ad ad

समाज


पैदलयात्रुको व्यवस्थापनपछि बुटवलका सडक सुनसान

पैदलयात्रुको व्यवस्थापनपछि बुटवलका सडक सुनसान

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ९:३९,

बुटवल उपमहानगरपालिकाले सडकमा पैदल हिँडेका यात्रुुलाई गन्तव्यमा पुर्‍याउन थालेपछि सडकमा देखिन छाडेका छन्। सडकमा अलपत्र तथा विभिन्न जिल्ला हिँडिरहेका मजदूरलाई खानाको व्यवस्था गरी गन्तव्यसम्म पुर्‍याउने गरी व्यवस्थापन गरेपछि सडक सुनसान देखिएको हो। 

यसअघि साँझ र बिहान मानिसको बढी चहलपहल हुने गरेको थियो। विभिन्न जिल्ला जाने मजदूर अलपत्र परेपछि उपमहानगरपालिकाको आलोचना हुने गरेको थियो। अलपत्र यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनका लागि बुटवल धागो कारखाना अगाडि र पाल्पाको सिद्धबाबामा बस तयारी अवस्थामा राखिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए। उनले सम्बन्धित पालिकासँग समन्वय गरी यात्रु व्यवस्थापन गरिएको पनि बताए।

अलपत्र अवस्थामा रहेकालाई खानाको व्यवस्था गरी गन्तव्यमा पुर्‍याउने काम भएपछि लकडाउनका बेला पैदलयात्रुुले राहत महसुस गरेका छन्। उपमहानगरपालिकाले चार दिनयता अलपत्र परेका करीब एक हजार तीन सय व्यक्तिलाई खाना खुवाएको छ। नेकपा बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले लकडाउनका बेला खान नपाएर कोही पनि भोकै बस्नु पर्दैन भन्दै यसका लागि पार्टीले स्थानीय सरकारसँग समन्वय गरिरहेको बताए।

तामनगरको कोरियन टेक्निकल इन्ष्टिच्युट परिसरमा अलपत्र परेका यात्रुका लागि खानाको प्रबन्ध गरिएको र यसका लागि पार्टीले समन्वय गरिरहेको पनि उनले जानकारी दिए। लकडाउनका बेला अत्यावश्यक कामविना घरबाहिर ननिस्कन उनले नगरबासीलाई आग्रह गरे।

प्रातः र सायंकालीन भ्रमणका निहुँमा भीडभाड हुने गरेकाले उपमहानगरपालिकाले बिहान ८ बजेभन्दा पहिले र बेलुका ५ बजेपछि घरबाट ननिस्कन अनुरोध गरेको छ। साथै दैनिक अत्यावश्यक सामान मात्र बिहान ८ देखि बेलुका ५ बजेसम्म खरीदबिक्री गर्न दिने व्यवस्था गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .