ad ad

समाज


मेलम्ची खानेपानीका मजदुरलाई राष्ट्रिय युवा संघ ललितपुरको सहयोग

मेलम्ची खानेपानीका मजदुरलाई राष्ट्रिय युवा संघ ललितपुरको सहयोग

नेपालखबर
बैशाख ६, २०७७ शनिबार ११:५४,

सरकारले कारोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न मुलुकभर लकडाउन घोषणापछि अलपत्र परेका मेलम्ची खानेपानीमा काम गर्ने मजदुरहरुले खाद्यान्न सहयोग पाएका छन्।

ललितपुर च्यासलमा मेलम्ची खानेपानीको पाइप विछ्याउने काम गर्दै आएका मजदुरलाई राष्ट्रिय युवा संघ नेपाल, ललितपुर जिल्ला समितिले खाद्यान्न र त्रिपाल सहयोग गरेको हो। मजदुरहरु डेढ महिनादेखि सोही ठाउँमा त्रिपालमुनि बस्दै आएका थिए।

त्रिपालमुनि बसिरहेको दश जना मजदुरको बारेमा बैशाख ३ गते ‘पानी चुहिने त्रिपालमुनि भोकसँग जुध्दैछन् उपत्यकावासीको तिर्खा मेटाउने मजदुर’ शीर्षकमा नेपालखबरमा समाचार आएपछि उनीहरुलाई खाद्यान्न र त्रिपाल सहयोग जुटेको हो।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य धनकुमार मैनालीले ती मजदुरहरुका लागि केही खाद्यान्न र त्रिपाल सहयोग गरेको बताए। ‘उनीहरुलाई खाद्यान्न अभाव भएको भन्ने खबर आएपछि हामीले केही सहयोग पु¥याएका छौं,’ नेपालखबरसँग कुरा गर्दै मैनालीले भने, ‘थप आवश्यक पर्दा सहयोग गर्नेछौं।’

समस्यामा परेको मजदुरहरुलाई थाहा पाएसम्म सहयोग गरिरहेको उनले बताए।

डेढ महिनादेखि च्यासलमा मेलम्ची खानेपानीको पाइप विछ्याउने काम गरिरहेका ती मजदुरहरुलाई लकडाउन हुने अघिल्लो दिन ठेकेदारले हिसाबकिताब गरिदिएको थियो। भोलिदेखि लकडाउन हुने र काम बन्द हुने भन्दै सबै हरहिसाब पाएपछि ती मजदुर घर जाने हिडेका पनि थिए।

सुनसरी घर भएका उनीहरुलाई प्रहरीले बाटोबाटै फर्काएपछि च्यासलको त्रिपालमुनि बस्दै आएका छन्।

मेलम्ची खानेपानी आयोजनामा प्लम्बरको काम गर्ने र सोही टेन्टमा बस्दै आएका धनकुटाका रामबहादुर कटुवालले खाद्यान्न र त्रिपाल सहयोग पाएको बताए। उनका अनुसार युवा संघबाट दुई वटा त्रिपाल, दुई बोरा चामल, पाँच धार्नी आलु, दाल तीन केजी, नुन दुई केजी, चाउचाउ एक कार्टुन, चिउरा पाँच केजी, दालमोठ तीन केजी, मसला ५०० ग्राम र साग पाएको बताए।

‘केही परेमा भन्नुहोला भन्नु भएको छ,’ कटुवालले भने, ‘नजिकैको टोलबाट पनि बेलुका खाना खान आउन भन्नुभएको छ।’

आफूसँग भएको पैसा सकिन लागेपछि ती मजदुरहरु कोटेश्वर सेतीओपी युवा क्लबले सञ्चालन गरेको मेसमा विहानका खाना खाइरहेका छन्।

राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा (दीपशिखा)ले ७७ जिल्ला मै मजदुरहरुका लागि राहत र उद्धारको काम सुरु गरेको बताए। ‘हामीले बिहीबारदेखि मुलकभर अलपत्र परेको मजदुर र बाटोमा हिँडेकालाई राहत र उद्धार सुरु गरेका छौं,’ सापकोटाले नेपालखबरसँग भने, ‘हामीले सक्दो रुपमा खाना खुवाउने र राख्ने व्यवस्था मिलाएका छौं।’

प्रत्येक जिल्लामा खाना खुवाउनु पर्नेका लागि खानाको व्यवस्था र बास बस्नु पर्नेलाई वासको व्यवस्था मिलाएको उनले बताए।

राजधानीबाट बाहिर हिँडेका करिब ३ सय जनालाई शुक्रबार थानकोट पार्कमा राखेको समेत उनले बताए।

बाहिर आएजस्तो स्थानीय तह र प्रहरीले अलपत्र परेकालाई वस्नु र खानाको व्यवस्था नगरेको उनका गुनासो छ। ‘रसुवाबाट काठमाडौं आउँदै गरेको १२ जनालाई राख्न हामीलाई ४ घण्टाभन्दा धेरै समय लाग्यो,’ सापकोटाले भने, ‘रानीवन लगायतका ठाउँमा सहयोग नहुँदा बल्लबल्ल कपनमा राख्न सफल भएका छौं।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .