ad ad

समाज


७० शय्याको कोरोना अस्पतालमा ९० बिरामी, डाक्टर भन्छन् : लक्षण नदेखिएकालाई घरमै राखौँ

७० शय्याको कोरोना अस्पतालमा ९० बिरामी, डाक्टर भन्छन् : लक्षण नदेखिएकालाई घरमै राखौँ

सागर न्यौपाने
जेठ १, २०७७ बिहिबार १३:४३,

एकै पटक ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि प्रदेश २ र ५ का अस्पताल भरिभराउ भएका छन्। संक्रमितको उपचार गरिरहेका ती अस्पतालहरुले जनशक्ति र स्वास्थ्य सामग्री अभावका कारण बिरामीको संख्या अझै बढे उपचारमा कठिनाइ हुने बताएका छन्।

अब गम्भीर लक्षण नदेखिएका संक्रमितलाई घरमै राख्न थाल्नुपर्ने ती अस्पतालका चिकित्सकहरुको सुझाव छ।

अहिले सबैभन्दा बढी पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा ९० र रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा ३६ जनाको उपचार भइरहेको छ। यी दुवै अस्पतालले थप संक्रमितलाई भर्ना गर्न नसक्ने बताएका छन्।

चिकित्सक, औषधि र सुरक्षा सामग्रीको अभाव हुँदै गएको उनीहरुको भनाइ छ।

पछिल्लो साता संक्रमितको संख्या ह्वात्तै बढेपछि अस्पतालहरुलाई चाप थेग्न गाह्रो भएको हो। सुरुमा सय जना संक्रमित भेटिन एक सय ६ दिन लागेको थियो। तर, पछिल्लो ५ दिनमै करिब डेढ सय संक्रमित फेला परिसकेका छन्।

सरकारले समयमै विकल्प नदिए उपचार प्रभावित हुनसक्ने उनीहरुको भनाइ छ।

वीरगञ्जको नारायणी उपक्षेत्री अस्पतालको क्षमता जम्मा ७० शय्या मात्र छ। तर, बिरामीको संख्या ९० पुगेपछि अस्पतालले १९ जना बिरामीलाई नजिकैको विद्यालय भवनमा बनाइएको क्वारन्टिनमा सारेको छ।

‘अस्पतालको क्षमता जम्मा ७० जनाको हो,’ सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले नेपालखबरसँग भने, ‘तर, यहाँ बिरामीको संख्या ९१ पुगिसकेको छ। त्यसैले एकजना दूधे बच्चासहित ७१ जनाको उपचार अस्पतालमै भइरहेको छ, अन्य १९ जनालाई नजिकैको क्वारन्टिनमा राखिएको छ। अब योभन्दा बढीलाई अस्पतालमा राख्न सक्दैनौं।’

सो अस्पताललाई सरकारले चैत ३० गते कोभिड–१९ अस्पताल घोषित गरेको थियो।

त्यसपछि ५ जनाबाट २५ र ५० हुँदै ७० जनाको उपचार गर्नसक्नेगरी अस्पतालको क्षमता विकास गरिएको थियो। तर, संक्रमितको संख्या दैनिक बढ्न थालेपछि समस्या भएको डा. उपाध्यायले बताए।

यो अस्पताल प्रदेश २ को एक मात्र कोरोना विशेष अस्पताल हो। तर, सबै जिल्लाको भारतसँग सीमा जोडिएकाले यो प्रदेशमा संक्रमित थपिने जोखिम उच्च छ।

अस्पतालमा शय्या मात्रै होइन कोरोना उपचारको लागि नभई नहुने स्वास्थ्य सामग्री र जनशक्तिको पनि कमी छ।

अस्पतालमा चिकित्सकदेखि तल्लो तहका कर्मचारी गरेर एक सय ९९ सय जनाको दरबन्दी रहेपनि ६० प्रतिशत कर्मचारीको पद रिक्त छ।

संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालले स्वास्थ्यकर्मीसहित किट, पीपीई सेट, मास्क लगायत अन्य आवश्यक सामग्री माग गरेको छ। तर, ती सामग्री प्राप्त नभएको डा. उपाध्याय गुनासो गर्छन्

‘दैनिक संख्या बढ्न थालेको छ, अस्पतालमा बिरामी राख्ने ठाउँ अभाव भइसक्यो, सरकारसँग जनशक्ति माग गरेपनि अझै प्राप्त भएको छैन,’ उनले भने।

विकल्प प्रस्तुत गर्न केन्द्र सरकारसँग माग गरेपनि सुनुवाइ नभएको उनी बताउँछन्।

‘कुनै लक्षण नभएका संक्रमितलाई अस्पतालमा राख्ने हो भने भोलि गम्भीर प्रकृतिका बिरामी आए राख्ने ठाउँ हुँदैन। त्यसैले अब कस्ता बिरामीलाई अस्पतालमा राख्ने भन्नेबारे केन्द्रले मार्गचित्र दिनुपर्छ,’ डा. उपाध्यायले भने।

संक्रमण समुदायमा फैलिएको आशंका
पर्सामा देखिएको संक्रमण समुदायस्तरमा फैलिइसकेको आशंका उनी गर्छन्।

‘जतिपनि संक्रमित भेटिएका छन्, उनीहरुलाई कहाँबाट स¥यो भन्ने अझै थाहा भइसकेको छैन,’ डा. उपाध्याय थप्छन्, ‘केन्द्र सरकारले विज्ञ टोली ल्याएर पर्सामा केन्द्रित गरेर अनुसन्धान गर्नुपथ्र्याे। अब स्थिति भयावह हुने खतरा छ।’

२८ चैतमा पर्सामा पहिलो पटक तीन जना कोरोना संक्रमित फेला परेका थिए। वीरगञ्ज महानगरपालिका २ मा रहेको एक मस्जिदमा बसेका १४ जना भारतीयमध्ये तीनजनामा कोरोना देखिएको थियो। त्यसपछि ३० चैतमा रौतहटका एक युवामा कोरोना देखियो।

त्यसयता २४ वैशाखमा १७ जना र ३० वैशाखमा एकैदिन ५७ जनामा संक्रमण देखिएको थियो।

Butwal CoronaHospital 1

भरियो बुटवलको कोरोना अस्पताल
उता रुपन्देही जिल्लामा पनि कोरोनाको संक्रमित बढिरहेका छन्। बिहीबारसम्म रुपन्देहीमा ३६ जनालाई कोरोना संक्रमण भएको छ।

बुटवलको कोरोना विशेष अस्पतालमा वैशाख १९ गते पहिलो संक्रमितलाई भर्ना गरिएको थियो। त्यसयता दुई हप्ताको अवधिमा संक्रमितको संख्या ह्वात्तै बढेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्रप्रताप खनालले बताए।

‘बुटवल कोरोना विशेष अस्पतालमा अहिले ३६ जनाको उपचार भइरहेको छ,’ डा. खनालले भने, ‘अब अरु बिरामीलाई राख्ने ठाउँ नै छैन।’

अस्पतालमा संक्रमित बढेपछि जनशक्तिे व्यवस्थापनको चुनौती थपिएको उनी बताउँछन्।

‘अहिलेसम्म मौजुदा जनशक्ति र केही करारमा लिएर काम गरेका छौं। दैनिक बढ्न थालेपछि जनशक्ति अभाव बढ्दैछ,’ डा. खनालले थपे।

अस्पतालमा चिकित्सकको लागि सुरक्षा सामग्री भने अभाव नभएको उनले बताए। प्रदेश ५ ले चार ठाउँमा कोरोना संक्रमितको उपचार गर्नेगरी व्यवस्था मिलाएको उनले बताए।

कुनै गम्भीर खालको लक्षण नदेखिएपनि कोरोना पोजिटिभले अस्पताल भरिँदा गम्भीर बिरामीका लागि शय्या अभावन हुनसक्ने चिन्ता उनले व्यक्त गरे।

‘पोजिटिभमात्रै देखिएका र कुनै लक्षण नभएकालाई घरमै सुरक्षित रुपमा राखेनौं भने गम्भीर बिरामी भेटिए उनीहरुको उपचारमा बेड पाइँदैन,’ उनले भने, ‘अब कस्ता बिरामीलाई अस्पतालमा भर्ना गर्ने भन्नेबारे केन्द्रले निर्णय गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .