ad ad

समाज


यस्तो छ, लकडाउनको १६ औं दिनसम्मको अवस्था

यस्तो छ, लकडाउनको १६ औं दिनसम्मको अवस्था

नेपालखबर
चैत २६, २०७६ बुधबार ८:३५,

नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले घोषणा गरेको लक डाउन आज १६ औं दिन पनि जारी रहेको छ।

चैत ११ गते विहान ६ बजेबाट लागु हुनेगरी एक हप्ताका लागि घोषणा गरिएको लक डाउनको अवधि सरकारले तेस्रो पटक थप गरेर आगामी वर्षको वैशाख ३ गतेसम्म जारी रहने निर्णय गरेको छ। विश्वभरी फैलिएको कोरोना महामारीको संक्रमण नेपालमा देखिएपछि जारी गरिएको लक डाउन पछि उपत्यका सुनसान बनेको छ।

मुख्यगरी काठमाडौं उपत्यकाका भिडभाड हुने बजारहरु बन्द रहेका छन्। असन बजार, न्यूरोड, ठमेल लगायतका मुख्य भिडभाड हुने बजारहरु बन्द रहेका छन्। यसैगरी बसपार्कहरु समेत सुनसान देखिएका छन्। बजार मात्रै होइन मन्दिरहरु समेत बन्द रहेका छन्। सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ। चोक चोकमा सुरक्षाकर्मी खटिएका छन्।

लक डाउनमा कडाई गरिएपनि तरकारी पसल र खाद्य पसलहरुमा अनावश्यक भिड हुने गरेको पाइन्छ। लक डाउन उल्लंघन गर्दै सडकमा जथाभावि हिड्नेहरुको संख्या बढेपछि प्रहरीले केही समय ‘होल्ड’ गरेर राख्ने नीति लिएको थियो। पछिल्लो समय प्रहरीले माइकिङ गरेर जनचेतना फैलाइरहेका छन्। प्रहरीले लक डाउनको उल्लंघन गर्नेहरुको संख्या बढेपछि अझ कडा कारबाहीको नीति लिएको छ।

अत्याश्वयक सवारीहरु (एम्बुलेन्स, सुरक्षाकर्मी, पानी बोक्ने ट्याङ्कर, खाद्यान्न ढुवानी गर्ने सवारी र सञ्चारमाध्यमका सवारी) बाहेक चलेका छैनन्। उपत्यका सुनसान देखिएको छ। साँझपख तरकारी पसल र केही खाद्य पसल खुल्ने गरेका छन्।

लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खानेहरुलाई भने समस्या भएको छ। सरकारले स्थानीय तहहरुसँग समन्वय गरेर राहत विरतण भइरहेको बताएपनि उनीहरु सन्तुष्ट छैनन्।

नेपालमा दोस्रो कोरोना संक्रमित देखिएपछि चैत १८ गतेसम्मका लागि पहिलो पटक लड डाउन घोषणा गरिएको थियो। सो अवधिमा अरु व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएपछि सरकारले लक डाउन थप गरेको छ।

सरकारले दोस्रो पटक २५ गतेसम्मका लागि समय थप गरिएको थियो। संक्रमितको संख्या बढ्दै गएपछि सरकारले तेस्रो पटक गत सोमबार बैशाख ३ गतेसम्म लक डाउनको अवधि थपेको थियो। सरकारले अन्तर्राष्ट्रिय सीमानाका र हवाई उडान समेत बन्द गरेको छ। कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ। एकजना उपचारपछि निको घएर घर फर्किएका छन् भने ८ जनाको उपचार भइरहेको छ। अहिलेसम्म २ हजार १ सय २२ जनामा परीक्षण गरिएको छ। १ सय जना आइसोलेसनमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .