ad ad

समाज


नेपालमा कोरोनाबाट पहिलो मृत्यु: गोंगबुमा बस्थिन्, हिंडेरै अस्पताल पुगेकी थिइन्

नेपालमा कोरोनाबाट पहिलो मृत्यु: गोंगबुमा बस्थिन्, हिंडेरै अस्पताल पुगेकी थिइन्

सागर न्यौपाने
जेठ ३, २०७७ शनिबार १८:९,

कोरोना भाइरसका कारण सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको मृत्यु भएको छ। संसारभर फैलिएको यो नयाँ भाइरसका कारण नेपालमा ज्यान गुमाउने उनी पहिलो नेपाली हुन्।

९ दिने ती सुत्केरीको स्वाब नमूना दोहोर्याएर परीक्षण गर्दा पनि कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको चिकित्सकले बताएका छन्। स्वास्थ्य मन्त्रालयले शनिबार राती मात्र उनको मृत्यु कोरोनाबाट भएको पुष्टि गर्दै यस रोगबाट मृत्यु हुने उनी पहिलो नेपाली रहेको जनाएको छ।

ती महिला काठमाडौंमा तरकारी व्यवसायी गर्दै आएकी थिइन। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चे घर भएकी उनी गर्भवती भएका कारण लकडाउनको बेला पनि नियमित जाँचका लागि काठमाडौंमै बसेकी थिइन।

सरकारले चैत ११ गते लकडाउन घोषणा गर्दा उनको बच्चा जन्माउने मिति नजिकिँदै थियो। त्यही कारण पहिलो सन्तान ११ वर्षको छोरालाई सिन्धुपाल्चोकको बाह्रबिसे घरमा पठाएर उनी र श्रीमान काठमाडौंको गोंगबुस्थित डेरामा बसेका थिए।

२९ वर्षीय ती महिलाका श्रीमान पहिले सेनामा थिए भने अहिले काठमाडौंकै एक कम्पनीमा सुरक्षा गार्डका रुपमा काम गर्छन्।

एक जना आफन्तका अनुसार बैशाख २३ गते गोंगबुदेखि हिँडेरै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी उनले २४ गते बच्चा जन्माएकी थिइन्। बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशिला पाख्रिनले उनको अप्रेसन गरी बच्चा जन्माइएको बताइन्।

सुत्केरी भएपछि सिन्धुपाल्चोक जानुअघि उनी काठमाडौंकै टोखास्थित आफन्तकोमा पुगेको जनाइएको छ। उनी पुगेको टोखाको घर पनि शनिबार राती सिल गरिएको छ।

२५ वैशाखमा उनलाई एम्बुलेन्सबाट बाह्रबिसे नगरपालिकाको वडा नम्बर ९ राम्चेमा रहेको घर लगिएको थियो।

‘एक त अप्रेसन गरेको सुत्केरी, दोस्रो त्यति लामो र कच्चीबाटो एम्बुलेन्समा आउनुभएको रहेछ,’ उपप्रमुख पाख्रिनले नेपालखबरसँग भनिन, ‘त्यसले गर्दा उहाँलाई धेरै गार्‍हो भयो होला।’

ती महिलाको माइती पनि बाह्रबिसे नगरपालिका वडा नम्बर ९ भट्टे नै हो। उनलाई काठमाडौंबाट आउँदा नै ज्वरो आएको भन्ने सुन्नमा आएको उपप्रमुख पाख्रिनले बताइन्।

‘प्रायः सुत्केरी हुँदा ज्वरो आउँछ नै, त्यही भएर सामान्य नै होला भनेर उहाँहरु आराम गराउनतिर लाग्नुभएछ,’ उनले भनिन, ‘अघिल्लो दिनमात्र बच्चा जन्माएर त्यत्रो बाटो यात्रा गरेपछि गाह्रो त हुन्छ नै भन्ने सोच्नुभएछ।’

तर दुईदिनसम्म पनि ज्वरो कम हुनुको साटो झन् बढेपछि बल्ल घर नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो।

‘सुरुमा लामो बाटोका कारण सुत्केरीलाई गार्‍हो भयो होला भनेर घरमै आराम गराउनुभएको रहेछ, पछि बढी भएपछि नजिकै रहेको प्राथामिक स्वास्थ्य केन्द्रमा चेक गराइएको रहेछ,’ वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले भने, ‘प्राथमिक स्वास्थ्य केन्द्रले चेक गरेपछि त्यहाँ उपचार नहुने देखेर धुलिखेल पठाएको रहेछ।’

बिहीबार बेलुका धुलिखेल अस्पताल पुर्याएर उपचार सुरु गर्न नपाउँदै महिलाको मृत्यु भएको अस्पतालले जानकारी दिएको मन्त्री दुलालले बताए।

उनमा कोरोनाको जस्तै लक्षण देखिएको अस्पतालका चिकित्सकलाई उधृत गर्दै दुलालले बताए।

‘स्वास फेर्न कठिन हुने, खोकी लाग्ने र बोली समेत बसेको जस्तो भइसकेको रहेछ,’ चिकित्सकको भनाई उधृत गर्दै मन्त्री दुलालले थपे, ‘त्यसपछि हतारहतार उपचार सुरु गर्न लाग्दा उनको मृत्यु भएछ।’

बिहीबार राती नै मृत्यु भएको भएपनि कोरोनाको लक्षण देखिएकाले अस्पतालले उनको स्वाव निकालेर परीक्षण गरेको थियो।

धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएपछि फेरि यकिन गर्नको लागि राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकु पठाइको थियो।

यसको जानकारी प्रदेश सरकार र संघीय मन्त्रालयलाई पनि दिइएको थियो। शनिबार दिनभर धुलिखेलमा विज्ञ डाक्टरसहितको टोली, प्रदेशका मन्त्री, टेकु अस्पतालका विज्ञ डाक्टरहरुले गरेको सबै अध्ययन र महिलामा देखिएको लक्षणलाई आधार मानेर कोरोना नै भएको निष्कर्ष निकालिएको हो।

कोरोनाको कारण निमोनिया भएको र त्यही कारण उनको स्वासप्रश्वासमा समस्या आई मृत्यु भएको निष्कर्ष विज्ञ चिकित्सक टोलीले निकालेको मन्त्री दुलालले बताए।

टेकु अस्पतालको ल्याबले पनि कोरोना पोजिटिभ रिपोर्ट दिएको छ। शनिबार राती विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको कारण नेपालमा पहिलो मृत्यु भएको जनाएको छ।

कोरोनाको कारण महिलाको मृत्यु भएपछि उनको माइती गाउँ भट्टे र राम्चे दुबै क्षेत्र सिल गरिएको उपप्रमुख पाख्रिनले बताइन्।

‘मृत्युको हल्ला दिउँसैदेखि चलेको हो, त्यसपछि त गाउँमा त्रास फैलिएको छ, उनी उपचार गर्न गएको प्राथमिक स्वास्थ्य केन्द्रदेखि उनी आएको एम्बुलेन्स सबै सम्पर्कमा आएका छन्,’ उनले भनिन।

पाख्रिनका अनुसार मृतक महिलाको घर र माइती दुबैतर्फको आर्थिक अवस्था सामान्य छ।

कहाँबाट सर्यो कोरोना?
अहिलेसम्म ती महिलामा कहाँबाट कोरोना सर्यो भन्ने केही खुल्न नसकेको उपप्रमुख पाख्रिनले बताइन।

‘आज दिनभर मैले सबै कोणबाट बुझ्ने प्रयत्न गरेँ, तर कारण पत्ता नै लागेको छैन, लकडाउनका बेला उहाँहरु तरकारी पसल समेत नगरेर कोठामा बसेको भन्नुभएको छ। बाहिर नहिंडेको भए कहाँबाट सर्यो त?’ नगरप्रमुख पाख्रिनले थपिन, ‘सिन्धुपाल्चोकमा अहिलेसम्म कोरोना नै देखिएको थिएन, अस्पताल बाहेक अन्त उहाँहरु जानुभएकै छैन भन्ने छ।’

कोरोनाले रोगविरुद्धको प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई असर गर्छ भन्ने सुनेकोमा अहिले आफ्नै टोलमा एक सुत्केरी महिलाको मृत्यु हुँदा ‘सक’ भएको उनले बताइन्।

यसैबीच वागमती प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सिन्धुपाल्चोक जिल्लामा आवात जावतमा कडाई गरेको छ।

‘दुई वटा गाउँ सिल गरिएको छ, हिंडडुल गर्न रोक लगाइएको छ,’ मन्त्री दुलालले भने, ‘भोलि आइतबारदेखि सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी र परीक्षण गर्दैछौं।’

ती महिलाको शनिबार बेलुका पशुपति आर्यघाटको बिद्युतीय शव गृहमा अन्त्येष्टि गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .