ad ad

समाज


सेती प्रादेशिक अस्पतालका डाक्टर भन्छन्ः संक्रमित थपिए उपचार गर्न सकिन्न

सेती प्रादेशिक अस्पतालका डाक्टर भन्छन्ः संक्रमित थपिए उपचार गर्न सकिन्न

सागर न्यौपाने
बैशाख १, २०७७ सोमबार १२:४२,

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले देशमै सबैभन्दा बढी कोरोना संक्रमितको उपचार गरिरहेको छ। अस्पतालमा हाल ५ जना कोरोना संक्रमित उपचाररत छन्।

संक्रमितको उपचारमा ५ चिकित्सकको टोली खटिएको छ। अस्पतालमा जनशक्ति, आवश्यक उपकरण, भौतिक संरचना, सबैथोकको अभाव छ। यसका बाबजूद चिकित्सकहरु कसरी संक्रमितको उपचार गरिरहेका छन् त?

संक्रमितको उपचार गरिरहेका सेती प्रादेशिक अस्पतालका सिनियर फिजिसियन डा. शेरबहादुर कमरले नेपालखबरसँग आफ्नो अनुभव यसरी साटे :

अहिले आइसोलेसनमा ५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। चैत ११ गते कोरोना संक्रमित भएका एक युवा र चैत २२ गते एकैपटक फेला परेका तीन जना यही अस्पतालमा उपचाररत छन्। नयाँ वर्षकै दिन अर्काे एकजना ६५ वर्षीया महिला पनि थपिनुभएको छ।

अस्पतालको भुइँ तल्लामा आइसोलेसन वार्ड छ। पाँच जनालाई पाँच वटै कोठामा राखिएको छ।

कोरोना संक्रमितलाई राख्ने र कोरोनाको शंकास्पदलाई राख्ने अलगअलग वार्ड छ। शंकास्पदहरुलाई रिपोर्ट नआउन्जेल यहाँ राखिन्छ।

कोरोना संक्रमित भएर भर्ना गरिएका व्यक्तिलाई हामी निरन्तर अनुगमन र फलोअप गर्छाैं।

setiDr2
डा‍. शेरबहादुर कमर

संक्रमित आफैँले गर्छन् सरसफाइ
आइसोलेसनमा रहेकालाई बत्ती, पानी, टेलिफोनको सुविधा दिइएको छ। आइसोलेसनमा बसेका सबैले एउटा नियम पालना गर्नुपर्छ– आफ्नो बेड, रुमको सरसफाइ आफैँले गर्नुपर्ने। तन्ना, रुमाल, सिरकको खोल सबै आफैँ धुनुपर्छ।

संक्रमित सबैका लागि अलगअलग बाथरुमको व्यवस्था छैन। त्यसैले उहाँहरु आफूले बाथरुम प्रयोग गरिसकेपछि सबै सरसफाइ गर्नुहुन्छ। आफूले छोएका सामान सबै साबुन पानीले धुनुहुन्छ।

अस्पतालले संक्रमितको लागि छुट्टाछुट्टै कामदारको व्यवस्था गरेको छ। सरसफाइमा छुट्टै कर्मचारी, खानेकुरा बनाइदिने छुट्टै व्यक्ति, नियमित रक्तचाप मापन र औषधि खुवाउनको लागि नर्स छुट्टै छन्। तीनतीन जना नर्सको समूहले तीन सिफ्टमा काम गर्नुहुन्छ।

पाँच जना डाक्टरको टोलीले उपचार गरिरहेको छ। विभिन्न विधाका पाँच डाक्टर बिहान र बेलुका संक्रमितको अवस्था बुझ्न जाने गरेका छौं।

हामी फोनमार्फत उहाँहरुसँग कुराकानी गर्छौँ। अहिले कस्तो छ? खाना रुचेको छ कि छैन? निद्रा लाग्यो कि लागेन? अहिले के गर्दै हुनुहुन्छ? सोध्छौँ।

सुरुमा आइसोलेसन वार्डमै पुगेर सोधखोज गथ्र्याैँ, अहिले धेरैजसो फोनमा कुरा गरेपछि मात्रै जान्छौं। गाह्रो भए ड्युटी अफिसर र नर्स स्टेसनको नम्बरमा फोर्न गर्न भनेका छौँ।

ज्वरो आउने, घाँटी दुख्ने, निन्द्रा नलाग्ने भएको छ भने आवश्यक औषधि खान सुझाव दिन्छौं।

केही समस्या पर्‍यो भने फेरि दगुरेर पुग्छौं। स्वास्थ्यकर्मीको टोलीले २४ सै घण्टा उहाँहरुको निगरानी गरिरहेको छ।

सबैको अवस्था अहिले राम्रै छ। ११ गते भर्ना भएका युवामा भने लगातार खोकीको समस्या देखिएको छ। उहाँले दिसा पनि पातलो आएको बताउनुभएको छ। उहाँको तेस्रो पटकको रिपोर्ट पनि पोजिटिभ देखिएको छ।

तर, उहाँ आएको ३ हप्ता भइसक्यो, त्यो भनेको खतराको अवधि कटिसक्यो। दीर्घ रोगको संक्रमण नभएकोले र युवा नै भएकाले हामी धेरै डराएका छैनौँ।

अन्य ३ जनाको हिजो आइतबार आएको रिपोर्ट पनि पोजिटिभ छ। अब फेरि केही दिनपछि परीक्षण हुन्छ।

बिरामीमा जटिलता आएको छैन, तर ढुक्क हुन सकिँदैन
सेती प्रादेशिक अस्पतालमा रहेकामध्ये एकजनालाई स्थानीय संक्रमण भएको हो। विदेशबाट आएका आफन्तबाट ती महिलालाई भाइरस सरेको रहेछ।

आजभन्दा पहिले अस्पतालमा रहेका सबैको उमेर २० देखि ३४ वर्षबीचमा रहेकाले त्यस्तो डराउनुपर्ने अवस्था थिएन। त्यसमाथि कसैलाई पनि दीर्घखालका रोगको संक्रमण देखिएको छैन।

अहिलेसम्म बिरामीलाई कुनै समस्या नभएकोले हामीले ठूलो अप्ठेरोको सामना गर्नुपरेको छैन। तर, ढुक्क हुनपनि मिल्दैन।

तर, आज सोमबार आउनुभएकी ६५ वर्षीया महिलामा जटिलता आउँछ कि भन्ने चिन्ता छ। उहाँहरु सबैलाई छिटो निको बनाउने हाम्रो प्रयत्न जारी छ।

नेपालमा कोरोना संक्रमण देखिएको झण्डै तीन महिना भएको छ। यो अवधिमा हामी पनि नेपालमा भाइरसको प्रभावबारे अध्ययन गरिरहेका छौं। अहिलेसम्म स्थानीयरुपमा संक्रमण फैलन पाएको छैन।

हामी दैनिक विश्वमा प्रयोग भइरहेका नयाँनयाँ उपचार पद्धतिबारे अपडेट छौँ। तर, तिनलाई जस्ताको तस्तै लागू गराउन यस अस्पतालमा सम्भव छैन।

हाम्रो अस्पतालले सबै बिरामीलाई अहिले तीन चरणमा उपचार गर्ने गरेको छ। पहिलो, ज्वरो छ कि छैन परीक्षण हुन्छ। ज्वरो आएको छ भने, छुट्टै ज्वरो क्लिनिकमा पठाउँछौं।

दोस्रो, कहाँबाट आएको व्यक्ति हो? विदेशबाट आएको छ भने विशेष निगरानी गरिन्छ।

तेस्रो, शंकास्पद लाग्यो भने, ज्वरो, खोकी, सास फेर्न गाह्रो भएको छ भने त्यस्ता व्यक्तिलाई विशेष निगरानी बढाउँछौं।

सबैको नमूना संकलन गरेर ल्याबमा पठाउँछौं। कोरोना संक्रमण वा आशंका भए आइसोलेसनमा राखेर उपचार गर्छौँ।

आइसोलेसन वार्डमा जाँदा हामी पीपीई सेट लगाएर जान्छौं। त्यो अनिवार्य हो। संक्रमित भएकाहरुलाई छोइएको छ भने, प्राय सुरक्षाको अन्य विधि अपनाउँछौं।

स्वास्थ्यकर्मी पनि केही हदसम्म चिन्तित छन्। आइसोलेसन वार्डमा जान नपरे हुन्थ्यो भन्छन्। तर, आफ्नो जिम्मेवारी पूरा गरिरहेका छौँ।

Doctor_dhanghadi_2.jpg

बिरामी भिडियो हेर्छन्, आफन्तसँग च्याट गर्छन्
सुरुमा संक्रमित चारैजनाले कोरोना भएको विश्वासै गरेका थिएनन्। उनीहरुले मलाई केही पनि भएको छैन, यो रिपोर्ट नै गलत हुनसक्छ भनेका थिए। फेरि परीक्षण गर्नपाए हुन्थ्यो भनेका थिए। तर, अर्को रिपोर्टले पनि पोजिटिभ देखाएपछि उनीहरु विश्वस्त भए।

आइसोलेसनमा राखिएका सबैका लागि अस्पतालले वाइफाइ सुविधा दिएको छ। उनीहरु दिनभर मोवबइलमा भिडियो हेर्ने, आफन्तसँग च्याट गर्ने गर्छन्। सुरुमा एक्लै बस्नुपर्दा अलि आत्तिएजस्तो देखिन्थे।

रिपोर्ट निगेटिभ कहिले आउला? घर कहिले जान पाउने हो? अर्काे जाँच कहिले गर्ने हो? जस्ता प्रश्न गरिरहन्छन्।

अहिले चारैजना सहज अवस्थामा छन्। उनीहरुमा मानसिक समस्या छैन।

हामीले पहिलेको प्रसुती वार्डकै एक हिस्सामा आइसोलेसन वार्ड बनाएका छौँ। ७५ बेडको प्रसुती वार्डलाई ५० बेडमा झार्‍यौँ। त्यसपछि बाँकी २५ बेडलाई आइसोलेसन वार्ड बनाइएको हो। नयाँ भवन छैन, अहिले प्रसुतीमा त्यत्रो संख्याको चाप पनि बढ्दैन, भनेर आइसोलेसन बनाएका हौं।

अस्पतालले इमर्जेन्सी, बालरोग र आईसीयू सेवा दिइरहेको छ। तर, कोरोनाको संक्रमित राखेको थाहा पाएपछि अहिले बिरामी नै आउन कम भएको छ।

यसअघि दिनमा ४/५ सय बिरामी आउने यो अस्पतालमा अहिले भने ५/७ जनामात्रै आउँछन्।

कोरोना संक्रमित राखेपछि अन्य बिरामी डराए। अस्पतालको छुट्टै भवन नहुँदा यस्तो समस्या भयो।

चैत १० गतेसम्म बिरामीको संख्या घटेको थिएन। चैत ११ गते पहिलो संक्रमित अस्पतालमा भर्ना गरियो। चैत १२ गते नै बिरामीको संख्या ६० जनामा झर्‍यो।

जनशक्ति र पूर्वाधार दुवै अभाव
अस्पतालमा स्रोत साधनको पनि चरम अभाव छ। हाम्रोमा आईसीयू छैन। भेन्टिलेटर भरखरै आयो तर त्यो अपुग छ।

धेरै केस आयो भने, धान्न गाह्रो छ, सक्दैनौं। हामीले पूर्वाधार निर्माण गरेका छैनौं।

कोरोना संक्रमितको उपचारका लागि आईसीयू बेड चाहिन्छ। यहाँ त्यो सुविधा छैन। आईसीयूका लागि निर्धारण गरिएको नर्सिङ स्टेशन, डाक्टर स्टेशन, डाक्टर संख्या, यहाँ छैन।

अस्पतालमा जनशक्ति अभाव छ। फिजिसियन हामी तीन जनामात्रै छौं। क्रिटिकल युनिट हेर्ने छुट्टै हुन्छ आईसीयूको, त्यो सेती प्रादेशिक अस्पतालमा छैन।

यही जनशक्तिले संक्रमितको संख्या बढ्यो भने उपचार गर्न सकिँदैन। 

यो पनिः
काठमाडौँमा जस्तो सुविधा छैन, यसरी गर्दैछौं बाग्लुङमा संक्रमितको उपचार

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .