ad ad

समाज


अध्ययन भन्छः वायु प्रदूषणले कोरोना संक्रमितको अवस्था झनै गम्भीर बनाउँछ

अध्ययन भन्छः वायु प्रदूषणले कोरोना संक्रमितको अवस्था झनै गम्भीर बनाउँछ

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ११:३१,

उच्च वायु प्रदूषण कोरोना संक्रमितका लागि घातक भएको बताउँदै वैज्ञानिकहरुले यसले कोरोना लागेका मानिसमा मृत्युको सम्भावना बढाउने जनाएका छन्।

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओकी डाक्टर मारिया नेइराले बीबीसीलाई बताए अनुसार वायु प्रदूषणको उच्च रहेका ल्याटिन अमेरिकी, अफ्रिकी र एशियाली मुलुकहरूले त्यसबाट बच्न तयारी बढाउन आवश्यक छ।

नेइरा भन्छिन्,‘हामी यी क्षेत्रका सरकारी निकायहरूलाई सहयोग गर्न आफ्नो डेटाबेसका आधारमा सबैभन्दा बढी प्रभावित सहरहरूको नक्सा बनाइरहेका छौँ जसले उनीहरूलाई महामारीविरूद्ध योजना बनाउन सहयोग गरोस्।’

एउटा अमेरिकी अध्ययनले महामारीभन्दा पहिलेका वर्षहरूमा सूक्ष्म कण प्रदूषण स्तरमा सामान्य वृद्धि हुँदा कोरोनाभाइरस सङ्क्रमणका कारण हुने मृत्युदर १५ प्रतिशतले बढ्ने उल्लेख गरेको छ।

‘कोभिड १९ का कारण हुने मृत्युदर सामान्यतया उच्च जनघनत्व र उच्च पीएम २.५ भएका क्षेत्रहरूको उस्तै हुन्छ’ हार्वार्ड विश्वविद्यालयको एउटा अध्ययनले भन्छ।

यी कणहरू पहिले पनि श्वासप्रश्वासमा हुने सङ्क्रमण र फोक्सोको क्यान्सर जस्ता स्वास्थ्यसँग सम्बन्धित समस्याहरूसँग जोडिएका छन्।
इटलीस्थित युनिभर्सिटी अफ सिएना र डेनमार्कस्थित ओरहुस विश्वविद्यालयमा गरिएको अर्को अध्ययनले उत्तरी इटलीमा वायु प्रदूषणको उच्च दर र कोभिड १९ का कारण भएका मृत्युबीच सम्बन्ध रहेको सङ्केत गरेको छ।

इटलीको लोम्बार्डी र अमिलिया रोमानिया क्षेत्रमा मृत्युदर करिब १२ प्रतिशत छ। इटलीको अन्य भागमा भने मृत्युदर ४.५ प्रतिशत छ।

साइन्स डाइरेक्टमा प्रकाशित अध्ययन भन्छ,‘उत्तरी इटलीको उच्च वायु प्रदूषण दरलाई उक्त क्षेत्रमा देखिएको उच्च मृत्युदरको सहायक कारक मान्नु पर्छ।’

मृत्युदर हेर्दा जनसङ्ख्या, उमेर, फरकफरक किसिमको स्वास्थ्य प्रणाली र उक्त क्षेत्रहरूका रोकथामसम्बन्धी फरक नीतिहरूलाई समेत ध्यानमा राख्नु पर्छ।

यसैबीच फिलिपिन्समा एसोसिएसन अफ रेस्पिरेटरी केयर प्र्याक्टिसनर्स सेसार बुगाओइसानले भनेको छ,‘हाम्रो प्रारम्भिक तथ्याङ्कले फिलिपिन्समा कोरोनाभाइरसका कारण मृत्यु भएका प्रायः सबै व्यक्तिहरूमा पहिलेदेखि नै कुनै किसिमका समस्या थिए र तीमध्ये सबैभन्दा बढी वायु प्रदूषणसँग सम्बन्धित समस्या थिए।’

विश्व स्वास्थ्य सङ्गठनका अनुसार वायु प्रदूषणबाट प्रत्येक वर्ष करिब ७० लाख मानिसहरूको मृत्यु हुन्छ। र पृथ्वीको ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या तोकिएको मापदण्डभन्दा बढी वायु प्रदूषण भएका स्थानहरूमा बस्छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .