ad ad

समाज


यी हुन् कोरोना भाइरसबारे हामीले अझै नबुझेका नौ कुरा

यी हुन् कोरोना भाइरसबारे हामीले अझै नबुझेका नौ कुरा

नेपालखबर
बैशाख १, २०७७ सोमबार ९:९,

गत डिसेम्बरमा चीनको उहानबाट उत्पन्न भएको कोरोना भाइरसले अहिले विश्वभर आतंक मच्चाइरहेको छ।

यो लेख्दासम्म विश्वमा यो भाइरसले १ लाख १४ हजार ३ सय १२ जनाको ज्यान लिइसकेको छ भने १८ लाख ५६ हजार ७ सय ९८ मानिसलाई बिरामी बनाइसेकको छ।

साथै यो भाइरसले भेटेका ४ लाख २८ हजार २ सय ७५ मानिस उपचारपछि निको पनि भएको वर्ल्डओमिटरको तथ्यांक (नेपाली समय सोमबार दिउँसो १ः३३ बजेसम्म) ले देखाएको छ।

डिसेम्बरदेखि अहिले यो अप्रिलसम्म करिब ४ महिना भयो- नोवल कोरोना भाइरसबारे चर्चा हुन थालेको। यसबारे वैज्ञानिकले विभिन्न तथ्य सार्वजनिक गरिरहेका भए पनि अझै टुंगोमा पुग्न सकेका छैनन्, अनुसन्धान जारी नै राखेका छन्।

यी हुन् अझै थाहा हुन नसकेका महत्वपूर्ण कुराः
१. वास्तविक संक्रमित कति?
यो सबैभन्दा आधारभूत र महत्त्वपूर्ण प्रश्न हो। कोरोना भाइरसबाट विश्वभर संक्रमण पुष्टि भएका मानिसको जुन तथ्यांक हामी देखि/सुनिरहेका छौं, वास्तवमा त्यसले सबै संक्रमितको संख्या दिन सक्दैन। किनकि कोरोना भाइरसको संक्रमण भएर पनि कैयौं मानिस बिरामी नै हुँदैनन्।

मानव शरीरमा हुने एन्टिबडी परीक्षण गर्ने पद्धति विकास गर्न सके मात्रै कसैमा भाइरस भए/नभएको जाँच गर्न सकिन्छ। अनि मात्र संक्रमितको वास्तविक तथ्यांक आउने विज्ञ बताउँछन्।

२. यो भाइरस कति घातक छ?
माथि नै भनियो कि संक्रमितको वास्तविक तथ्यांक आउन सकेको छैन। त्यसो भएपछि कोरोना संक्रमणबाट संसारमा कति मानिसको मृत्यु भयो, त्यसको पनि एकिन तथ्यांक कसरी आओस्।

अहिलेसम्म विश्वमा संक्रमण पुष्टि भएका बिरामीमध्ये झन्डै १ प्रतिशतको मृत्यु हुने गरेको अनुमान गरिएको छ। तर लक्षणै नदेखिएका संक्रमित पनि धेरै हुन सक्ने भएपछि मृत्युदर अझै बढी हुन सक्छ।

३. कोरोना संक्रमणका लक्षण
ज्वरो आउनु र सुक्खा खोकी लाग्नु यसका मुख्य लक्षण हुन्। तर केही संक्रमितलाई घाँटी तथा टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ। साथै केही बिरामीमा सुँघ्ने शक्ति कम हुने गरेको घटना पनि पाइएका छन्।

विभिन्न अध्ययनका अनुसार कोरोना संक्रमण भइसके पनि केही मानिसमा कुनै लक्षण देखापर्दैन। जसका कारण उनीहरूले यो भाइरस बोकिरहेका हुन सक्छन्, जसले अरूमा सजिलै सार्न सक्छन्।

४. भाइरस विस्तारमा बालबालिका
साना बालबालिकामा कोरोना भाइरस संक्रमण हुन सक्छ र तिनले अरूलाई सारिहेका हुन सक्छन्। प्रायस् खेल्न रमाउने बालबालिका स्वभावैले धेरै मानिससँग घुलमिल हुने गर्छन्।

जसले गर्दा उनीहरूले निकै संख्यामा कोरोना भाइरस अन्य मानिसमा फैलाउन सक्छन्। त्यस्तो जोखिम भए पनि केटाकेटीले कोरोना कतिसम्म फैलाउन सक्छन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।

५. कोरोना कहाँबाट आयो?
यो भाइरस सन् २०१९ को अन्त्यतिर चीनको हुबेई प्रान्तको उहान सहरमा पहिलोपटक पत्ता लागेको हो। त्यहाँ पशुपक्षी व्यापार हुने एक बजारमा पहिलोपटक यसको संक्रमण पुष्टि भएको थियो।‌

औपचारिक रूपमा सार्स-कोभ-२ नाम दिइएको कोरोना भाइरस चमेरालाई संक्रमण गर्ने भाइरससँग मिल्दोजुल्दो छ। तसर्थ त्यो भाइरस चमेराबाटै कुनै अज्ञात जनावरमा सर्दै मानिसमा सरेको अनुमान छ। तर त्यो कुन जनावर हो अहिलेसम्म स्पष्ट हुन सकेको छैन।

६. गर्मीमा कोरोना निष्क्रिय होला?
रुघाखोकीजस्ता समस्या गर्मीमा जाडोमा बढी देखिने गर्छन्। तर रुघाखोकी नै लगाउने कोरोना भाइरसलाई यसरी मौसमले फरक पार्छ कि पर्दैन, प्रस्ट भइसकेको सकेको छैन।

बेलायत सरकारका विज्ञान सल्लाहकारका अनुसार कोरोनालाई अन्य भाइरसलाई जस्तो गर्मी वा बढी तापक्रमले कुनै फरक पार्छ/पार्दैन, अझै प्रस्ट भइनसकेको बताइसकेका छन्। प्रभाव पार्ने रहेछ भने त्यो अन्य मौसमी फ्लुलाई भन्दा निकै कम हुने उनीहरूको अनुमान छ।

७. कोरोनाले किन कसैमा गम्भीर असर पार्छ?
कोरोना भाइरस (कोभिड(१९) का संक्रमितमध्ये ८० प्रतिशत मानिसलाई सामान्य लक्षण मात्रै देखिन्छन्। तर झन्डै २० प्रतिशत संक्रमितमा भने गम्भीर किसिमका लक्षण देखापर्छन्। किन होला?

वैज्ञानिकका अनुसार यो कुरा मानव शरीरको प्रतिरक्षा प्रणालीमा भर पर्छ । केही कुरा मानिसको आनुवंशिक गुण र विशेषतामा पनि भर पर्न सक्छ।

८. मानिसको प्रतिरक्षात्मक शक्ति कति समयसम्म रहन्छ?
कोरोना भाइरससँग संघर्ष गर्न सक्ने मानिसको रोग–प्रतिरोधी शक्तिबारे धेरै किसिमका अनुमान गरिएका छन्। तर त्यस्तो क्षमता कति समयसम्म रहला भन्ने प्रमाण भने निकै थोरै छन्।

विज्ञका अनुसार कुनै बिरामीको शरीरले कोरोना भाइरसँग राम्ररी लड्न सकेको छ भने उसको प्रतिरक्षा प्रणालीलाई राम्रै मान्नुपर्छ। तर यो रोग (कोभिड–१९) केही महिनाअघि मात्र देखा परेकाले यसबारे पर्याप्त प्रमाण प्राप्त भइसकेका छैनन्।

एकपटक कोरोनामुक्त भइसकेका मानिसमा पनि पुनः यो भाइरस देखापर्नुमा चाहिँ यसको परीक्षण विधि र पद्धतिको विश्वसनीयतासँग गाँसिएको अनुसन्धानकर्ता बताउँछन्। अर्थात् उनीहरूको भनाइमा कुनै परीक्षण विधिले सही नतिजा नदेखाउन पनि सक्छ।

९. भाइरसले रूप फेर्छन्?
भाइरस बारम्बार आफ्ना स्वरूप र गुण परिवर्तन गरिरहन्छन्। त्यसरी भाइरसले आफ्नो स्वरूप फेर्ने क्रम जारी राख्दा ती लामो समयपछि कम घातक हुन्छन् भन्ने सामान्य नियम छ। तर त्यो ग्यारेन्टी हुँदैन।

मुख्य चिन्ताको कुराचाहिँ के हो भने भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्दा मानिसको प्रतिरक्षा प्रणालीले तिनलाई नचिन्न पनि सक्छ र कुनै खोप/औषधि विकास गरिहालियो भने पनि त्यसले काम नगर्ने अवस्था आउन सक्छ। बीबीसी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .