ad ad

समाज


प्रसूति अस्पतालमा सुत्केरी गराउन आउने घटे, अप्रेसनको ३ दिनमै डिस्चार्ज

प्रसूति अस्पतालमा सुत्केरी गराउन आउने घटे, अप्रेसनको ३ दिनमै डिस्चार्ज

सागर न्यौपाने
बैशाख ४, २०७७ बिहिबार १४:५०,

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा वर्षेनि २४ हजार जना सुत्केरी हुन्छन्। ५० वर्ष लामो इतिहास बोकेको यो अस्पतालको सेवामा पनि लकडाउनको असर परेको छ।

ओपीडी सेवा बन्द गरिएको छ। अस्पतालमा अहिले पहिलेजस्तो भीड छैन। गेटमा कडाइ गरिएको छ। प्रसूति गराउने महिला, उनको कुरुवा र जरुरी बिरामीबाहेक प्रवेश गर्न पाउँदैनन्।

दिनमा औसत ६६ जनाले प्रसूति गराउने र सयौँले ओपिडीबाट उपचार सेवा लिने अस्पतालमा बिरामीको संख्या घटेको अस्पतालका निर्देशक प्रा.डा.जागेश्वर गौतमले बताए।

‘अहिले दैनिक प्रसूति गराउने संख्या ५० को हाराहारीमा झरेको छ,’ उनले भने, ‘स्त्री रोगको ओपिडीबाट उपचार गर्ने संख्या पनि केही घटेको छ।’

‘केहीले घरमा सुत्केरी गराउन थाले’
लकडाउनका कारण अस्पतालमा आउन समस्या भएपछि केहीले घरमै सुत्केरी गराएको प्रा.डा. गौतमले जानकारी दिए।

‘लकडाउन छ, गाडी पाइँदैन, फेरि टाढाबाट आउन सकेनन्,’ नेपालखबरसँग उनले भने, ‘घरमै जोखिम मोलेर बच्चा जन्माउन बाध्य भए।’

dr-gautam2_2.jpg
डा. जागेश्वर गौतम

लकडाउनपछि पाटन र टिचिङबाट समेत सुत्केरी गराउन प्रसूति अस्पताल आएको उनको भनाइ छ।

कोरोनाको त्रासपछि अस्पतालले गर्भवतीहरुलाई जरुरी नपरी अस्पताल नआउन भनेको छ।

‘सानो कुराले ठूलो रोगको जोखिम बढ्नसक्छ त्यही भएर अस्पतालमा जरुरी अवस्थामा बाहेक बोलाएका छैनौं,’ डा. गौतमले भने।

दैनिक ८ सयको उपचार गर्ने ओपीडीमा अहिले अत्यावश्यक केस मात्र हेरिने गरिएको उनले बताए।

‘बिरामीलाई दूरी कायम राख्न समस्या पर्‍यो। त्यसैले तत्काललाई ओपीडी सेवा बन्द गरेका छौं’, उनले भने।

गर्भवती महिलाको सुत्केरी गराउने मिति कटेमा, अप्रेसनपछि घाउको टाँका काट्नु परेमा, सुत्केरी महिलालाई ज्वरो आएमा, घाउ रसाएमा ओपिडीबाट उपचारको व्यवस्था मिलाइएको छ।

यसैगरी गर्भवती महिलालाई रगत बगेमा, धेरै पेट दुखेमा बान्ता भएमा र बच्चा कम चलेमा भने अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पाइने उनको भनाइ छ।

‘भूकम्पको बेला काठमाडौंका अन्य अस्पताल बन्द भएका बेला पनि हामीले सेवा दिएका थियौं, हाम्रो अस्पतालमा आएका बिरामी फिर्ता गर्दैनौं,’ उनी थप्छन्।

614A6204.jpg

कोरोना संक्रमित सुत्केरी गराउन छुट्टै कक्ष
नेपालमा रहेका प्रसूति अस्पतालमध्ये उत्तम भएकाले नै सधैँ मानिसको भीड लाग्ने डा. गौतमले बताए।

‘यही एउटा अस्पताल हो, जहाँ एउटै परिवारका हजुरआमादेखि नातिनी सम्मले प्रसूति गराएका छन्,’ उनले भने।

अस्पतालमा आजसम्म कोभिड १९ का बिरामी उपचारमा आएका छैनन्। तर, आइहालेमा भने अस्पतालको तयारी गरेको छ।

कोरोना पोजिटिभ महिलाको सुत्केरी गराउन बेग्लै कक्ष तयार गरिएको छ। त्यहाँ बच्चा जन्मिएपछि डिस्चार्ज गरेर कोभिड–१९ को उपचार भइरहेको अस्पताल पठाउने व्यवस्था मिलाइएको छ।

ज्वरो आएको महिलालाई छुट्टै वार्डमा राखेर उपचार गरिने अस्पताल प्रशासनले जानकारी दियो।

614A6188.jpg

अप्रेसन गरेको ३ दिनमै डिस्चार्ज
लकडाउनअघि अस्पतालले अप्रेसन गरेर सुत्केरी गराएकालाई सात दिनसम्म राख्ने गरेको थियो।

‘तर अहिले अप्रेसन गरेकालाई ३ दिनमै डिस्चार्ज गर्न थालेका छौं,’ डा. गौतमले भने, ‘धेरै भीड नहोस् भनेर त्यसो गरिएको हो।’

तर, त्यस्ता सुत्केरी महिलालाई फलोअपका लागि ७ दिनमा बोलाउने गरिएको उनले बताए।

त्यस्ता बिरामीको संख्या दैनिक २५/३० जना हुने गरेको उनको भनाइ छ।

सीसीटीभीबाट मोनिटर
तेस्रो तलामा रहेको उनको कार्यकक्षमा ३२ इन्चका दुईवटा मोनिटर छन्। जसमा अस्पतालको सबै वार्ड, इमर्जेन्सी, अप्रेसन थिएटर तथा बाहिर भएका गतिविधि निर्देशक गौतमले नियाल्ने गरेका छन्।

‘केही समस्या पर्‍यो भने आफैँ दगुरेर जान्छु,’ उनले भने।

डा. गौतम फोनबाटै बिरामीलाई परामर्श पनि दिन्छन्। हामी पुग्दा उनी थानकोटका एक बिरामीलाई परामर्श दिइरहेका थिए। बच्चा नअडिने समस्या भएपछि ती बिरामी नियमित परामर्शमा रहेको उनले बताए।

दुईघण्टा इमेल, फेसबुक मेसेन्जरमा कुरा गरेर मिलेसम्म समस्या समाधान गरिदिने गरेको उनले सुनाए।

dr-gautam2_1.jpg

बिरामीलाई घर जान समस्या
अहिले अस्पतालमा सुत्केरी भएकाहरुलाई घरसम्म जान सवारीको समस्या छ।

लकडाउनको कारण सवारीसाधन नचल्दा उनीहरु घन्टौं कुर्न पर्ने बाध्यतामा छन्। अस्पतालले सम्पर्क गरिदिएका एम्बुलेन्स आउन ३ घण्टाजति लगाउँछन्।

‘अस्पतालले अहिलेसम्म गाडी सुविधा दिन सकेको छैन,’ निर्देशक गौतमले भने, ‘बरु एम्बुलेन्स बोलाइदिन्छौं तर, त्यो आइपुग्न पनि ३ घण्टा नै लगाइदिन्छन्।’

अस्पतालमा सुत्केरी र अप्रेसन गरेको शुल्क लाग्दैन। डिस्चार्ज भएपछि सुत्केरीलाई नै अस्पतालले २ हजार रुपैयाँ दिने गरेको छ।

‘डेलिभरी र अप्रेसन फ्री हो, घरजाने बेलामा २ हजार दिन्छौं, यदि चार पटक चेक गराएको छ भने थप ८ सय पनि दिन्छौँ,’ उनले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .