भारतको उडिसामा सार्वजनिक स्थानमा थुक्न नपाइने भएको छ।
कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै गएपछि उडिसा राज्य सरकारले सार्वजनिक स्थामा थुक्नमा प्रतिबन्ध लगाएकाे हाे।
थुकमार्फत कोरोनाको संक्रमण फैलिने भएका कारण राज्य सरकारले यो नियम लागू गरेको उडिसाका मुख्यसचिव आशित त्रिपाठीले पत्रकार सम्मेलनमा जानकारी गराए। कोरोनाको संक्रमण रोक्नका लागि मास्क अनिवार्य गरिएको र यसको उलंघन गर्नेलाई जरिवानको व्यवस्था गरिएको उनले जानकारी दिए।
त्यस्तै सार्वजनिक स्थानमा थुक्नेलाई पनि कानुनी कारबाहीका साथमा जरिवानाको व्यवस्था गरिएको मुख्यसचिव त्रिपाठीले जानकारी दिए।
उनले पहिलोपाटक नियम उलंघन गर्नेलाई २०० र त्यसपछि ५०० जरिवाना तोकिएको बताए।
यो नियमको पालना गराउने र जरिवाना गर्ने अधिकारीलाई स्थानीय प्रहरी र कर्मचारीलाई निर्देशन दिइएको छ।
भारतमा अहिलेसम्म कोरोना भाइरस (कोभिड १९) का संक्रमितको संख्या १३ हजार ३८७ पुगेको छ।
शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङ कार्यक्रममा अहिलेसम्म ४३७ जानको संक्रमणबाट मृत्यु भएको बताएको छ। त्यस्तै अहिलेसम्म १ हजार ७४९ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ नयाँ बिरामी थपिएका छन् भने सोही अवधिमा २३ जनाको मृत्यु भएको छ।
Shares
प्रतिक्रिया