ad ad

समाज


लकडाउनको उल्लंघन : पासमा मिति सच्याउँदै, गाडी हुइक्याउँदै

लकडाउनको उल्लंघन : पासमा मिति सच्याउँदै, गाडी हुइक्याउँदै

नारायण ढुङ्गाना
बैशाख २०, २०७७ शनिबार १२:८,

मुलुकमा कोभिड–१९ संक्रमणको जोखिम रोक्न सुरु गरिएको बन्दाबन्दी ‘लकडाउन’ मा प्रयोग हुने सवारी साधनलाई दिइने पासको दुरुपयोग हुने क्रम अझै रोकिएको छैन भने त्यसको उल्लंघन गर्ने मानिसको स.ख्यामा समेत कमी हुन सकेको छैन।

झुठो विवरण पेश गरेर सवारी पास लिने तथा पुरानै पासलाई मिति सच्याएर प्रयोग गर्नेक्रम जारी छ। कतिपयले आफन्त बितेको भनेर पासको दुरुपयोग गरी मानिस चढाएको समेत फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार अहिले पनि दैनिकजसो नै पासको दुरुपयोग हुनेक्रम जारी छ।

कोभिड–१९ को संक्रमण दैनिकरुपमा देखिँदै आएकाले जोखिम कायमै रहेको भन्दै वैशाख १५ पछि लकडाउनलाई सरकारले थप कडाइ गर्न प्रहरीलाई स्पष्ट निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा लकडाउनमा चलाउने सवारी सञ्चालनको निगरानीमा कडाइ गरिएको र अनावश्यकरुपमा बाहिर निस्किने व्यक्तिविरुद्धको कारवाहीलाई समेत तीव्र पारिएको नेपाल प्रहरीका प्रवक्ता नीरजबहादुर शाहीले जानकारी दिए। उनका अनुसार अहिले पनि मुलुकभर लकडाउन उल्लंघन गर्ने दैनिक तीन हजार मानिसलाई कारबाही गर्ने गरिएको छ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकामा मात्रै लकडाउन उल्लंघन गर्ने ८१ हजारलाई कारबाही गरिएको जानकारी दिए। यो बीचमा पासको दुरुपयोग गर्ने र पुरानो पास प्रयोग गर्ने झण्डै दुई हजार २०० गाडीलाई समेत कारबाही गरिएको छ। मुलुकभर लकडाउन उल्लंघन गर्ने एक लाख १० हजारभन्दा बढीलाई कारबाही गरिएको छ। यो अवधिमा उपत्यकाका तीन जिल्लामा मात्रै दुई हजार २०० सवारी पास प्रहरीले खिचेको छ।

‘धेरैजसो मिति सच्याएर चलाउने गरेको पाइयो’, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भने, ‘तोकिएको पासबाहेक कसैलाई छुट छैन, प्रहरीको पूरा निगरानी हुन्छ।’ स्थानीय प्रशासनले गत चैत ११ देखि १८ गतेसम्मका लागि सेतो रङको सवारी पासको व्यवस्था गरेको थियो। लकडाउन थपिएपछि एकदिने, तीनदिने र सात दिने पहेँलो पास जारी भयो। गत चैत २५ मा पुनःलकडाउन थपिएपछि प्रशासनले सात दिने पहेंलो पासलाई कायमै राखेको छ। तर, एकदिने र तीनदिने पासको मिति सच्याउँदै गाडी प्रयोग गर्ने अवस्था अहिले पनि दोहोरिरहेको ढकालले बताए।

जुन काम र जुन प्रयोजनका लागि पास दिइएको हो, त्योभन्दा विपरीत पासको दुरुपयोग भएको समेत फेला परेकाले उनीहरुलाई कारबाहीको दायरामा ल्याइएको छ। अत्यावश्यक कामबाहेक अन्य समयमा घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यकरुपमा बाहिर निस्किने क्रमसमेत दोहोरिएको छ। अहिले पास नभएका गाडीसमेत नियमित सञ्चालन भइरहेको छ। आजमात्रै ट्राफिक प्रहरीले बिनापास चलाएका ४७५ गाडीलाई नियन्त्रणमा लिएको छ। दैनिकरुपमा यसरी बिनापास गाडी चलाउने गरेको पाइएको छ।

यसरी उल्लंघन गर्ने कतिपय गाडीलाई घटनाको प्रकृति हेरेर तीन÷चार दिनसम्म होल्डमा राख्ने गरिएको महाशाखाले जनाएको छ। ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी जाँचको व्यवस्था मिलाएको छ भने अन्य स्थानमा संयुक्त जाँच हुने गरेको छ। स्थानीय प्रशासनले दुरुपयोग हुने सम्भावना बढेपछि यसअघि अनलाइबाट पास माग्ने प्रक्रियालाई समेत रोकिएको छ। कोभिड–१९ को संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउनको आदेश जारी गरेको थियो। उक्त आदेश वैशाख २५ सम्म जारी रहनेछ।

उपत्यकामा बढ्न थाल्यो सवारीको चाप
पछिल्लो समयमा उपत्यकामा गाडीको चाप बढ्न थालेको छ। महानगरीय प्रहरी कार्यालयका अनुसार उपत्यकामा पछिल्ला दिनमा गाडी निक्कै बढी गुड्न थालेका छन्।

सवारीको चाप बढ्न थालेकाले ट्राफिक नियम उल्लंघनविरुद्धसमेत कारबाही थालिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले जानकारी दिनुभयो । मुख्यगरी बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत भित्रिने गरेका, राहत वितरण र अत्यावश्यक सामान ओसारपसारमा प्रयोग भएका गाडीको चापसमेत बढेको प्रहरीले जनाएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्था, विभिन्न उद्योग आयोजना सञ्चालन हुन थालेकाले गाडीको चाप बढेको ढकालले बताए। कतिपयले जवर्जस्तीसमेत गाडी चलाउने गरेको पाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .