमा सुदूरपश्चिम प्रदेश र भीमदत्त नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेको थियो।

यस्तै, कैलालीको गौरीफन्टा नाकाबाट एक महिनाको अवधिमा ४२ हजार दुई सय ६६ जना भित्रिएको हेल्थ डेस्क प्रमुख दिनेश ठकुल्लाले बताए।

‘फागुन २२ गतेदेखि चेकजाँच गर्न सुरु गरेका थियौँ, लकडाउन अगाडि र पछि गरी ४२ हजार बढी मानिस भित्रिएका छन्, उनीहरुको स्क्रिनिङ गरिएको छ’ उनले भने।

कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाका भएर भारतमा मजदुरी गरी सुदूरपश्चिममा एक लाख १० हजार पाँच सय ८७ जना भित्रिएका छन्। यो तथ्यांक कञ्चनपुर–कैलालीको मुख्य नाका गड्डाचौकी र गौरीफन्टा मात्रै प्रयोग गरी भित्रिनेको हो। अझै अरु जिल्लाका नाका र छोटी नाकाको प्रयोग गर्दै धेरै मानिस भित्रिएका छन्। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको भारतमा मजदुरी गरी आएका लाख बढी मानिस क्वारेन्टिनमा बसेका छैनन्। जसले गर्दा सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम बढी छ।

२३ सय ८३ जना मात्रै क्वारेन्टिनमा
कोरोना भाइरसले सताइरहेको भारतमा काम गरेर फर्किएका लाख बढी मानिसमध्ये २३ सय ८३ जना मात्रै क्वारेन्टिनमा बसेका छन्। सुदूरपश्चिमका नौ जिल्लाका विभिन्न स्थानीय तहमा गरी हालसम्म २३ सय ८३ जना मात्रै क्वारेन्टिनमा बसेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।

‘लकडाउन पछि नाका प्रवेशको अनुमति पाएर आएका मात्रै क्वारेन्टिनमा बसेका छन्’ उनले भने।

लकडाउन पछि मात्रै पनि भारतबाट हजारौँ मानिस भित्रिएका छन्। उ्नीहरु पनि सबै क्वारेन्टिनमा बसेका छैनन्। सुदूरपश्चिममा भारत बाहेक अन्य मुलुकबाट आउने मानिसको संख्या न्युन छ। क्वारेन्टिनमा बसेकाहरुको तथ्यांक अनुसार कैलालीमा चार सय ५१ जना, कञ्चनपुरमा एक सय ४३ जना, बैतडीमा चार सय ४३ जना, दार्चुलामा दुई सय १० जना, डडेल्धुरामा ८०, डोटीमा चार सय २८ जना, बझाङमा चार सय ६४ जना, अछाममा ५३ जना र बाजुरामा एक सय ११ जना गरी जम्मा १२ सय ८३ जना मात्रै क्वारेन्टिनमा बसेका छन्।

लकडाउन पछि भित्रिएका पनि क्वारेन्टिनमा छैन
लकडाउन पछि कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाका भएर हजारौँ मानिस भित्रिएका थिए। कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै नाकामा आवागमन रोकिए पछि भारतमा काम गरेर फर्किएकाहरु नाकामै अलपत्र परेका थिए। सुदूरपश्चिम प्रदेश सरकारले १४ दिन अनिवार्य क्वारेन्टिन राख्ने गरी उनिहरुको जिल्लागत विवरण संकलन गरेर सम्बन्धित स्थानीय तह पठाएको थियो। लकडाउनमा भारतबाट भित्रिएका अधिकांश क्वारेन्टिनमा छैनन्।

‘सबै त क्वारेन्टिनमा छैनन्, ४ सय भन्दा बढी जतिलाई राखेका छौँ’ बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने, ‘अरु सेल्फ क्वारेन्टिनमा छन्।’

स्थानीय तहले तयार गरेको क्वारेन्टिनमा बस्न अटेरी गरे पछि सेल्फ क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित धेरै घर फर्किएका छन्। सीमामा भएको चेकजाँचकै भरमा घर पुगेर सेल्फ क्वारेन्टिनमा बसेकाहरुको निगरानी नभएको स्थानीय तहरुले जनाएका छन्।

अधिकांश क्वारेन्टिन खाली
सुदूरपश्चिमको नौ जिल्लामा गरी चार हजार आठ सय २८ शय्याका क्वारेन्टिन तयार अवस्थामा छन्। यद्यपी अधिकांश क्वारेन्टिन भने अहिले खाली अवस्थामा छन्। भारतबाट आएका मानिसहरु ज्यादै न्यून संख्यामा क्वारेन्टिनमा बसे पछि ती क्वारेन्टिन रित्तै भएका हुन्। कैलालीमा ११ सय १४ शय्याको क्वारेन्टिन छ, त्यहाँ अहिले चार सय ५१ जना मात्रै छन्।

कञ्चनपुरमा चार सय १२ जना अटाउने सक्ने क्षमताको क्वारेन्टिन भएको अवस्थामा एक सय ४३ जना मात्रै छन्। बैतडीमा नौ सय १६ शैय्याको क्वारेन्टिनमा चार सय ४३, दार्चुलामा तीन सय ५१ शय्याको क्वारेन्टिनमा दुई सय १०, डडेल्धुरामा चार सय ६१ शैय्याको क्वारेन्टिनमा ८० जना, डोटीमा पाँच सय ४० शैय्याको क्वारेन्टिनमा चार सय २८ जना, बझाङमा छ सय ३२ शय्याको क्वारेन्टिनमा चार सय ६४, अछाममा एक सय ७१ शैय्याको क्वारेन्टिनमा ५३ र बाजुरामा दुई सय १९ शैय्याको क्वारेन्टिनमा एक सय ११ जना मात्रै बसेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .