ad ad

समाज


३० वर्ष पुरानो चिया पसल बन्द भएपछि माली दम्पतीले भोगेको दुःख

३० वर्ष पुरानो चिया पसल बन्द भएपछि माली दम्पतीले भोगेको दुःख

सागर न्यौपाने
जेठ १२, २०७७ सोमबार ११:५,

आधा खोलिएको सटरभित्रबाट टाउको निहुर्‍याएर उनले बाहिर चिहाए।

सडकमा फाट्टफुट्ट मानिस हिँडिरहेका थिए। अलि पर चोकमा तीनचार जना प्रहरी उभिएका थिए।

७२ वर्षीय छत्रमान माली निरास देखिए।

‘सटर धेरै नखोल्नू, ऐले पुलिस आइपुग्छ,’ उनकी ७० वर्षीया पत्नी तीर्थमायाले पतिलाई सचेत गराइन्।

छत्रमान र तीर्थमायाले गोदावरी नगरपालिका १२ तरङखेल, जरुंगालमा २०४९ सालमा यो चिया पसल खोलेका थिए। त्यसयताको २८ वर्षमा यसरी व्यापार ठप्प कहिल्यै भएको थिएन।

उनीहरु सरदर दैनिक एक सय २० कप चिया तथा जेरी, सेल र लालमोहनजस्ता मिठाइ बेच्थे। लकडाउन सुरु भएपछि एक कप चिया पनि बेच्न पाएका छैनन्।

‘अझै लकडाउन थपिन्छ?’ प्रेस लेखेको ज्याकेट देखेपछि मैले केही सोध्न नपाई छत्रमानले प्रश्न गरे।

‘२० गतेपछि खुकुलो होला कि!’

****
चिया पसल बन्द भएपछि माली दम्पतीको आम्दानीको बाटो टुटेको छ।

लकडाउनका बेला सरकारले अत्यावश्यक वस्तु विक्रीवितरण तथा सेवा सञ्चालन गर्न दिएको छ। तर, सरकारको अत्यावश्यक सूचीमा माली दम्पतीको चिया पसल पर्दैन।

‘कमाउने अरु मान्छे छैन, बुढाबुढी खटिन्छौं,’ तीर्थमायाले भनिन्, ‘आज ५० दिन भइसक्यो एक कप चिया बेच्न नपाएको, के खाने? के लाउने?’

chhatramn-tirthamaya76.jpg

छत्रमान उच्च रक्तचाप, मधुमेहका बिरामी हुन्। किनेको औषधि र पैसा सबै सकिन थालेको छ। त्यसैले उनी आत्तिन थालेका छन्।

‘यो लकडाउनले त्यसै मार्ने भयो, औषधिको साहारामा बाँचेका हामी अब त्यो किन्ने पैसा नै नभएपछि कसरी बाँच्ने?’ छत्रमानले प्रश्न गरे।

‘बुढालाई मात्र औषधि किन्न महिनाको १५ हजार खर्च हुन्छ,’ तीर्थमाया भन्छिन्, ‘पसल नै खोल्न नपाएपछि पैसा कहाँबाट जुटाउनु अब गाह्रो पर्न थालिसक्यो।’

एक आना दुई पैसा जग्गामा बनाएको एक तल्ले घर नै उनीहरुको बासस्थान र चिया पसल पनि हो। लकडाउन लम्बिँदै जाँदा उनीहरुको संकट बढिरहेको छ। तर, कतैबाट राहत पाएका छैनन्।

स्थानीय तहले वितरण गरेको राहत नपाएको तीर्थमायाले बताइन्। उनको चियापसलबाट गोदावरी नगरपालिकाका मेयरको घर पुग्न पाँच मिनेट मात्रै लाग्छ।

‘हामी मेयरलाई पनि चिन्छौँ तर गएर राहत देऊ भनेर माग्न सकेका छैनौँ,’ तीर्थमायाले भनिन्।

आफ्नो चिया पसल मात्रै खोल्न पाए कसैको मुख ताक्न नपर्ने छत्रमानको विश्वास छ। त्यही भएर बिहान उठ्नेबित्तिकै उनी पहिला सटर खोल्छन्। तर, प्रहरी आइपुग्छ र बन्द गराउँछ।

‘बिहान २ घन्टा, बेलुका २ घन्टा पसल खोल्न पाए औषधि किन्ने पैसा खोज्नु पर्दैनथ्यो,’ तीर्थमायाले भनिन्।

माली दम्पत्तीको एक छोरी छिन्। उनको पनि बिहे भइसकेकाले उनीहरुलाई भरथेग गर्ने कोही छैन।

chhatramn-tirthamaya39.jpg

‘सन्तान एउटी छोरी मात्र छिन्, अरु गर्भमै बिते, जन्मिनै पाएनन्,’ तीर्थमायाले भनिन्, ‘अब बुढेसकालको एउटै सहारा भनेको भगवान हो, अहिले त बिहानै पसल खोल्न नपाउँदा तिनै भगवानलाई पनि बत्ती चढाउन पाइएको छैन।’

****
बिरामी र बुढ्यौलीका बाबजूद लकडाउनअघि छत्रमान बिहान ५ बजे उठ्थे। त्यसपछि जेरी, सेल, खजुरी पकाउँथे। ८ नबज्दै उनको पसलमा चिया र जेरी खाने बुढापाकाको जमघट सुरु हुन्थ्यो।

खास चाडपर्वहरुमा व्यापार राम्रो हुन्थ्यो। तिहार, बुबाको मुख हेर्ने दिन, आमाको मुख हुर्ने दिनमा भएको कमाइले माली दम्पतीको घरखर्च राम्रै चलेको थियो।

पुख्र्यौली सम्पत्ति आफ्ना दाजुभाइले खाइदिएको छत्रमान बताउँछन्।

‘बाआमाले दिएको जग्गा आफ्नै दाजुभाइले खाए, दाइहरुसँग झगडा गर्न सकिएन,’ छत्रमानले भने। परिवारबाट एक्लिएको आफूलाई कोरोनाले पनि झनै एक्ल्याएको उनी बताउँछन्।

‘म अहिलेसम्म आफैँ काम गरेर खाइरहेको छु, दुःख छ, गाह्रो छ भनेको थिइनँ,’ उनले भने, ‘अब भने दुःख हुन थाल्यो। काम गरेर खान नपाएपछि साँच्चै दुःख पाइने रहेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .