भारतमा कोरोना संक्रमितको संख्या दैनिक तीब्र गतिले बढ्न थालेको छ।
सोमबार भारतमा झण्डै चार हजार संक्रमित फेला परेका छन्। संक्रमणबाट एकै दिन एक सय ७५ जनाको मृत्यु भएको छ। सोमबार भएको मृत्यु र संक्रमण भारतमा कोरोना देखिएयताकै सबैभन्दा उच्च हो।
त्यहाँ अहिलेसम्म मृतकको संख्या १५ सय ६६ पुगेको छ भने संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ।
भारतमा सोमबार एकै दिन ३९ सय ३२ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ अहिलेसम्म १२ हजार ८ सय ४७ जना उपचारपछि निको भएका वर्ल्डओमिटरले जनाएको छ।
भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन्। त्यसपछि गुजरात र नयाँ दिल्लीमा संक्रमितको संख्या बढी छ।
महाराष्ट्रमा झण्डै १३ हजार मानिसमा संक्रमण देखिइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गुजरातमा पाँच हजार चारसय भन्दा बढी मानिस संक्रमित भएका छन्।
राजधानी नयाँदिल्लीमा चार हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। भारतका २७ वटा प्रान्तमा कोरोना संक्रमण देखिसकेको छ।
संक्रमण तीब्र हुँदै जाँदा भारतमा आगामी १७ मेसम्मका लागि लकडाउन थपिएको छ। तर, आपतकालीन, अत्यावश्यक सेवा क्षेत्र भने सञ्चालनमै छन्।
कोरोनाको प्रभाव कम र बढी भएका क्षेत्रमा पनि लकडाउन खुकुलो र कडा पार्ने रणनीति भारतले अपनाएको छ। त्यसका लागि भारतले संक्रमण बढी र कम देखिएका क्षेत्रलाई रेड, यल्लो र ग्रिन जोनका रुपमा वर्गीकरण गरेको छ।
प्रतिक्रिया