आज (मंगलबार) पनि देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
यो क्रम अरू तीन दिन अर्थात् बिहीबारसम्म जारी रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ। महाशाखाले सामान्यतया ३ दिनसम्मकाे माैसम अनुमान गर्छ।
अहिले (मंगलबार बिहान) पनि पश्चिमका केही स्थानमा वर्षा भइरहेको र त्यस्तो बादल क्रमशः पूर्व सर्ने क्रममा रहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
‘अहिले काठमाडौं उपत्यकादेखि पश्चिम मौसम बदली भइसकेको छ भने पश्चिमका केही स्थानमा वर्षा पनि भइरहेको छ,’ मंगलबार बिहान उनले नेपालखबरसँग भनिन्, ‘यो सिस्टम (पानी पार्ने प्रणाली) पूर्व सर्ने क्रममा छ। दिउँसोसम्म काठमाडौंलगायत मध्य क्षेत्र र बेलुकीसम्म पूर्वी क्षेत्रमा वर्षा हुने देखिन्छ।’
प्रिमनसुन भएकाले वर्षाका साथ हावाहुरी, चट्याङको पनि सम्भावना रहेको मौसमविद् कँडेलले जानकारी दिइन्।
‘वर्षा भनेर दिनभर भइरहने र लामो समय हुने खालको होइन,’ उनले भनिन्, ‘बीचबीचमा घाम लाग्ने पनि हुन्छ र फेरि बदली भएर छिनछिनमा पानी परिरहने हुन्छ।’
तराई क्षेत्रमा भने बेलुकीपख अलि बलियै खालको हावाहुरी पनि आउने सम्भावना रहेको उनले जानकारी दिए। काठमाडौं उपत्यकामा भने आज हावाहुरीको सम्भावना नरहेको उनले बताइन्।
महाशाखाले मंगलबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ:
पश्चिमी भू-भागका धरै स्थानहरूमा साथै मध्य तथा पूर्वका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
मौसमविद्का अनुसार अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव, साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा पनि प्रवेश गरिरहेको छ।
यसैकारण यहाँ हावाहुरीसहित वर्षा भइरहेको हो। वैशाख लागेयता नेपालमा माैसम खुलेकाे छैन।
माैसम महाशाखाले मंगलबार बिहान प्रकाशन गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान
वैशाख २३ गते (मंगलबार)
दिउँसोः देशको पश्चिमी भू-भागमा पूर्ण बदली र बाँकी भू-भागमा सामान्य बदली रहनेछ। देशको पश्चिमी भू-भागका धरै स्थानहरूमा साथै मध्य तथा पूर्वका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।
रातीः देशभर सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका केही स्थानहरूमा र पश्चिमी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।
वैशाख २४गते (बुधबार)
दिउँसोः देशभर बिहानीपख आंशिक बदली र दिउँसोपश्चात् सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै पूर्वी र मध्य तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।
रातीः देशभर आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।
वैशाख २४गते (बिहीबार)
दिउँसोः देशभर बिहानीपख आंशिक बदलली र दिउँसोपश्चात् सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा साथै तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ।
रातीः देशभर आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।
प्रतिक्रिया