ad ad

समाज


सेनाले चीन पठायो सवा २ अर्ब, स्वास्थ्य सामग्री ल्याउन एक हप्ता लाग्ने

सेनाले चीन पठायो सवा २ अर्ब, स्वास्थ्य सामग्री ल्याउन एक हप्ता लाग्ने

उजिर कार्की
बैशाख ९, २०७७ मंगलबार ११:२४,

नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदका लागि सवा २ अर्ब रुपैयाँ चीन पठाएको छ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार सेनाले २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँ पठाएको हो।

चीनका तर्फबाट खरिद सम्झौतामा हस्ताक्षर भएलत्तै सेनाले राष्ट्र बैंक मार्फत रकम पठाएको हो।

सम्झौतामा सेनाका सम्भाररथी प्रभुराम शर्मा र चीनको तर्फबाट त्यहाँका वाणिज्य मन्त्रालयका प्रतिनिधिले हस्ताक्षर गरेको पाण्डेले बताए।

सो स्वास्थ्य सामग्री आइपुग्न अझै एक साता लाग्ने भएको छ।

रकम पठाएको एक हप्ताभित्रमा चीनको सरकारी कम्पनी सिनो मार्फले गोन्जाओमा सामग्री उपलब्ध गराउने छ।

सेनाले पहिलो चरणमा पीपीई, एन ९५ मास्क, पीसीआर टेस्टका लागि आवश्यक सामग्री ल्याउने भएको छ। तत्काल आवश्यक नपर्ने स्वास्थ्य सामग्री सडक मार्गबाट ढुवानी गर्न सकिने प्रवक्ता पाण्डेले बताए।

सम्झौता अनुसारका सबै सामग्री ढुवानी गर्न १५ दिन लाग्ने छ। सम्झौतामा अत्यावश्यक बाहेकका सामग्री २ साताभित्रमा उपलब्ध गराउने उल्लेख छ।

जसले गर्दा वैशाख १५ भित्रमा स्वास्थ्य सामग्री नआइपुग्ने भएको छ।

चैत १६ गते नै स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले जीटूजी प्रक्रिया मार्फत सामग्री खरिद गर्दा समय लागेको हो।

सरकारले निजी क्षेत्रबाट टेन्डर प्रक्रियाबाट स्वास्थ्य समाग्री खरिद गर्दा ढिलो हुने भन्दै चैत १६ गते नेपाली सेना मार्फत ढुवानी गर्ने निर्णय गरेको थियो। तर ५ देशबाट स्वास्थ्य सामग्री खरिदका लागि प्रक्रिया अगाडि बढाएको सेनाले अहिलेसम्म चीन र भारतबाट मात्र स्वास्थ्य सामग्री ल्याउने टुंगो लागेको छ।

५३ प्रकारका औषधि दिने भनेको भारतसँग भने सम्झौता समेत हुन सकेको छैन।

तर, सेनाले भन्दा निजी क्षेत्रले पहिले स्वास्थ्य सामग्री ल्याउने देखिएको छ। निजी क्षेत्रसँग वैशाख २ गते सम्झौता भएको छ।

उनीहरुले एक हप्ताभित्रमा पहिलो चरणका स्वास्थ्य सामग्री बुझाइसक्नुपर्ने सम्झौतामा उल्लेख छ। अर्को एक हप्तामा सबै स्वास्थ्य सामग्री बुझाउन भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .