ad ad

समाज


डीआईजीको संख्या १४ कायम, १० जना बढुवा हुने

डीआईजीको संख्या १४ कायम, १० जना बढुवा हुने

उजिर कार्की
चैत २७, २०७६ बिहिबार १३:१२,

नेपाल प्रहरीमा प्राविधिकतर्फ बाहेक १४ जना डीआईजी कायम गरिएको छ। यससम्बन्धी मन्त्रिपरिषद् निर्णयको पत्र बिहीबार गृह मन्त्रालय आइपुगेको उच्च स्रोतले जानकारी दियो।

प्रहरी प्रधान कार्यालयले समेत १४ डीआईजी कायम भएको पुष्टि गरेको छ।

मन्त्रिपरिषद्को निर्णय प्राप्त भएसँगै बढुवा सिफारिस समितिले १० जना डीआईजीको बढुवा प्रक्रिया अगाडि बढाउने छ।

गृहमन्त्री रामबहादुर थापाले डीआईजीको संख्या १९ कायम गर्नुपर्ने प्रस्ताव गरेका थिए। तर, सो प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका थिए। तर, सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले डीआईजी संख्या १३ मा झार्नुपर्ने बताएका थिए।

तर, त्यसपछि छुट्टै छलफल गरेर गृहमन्त्री थापाले एक जना डीआईजी थप्न प्रधानमन्त्रीलाई मनाएको स्रोतले जानकारी दियो।

यो निर्णयसँगै ७ प्रदेशमा ७ जना र प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, विशेष ब्यूरो नक्साल, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा एक/एक जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहनेछन्।

नेपाल प्रहरीमा पहिलेको दरबन्दीअनुसार२२ जना डीआईजीको पद रिक्त भएपनि अब १० जनालाई मात्रै डीआईजीमा बढुवा गरिनेछ। अहिले चार जना डीआईजी कार्यरत छन्।

डीआईजीहरु निरज शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोख्रेल कार्यरत छन्। कार्की प्रदेश २ मा, शाही सीआईबीमा, उपाध्याय प्रधान कार्यालयमा र पोख्रेल महानगरीय प्रहरी कार्यालयमा कार्यरत छन्।

एउटै विज्ञापनमा भिडेर ११ महिनाको फरकमा भर्ना भएका ३४ एसएसपी अब बन्ने १० डीआईजीका प्रतिस्पर्धी मानिएका छन्।

यसमा पनि २०७४ साउन ३२ गते एसएसपीमा बढुवा भएका १७ जना मुख्य दाबेदार हुन्। ०७५ जेठ २ गते थप १७ जना एसएसपीमा बढुवा भएका छन्। सरकारले यीमध्यबाट केहीलाई बढुवा गर्ने सम्भावना छ।

घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कंडेल, प्रकाशजंग काकर्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, दिलीपकुमार चौधरी, राजेशलाल कर्ण, देवबहादुर बोहरा, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्त कुमार लामा, दिवेश लोहनी, सौरभ राणा, रामकृपाल शाह, उमेश रन्जितकार र रवीन्द्रबहादुर धानुक २०७४ साउनमा एसएसपी भएका थिए।

त्यस्तै, २०७५ जेठमा सहकुलबहादुर थापा, अरुणकुमार बीसी, प्रकाश अधिकारी, सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खां, किशोर कुमार दाहाल, शेखर कोइराला र प्रदीपकुमार श्रेष्ठ बढुवा भएका थिए।

डीआईजीका दाबेदारमध्ये पूजा सिंह एक मात्र महिला हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .