ad ad

समाज


कपिलवस्तुमा अस्पताल बाहिरै राखेर संक्रमितको उपचार गर्ने तयारी

कपिलवस्तुमा अस्पताल बाहिरै राखेर संक्रमितको उपचार गर्ने तयारी

यज्ञराज जोशी
जेठ १०, २०७७ शनिबार ६:०,

कपिलवस्तुमा सामान्य स्वास्थ्य अवस्थाका कोरोना संक्रमितलाई अस्पताल बाहिरै राखेर उपचार गर्ने तयारी थालिएको छ।

शनिबार थप ८ जनालाई कोरोना पुष्टि भएपछि कपिलवस्तुमा जम्मा संक्रमितको संख्या ७७ पुगेको छ। यसअघि संक्रमितलाई बुटवलस्थित कोरोना विशेष अस्पताल तथा भैरहवा पठाउने गरिएतापनि अब सामान्य स्वास्थ्यवस्थाका संक्रमितलाई स्थानीय आइसोलेसनमै राखेर उपचारको तयारी भएको हो।

स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जिल्लामा आइसोलेसन सेन्टर निर्माणको तयारी लागि विभिन्न ठाउँहरु हेरिएको बताए।

‘संख्या बढेसँगै सबैलाई अस्पताल राख्न सम्भव छैन’ थापाले नेपालखबरसँग भने, ‘सामान्य अवस्थाका लागि आइसोलेसन सेन्टर स्थापना गरेर यतै व्यवस्थापन गर्ने र जटिल केस आए अस्पताल पठाउने योजनामा छौं।’

पूर्व तयारी स्वरुप यसअघि विजयनगर गाउँपालिकामा रहेको आर्युवेदिक भवनमा आइसोलेसन सेन्टरका रुपमा सञ्चालन पनि ल्याइसकेको थापाले जनाए।

यस्तै संक्रमितहरुको संख्या बढ्नसक्ने कुरालाई मध्यनजर राख्दै स्वास्थ्य कार्यालयले जिल्लाको सिद्धार्थ क्याम्पस, कृष्णनगर नगरपालिकाको खानेपानी भवन, पकौडीको एक नीजी अस्पताल लगायतलाई आइसोलेसनका रुपमा प्रयोग गर्नसक्ने भन्दै तयारी थालेको छ।

आइसोलेसन सेन्टरमा स्थानीय पालिकाकै स्वास्थ्यकर्मीहरुले संक्रमितको हेरचाह गर्ने भएका छन्। आइसोलेसन सेन्टरमा एम्बुलेन्स उपलब्ध हुने र जटिल अवस्था देखिए तुरुन्तै बुटवल तथा भैरहवा अस्पतालमा पठाउने तयारी स्वास्थ्य कार्यालयको छ।

आइसोलेसनमा के के व्यवस्था हुनुपर्छ?
यसअघि वीरगञ्जको नारायणी अस्पतालमा पनि बेड अभाव भएपछि त्यहाँका १९ संक्रमितलाई नजिकैको एक स्कुलमा आइसोलेसनमा राखिएको थियो। तर पछि भने अस्पतालमा बेड थपेपछि उनीहरुलाई पनि अस्पतालमै सारियो।

नेपालमा संक्रमितको संख्या बढ्दै गएपछि सामान्य अवस्थाका विरामीलाई अस्पताल बाहिरै उपचारको व्यवस्था हुनुपर्ने कुरो चिकित्सकहरुले पनि उठाउँदै आएका छन्।

सोही कुराको अभ्यास कपिलवस्तुले थालनी गरेपनि आइसोलेसनमा विरामीको उपचारमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोलाले आइसोलेसन व्यवस्थित हुनुका साथै विरामीहरु चिकित्सकहरुको प्रत्यक्ष सम्पर्कमा हुनुपर्ने बताए।

‘खाना, बस्ने व्यवस्था राम्रो हुनुपर्यो, समयमै परीक्षण, पुर्न परीक्षणसहितको व्यवस्थित आइसोलेन हुनुपर्छ,’ डा. बास्तोलाले भने, ‘क्लिनिकल मोनिटरिङ गर्नसक्ने स्वास्थ्यकर्मीको टिम र गाह्रो साह्रो केही देखियो भने तुरुन्त अस्पताल लगेर उपचार गर्ने व्यवस्था हुनुपर्छ।’

वडाध्यक्ष र सञ्चारकर्मीपनि संक्रमति
शनिबार कपिलवस्तुमा नयाँ थपिएका ८ जनामा एक वडाध्यक्ष र एक सञ्चारकर्मी पनि संक्रमित भेटिएको छ।

‘संक्रमितमध्ये एकजना वडाध्यक्ष र एक जना सञ्चारकर्मी पनि हुनुहुन्छ। हामी उहाँहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङमा लागेका छौं,’ कोरोना फोकल पर्सन थापाले भने, ‘सबैको स्वास्थ्यअवस्था सामान्य छ र चिकित्सकको निगरानीमा हुनुहुन्छ।’

जसमा वाणगंगा नगरपालिकाका १७, १९, २२, २७, २९, ३५, ४० र ४२ वर्षका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरुहरुको स्वावको नमुना जेठ ४ र ५ गते वाडगङ्गा नगरपालिका शिद्दार्थ क्याम्पस बुन्चीबाट संकलन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .