ad ad

समाज


जनशक्ति अभाव खेपेका अस्पतालमा संक्रमितको चाप : ३० वर्षदेखिका दरबन्दी समेत रिक्त

जनशक्ति अभाव खेपेका अस्पतालमा संक्रमितको चाप : ३० वर्षदेखिका दरबन्दी समेत रिक्त

सागर न्यौपाने
जेठ ११, २०७७ आइतबार १२:४१,

सामान्य अवस्थामा समेत बिरामीको चाप धान्न धौ धौ हुने अस्पतालमा केहि हप्तादेखि सयौंको संख्यामा कोरोना संक्रमित थपिएका थपियै छन्।

विशेष व्यवस्थासहित उपचार गर्नुपर्ने कोरोनाका बिरामीका लागि अत्यावश्यक जनशक्ति समेत नहुँदा अस्पतालहरुले बिरामी व्यवस्थापन गर्न सकिरहेका छैनन्।

कोरोना संक्रमणको लागि तोकिएका ११० अस्पतालमध्ये अधिकांश अस्पतालले यो समस्या भोगेका छन्।

कोरोनाको संक्रमण फैलन नदिन सरकारले दुई महिनादेखि लकडाउन जारी राखेको छ।

तर, अहिलेसम्म उपचारका लागि अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी पठाउने तर्फ भने सरकारले प्राथमिकता नदिएको कोरोना उपचारमा खटिएका अस्पतालका चिकित्सकहरुको गुनासो छ।

गत डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक कोरोना संक्रमित भेटिएपछि नेपालमा पनि त्यसको संभावित जोखिम आकलन गरी पूर्वतयारी गर्नुपर्ने थियो।

चैतको पहिलो हप्तासम्म पनि नेपालमा कोरोना संक्रमण फैलिइसकेको थिएन। त्यो अवधिमा राम्रो तयारी गर्नुपर्ने सरकारले संक्रमण फैलिएपछि र संक्रमितको चाप बढिसक्दा समेत अस्पतालमा जनशक्ति थप्नेतर्फ गम्भिरता नदेखाएको डाक्टरहरुले बताएका छन्।

शनिबार पाटन अस्पतालमा एकजना कोरोना संक्रमितलाई वेड नभएको भन्दै ७ घण्टा एम्बुलेन्समै राखिएको थियो।

पाटन अस्पतालमा कोरोनाको उपचार गर्नको लागि छुट्टै भवन छ। आइसीयूमा २१ वेड रहेको सो अस्पतालमा आइसोलेसन वेड मात्रै ६ वटा रहेको अस्पतालका निर्देशक प्रा.डा. विष्णुप्रसाद शर्माले बताए।

पछिल्ला दिन अस्पतालमा कोरोना संक्रमितको चाप निरन्तर बढ्दो छ। काठमाडौं उपत्यकामा रहेका अस्पतालमा त संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा राख्ने ठाउँको अभाव हुन थालेको छ भने, जिल्ला बाहिरका अस्पतालको अवस्था झनै दयनीय छ।

सुदुरपश्चिम प्रदेशमा कोरोना उपचार गर्न तोकिएको अस्पतालमा जनशक्ति र स्रोतको चरम अभाव रहेको डाक्टरहरु बताउँछन्।

सेती प्रादेशिक अस्पतालमा पनि दरबन्दी अनुसारको जनशक्ति नभएको अस्पतालका डा. शेरबहादुर कमरले जानकारी दिए।

‘दरबन्दी अनुसारको जनशक्ति छैन’, कमरले नेपालखबरसँग भने, ‘३०–४० वर्ष अगाडिको दरबन्दी संख्यामा थप भएको छैन, अझै त्यही दरबन्दी समेत रिक्त छ।’

भारतीय सीमा क्षेत्रबाट दैनिक हजारौं संख्यामा नेपाली भित्रिन थालेपछि सुदुरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्न थालेको छ।

यस्तो अबस्थामा एकैपटक थुप्रै संख्यामा कोरोनाको पीसीआर परीक्षण गर्नको लागि ल्यावमै जनशक्ति अपुग रहेको सो अस्पताल प्रशासनले जनाएको छ। अहिले जम्मा ४ जनाले ल्याव धानिरहेका छन्।
जबकि ठूलो संख्यामा संक्रमितको परीक्षण गर्नुपर्दा २४सै घण्टा ल्यावमा जनशक्ति आवश्यक पर्छ।

अस्पतालमा रहेको ल्यावमा विशेषज्ञ प्राविधिक तत्काल आवश्यक परेको उनी बताउँछन्। अहिले त्यहाँ ल्यावमा दैनिक दुई सिफ्टमा मात्रै काम भइरहेको छ। विशेषज्ञले गर्नुपर्ने अहिलेको परीक्षण अन्य सामान्य रोगको परीक्षण गर्ने ल्याब टेक्निसियनहरुले गरिरहेका छन्।

‘हामीसँग भएको ल्यावको पूर्ण क्षमता अनुसार काम गर्नको लागि विशेषज्ञ प्राविधिक तत्काल चाहिएको छ। धेरै पढेको क्षमतावान ल्याव विशेषज्ञ भएमात्र कोरोनाको परीक्षण गर्न अझै सहज हुन्छ,’ कमरले थपे।

धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित राख्न बेड नै अभाव छ। त्यसमा दुईवटा भेन्टिलेटर छ भने आइसीयू वेड जम्मा ५ वटा मात्रै छन्। अस्पतालमा कोरोना पोजिटिभ देखिएका विरामी राख्ने वेड जम्मा ५० मात्रै रहेको छ।

एक्कासी ठूलो संख्यामा विरामी थपिए कहाँ लैजाने अन्योल छ। सुदुरपश्चिमको महाकाली अञ्चल अस्पतालमा पनि पर्याप्त स्वास्थ्यकर्मी नभएकैले सो अस्पतालमा अहिलेसम्म कोरोना संक्रमित राखिएको छैन।

उता डडेल्धुरा उपक्षेत्रीय अस्पतालको क्षमता १०० बेडको भएपनि उक्त अस्पतालमा अहिलेसम्म कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था नमिलाइएको डा. कमरले बताए।

पछिल्लो दिन सबैभन्दा बढी कोरोना संक्रमित थपिएको प्रदेश २ को नारायणी उपक्षेत्रीय अस्पतालमा जनशक्ति अभावकै कारण डाक्टरहरुले आराम समेत गर्न नपाएको अस्पताल प्रशासनले जनाएको छ।

Corona hosp Butwal

‘संक्रमितको संख्या दैनिक बढ्न थालेको छ तर, जनशक्ति नहुँदा अत्यधिक कठिनाई भयो’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले भने, ‘स्रोत व्यवस्थापनमा समेत गाह्रो भइसकेको छ।’
नारायणी अस्थायी कोरोना अस्पतालसमेत सोही अस्पतालले व्यवस्थापन गर्नुपर्ने भएकोले कर्मचारीको थप अभाव भएको डा. उपाध्यायले बताए।

‘अस्पतालमा कार्यरत एक जना डाक्टर समेत कोरोना संक्रमित भए भने, व्यवस्थापन गर्न कठीन चुनौति हुनेछ’, डा. उपाध्यायले भने।

अस्पतालले कर्मचारी अभाव रोक्न करारमा कर्मचारी लिएर काम चलाइरहेको छ।

कोरोना संक्रमितको आधारमा प्रदेश ५ अहिले सबैभन्दा बढी जोखिममा देखिएको छ।

कोरोना हटस्पट बनिरहेको बाँकेको नरैनापुरमा संक्रमितको बढिरहेको छ। उनीहरुलाई शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल र तीनवटा कम्युनिटी क्वारेन्टिनमा राखिएको भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले बताए।

अहिले सो अस्पतालमा १ सय २० जना संक्रमितको उपचार भइरहेको छ।

खुला सीमा र भारतमा लकडाउन खुकुलो भएसँगै नेपाल फर्किनेहरुको संख्या दैनिक बढिरहेको छ र संक्रमित पनि निरन्तर थपिइरहेका छन्।

‘कुनै लक्षण नभएका, संक्रमण भएपनि गम्भीर नभएकालाई अस्पताल राख्न अब ठाउँ छैन’, डा. थापाले भने, ‘अहिलेको जनशक्तिले धान्न सक्ने अवस्था रहदैन।’

संक्रमित बढ्दै गएपछि अस्पतालमा समेत स्वास्थ्यकर्मीहरुको अभाव हुन थालेको हो।

भेरी अस्पतालमा ३ सय जनाको दरबन्दी रहेकोमा ४५ जना डाक्टर र ८० जनाजति नर्स रहेको डा. थापाले जानकारी दिए।

‘अहिले नै दरबन्दी अनुसार त स्वास्थ्यकर्मी छैनन, संक्रमित थपिएपछि काम गर्न चाप बढ्छ, भारतबाट आउने नेपाली बढेपछि दबाब झनै थपिएको छ’, डा. थापाले भने, ‘प्रदेश ५ रेडजोन हुनसक्ने खतरा रहेको छ।’

प्रदेश ५ मा भेरी अस्पताल, शुशिल कोइराला अस्पताल नेपालगञ्ज र दाङको बेलझुण्डि अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल कोरोना अस्थायी अस्पतालमा संक्रमितको उपचार भइरहेको छ।

भारतबाट नेपाल फर्किने नेपालीको संख्या बढेपछि प्रदेश १, २, ५, कर्णाली र सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको जोखिम थपिएको छ। अल्पत्र परेका नेपालीहरुलाई बेलैमा व्यवस्थित रुपमा ल्याउन नसक्दा गम्भीर समस्या निम्तिने भएको छ।

‘कतिपयले भारतबाट आउँदा आउँदै पनि सारे, कतिपयलाई उतैबाट सर्‍यो’, सेती प्रादेशिक अस्पताल धनगढीका डा.शेबहादुर कमरले भने, ‘नेपाल भित्रिएकालाई पनि व्यवस्थित रुपमा क्वारेन्टिनमा राख्न सकेनौं, परीक्षण गर्न सकेनौं, जसले गाउँमा समेत जोखिम बढायो।’

नारायणी उपक्षेत्रीय अस्पताल पर्सामा स्रोत, साधन र जनशक्ति थप नगर्ने हो भने काम गर्न समस्या पर्ने अस्पतालका प्रमुख डा. मदन उपाध्याय बताउँछन्।

ग्लाेबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडीजले नेपालमा कोरोना नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट गरेको लकडाउनपछि सातै प्रदेशका अस्पतालहरुको तयारी अवस्थाको बारेमा अध्ययन गरेको थियो।

अनुसन्धानकर्ता तथा जनस्वास्थ्य वैज्ञानिक डा. सुरज भट्टराई सहितको टोलीले सातै प्रदेशका १ सय १० अस्पतालमा गरेको अध्ययनमा पनि सरकारी अस्पतालमा जनशक्ति र उपकरणको अभाव रहेको देखाएको थियो।

‘महामारी नियन्त्रण गर्नको लागि आवश्यक पर्ने जनशक्ति सरकारी अस्पतालमा पर्याप्त देखिएन,’ डा. भट्टराईले नेपालखबरसँग भने, ‘त्यो जनशक्ति अझै पुर्ती भएको छैन।’

महामारी नियन्त्रणको लागि पर्याप्त तयारी, स्रोत साधनको पर्याप्तता र दक्ष स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्नुपर्ने हुन्छ।

‘संक्रमण रोगसँग लड्नको लागि प्रशिक्षित जनशक्ति, ल्याव, सरुवारोग सम्बन्धित विषयविज्ञ, माइक्रोवायोलोजिष्ट र अनुसन्धानकर्ता गरी पाँच किसिमका विज्ञ आवश्यक पर्छ,’ डा. भट्टराईले थपे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले भने आवश्यकता भएका अस्पतालमा जनशक्ति व्यवस्थापन भइरहेको दाबी गरे। ‘जनशक्ति अभाव भएर माग भएका अस्पतालमा करारमा लिने भनेर निर्देशन दिएका छौं,’ सचिव कोइरालाले भने, ‘अत्यावश्यक अस्पतालमा जनशक्ति पठाउने काम भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .