ad ad

समाज


काठमाडौँबाट जिल्ला जानेहरुलाई बसको व्यवस्था गर्दै बागमती प्रदेशका सांसद

काठमाडौँबाट जिल्ला जानेहरुलाई बसको व्यवस्था गर्दै बागमती प्रदेशका सांसद

सन्तोष न्यौपाने
बैशाख ९, २०७७ मंगलबार ९:३७,

लम्बिँदै गएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई काठमाडौंबाट विभिन्न जिल्ला पठाउने कार्य सुरु भएको छ।

बागमती प्रदेशका सांसदहरुले काठमाडौंमा खानबस्न समस्या परेका र जिल्ला जान चाहनेहरुलाई केन्द्र सरकार र स्थानीय तहसँग समन्वय गरेर घर पठाउन थालेका हुन्।

सोमबार नुवाकोटका मानिसहरुलाई घर पठाइएको बागमती प्रदेशका सांसद प्रकाश श्रेष्ठले बताए।

‘हिजो नुवाकोटमा एउटा गाडीमा गएका छन्। आज बारा जिल्लाको गढिमाई गाउँपालिकाका २६ जना जाँदै छन्,’ उनले भने, ‘अन्य ठाउँमा पनि नाम संकलन गरेर पठाउने प्रयास गरिरहेका छौं।’

काठमाडौको नागार्जुन नगरपालिकाका वडा नम्बर १, २, ३ र तारकेश्वर नगरपालिकाका ४ र ५ वडामा नुवाकोट, धादिङलगायतका ठाउँमा जान चाहनेहरुको नाम संकलन भइरहेको श्रेष्ठले बताए।

 ‘जुनजुन स्थानीय तहले पठाउन भन्छन्, त्यही ठाउँमा पठाउने व्यवस्था मिलाउँछौं,’ उनले भने।

नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवनलगायत जिल्लाका बासिन्दालाई पठाउने योजना रहेको उनले बताए। घर जाने चाहनेहरुले आफू बस्ने वडा कार्यालयमा गएर जानकारी गराउन सक्ने श्रेष्ठले बताए।

ganesh-shreshtha-samsad.jpgसांसद गणेश श्रेष्ठ

अहिलेको समस्या तत्कालै समाधान हुने संकेत नदेखिएकाले राजधानीमा भएकाहरुलाई सुरक्षाको व्यवस्था मिलाएर घर पठाउनु पर्ने नेकपा बागमती प्रदेशकी इन्चार्ज तथा सांसद अष्टलक्ष्मी शाक्यले बताइन्।

‘लकडाउनको नियम पालन पनि गर्नैपर्छ,’ शाक्यले भनिन्, ‘समस्या परेकालाई घर पठाउने व्यवस्था पनि मिलाउनुपर्छ।’

राजधानीबाट आफ्नो घर जान चाहनेहरुलाई व्यवस्था मिलाएर पठाउने विषयमा बागमती प्रदेशका सांसदहरुले बैठक समेत गरेका थिए। मान्छेहरु हिँड्दै जान थालेपछि प्रदेश सांसदहरुले भिडियो कन्फ्रेन्समार्फत यसबारे छलफल गरेका थिए। छलफलपछि यस क्षेत्रका १३ वटा जिल्लाका अध्यक्षहरुसँग रिपोर्ट माग गरिएको शाक्यले बताइन्।

‘बागमती प्रदेशमा जिल्ला जान चाहनेहरुको सूची पठाउन भनेका छौँ,’ शाक्यले नेपालखबरसँग भनिन्। यस विषयमा रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि सल्लाह गरेको उनले बताइन्।

यसरी जान चाहनेहरुलाई घर पठाउँदा राजधानीमा उनीहरुले भोगेको समस्याबाट मुक्ति पाउने र काठमाडौँमा पनि आपूर्तिलगायतका व्यवस्था मिलाउन सजिलो हुने शाक्यको भनाइ छ।

‘अर्को पाटो त्यो जनशक्ति गाउँ वा आफ्नो क्षेत्रमा गएपछि श्रमसँग जोडिन्छ,’ शाक्यले भनिन्, ‘गाउँघरमा काम हुन्छ। यसले उत्पादनमा सहयोग पु¥याउँछ।’

कोरोना भाइरसको असर लामो समयसम्म रहन सक्ने देखिएकाले भोकमरी पनि आउनसक्ने अवस्थालाई मध्यनजर गरेर गाउँघरमा कृषि उत्पादनमा जोड दिनु पर्ने उनको बुझाइ छ।

आवश्यक व्यक्तिहरुलाई राहतको व्यवस्था भएको तर त्यसले धेरै दिनसम्म धान्न नसकिने उनले बताइन्।

‘दैनिक गुजारा चलाउन नसक्नेलाई राहत दिनु पर्छ। कोही पनि खान नपाउने अवस्था नहोस् भन्ने सरकारको चाहना छ र हामीले पनि त्यही गरिरहेका छौं,’ उनले भनिन्, ‘लगातार लकडाउन हुँदा राहतले मात्र पनि कहिलेसम्म पुग्ला भन्ने समस्या छ। पछि अप्ठेरो आउन सक्छ।’

काठमाडौका विभिन्न ठाउँमा स्थानीयको पहलमा मजदुर तथा दैनिक ज्यालादारी गर्नेहरुलाई खाना खुवाउने व्यवस्था गरिएको छ।

काठमाडौैै स्वयम्भू भगबानपाउस्थित भुँइखेल चौरमा मजदुरलाई खाना खुवाउने ठाउँमा पुगेकी शाक्यले सकेसम्म उनीहरुलाई घरसम्म पठाउने व्यवस्था मिलाउनु पर्ने बताइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कसैलाई घर हिँडडुल गर्न नदिन निर्देशन दिएपनि केही दिनयता घर जानेहरुको संख्या बढेको छ। गृह मन्त्रालयले अघोषित रुपमा मानिसहरुलाई घर फर्किने अनुमति दिइरहेको छ। सोमबार मात्रै १० हजारले काठमाडौँ छोडेका छन्।

उर्जामन्त्री वर्षमान पुनको पहलमा दर्जनौँ बसमा सयौँलाई रोल्पा, रुकुम र सल्यान पठाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .