क्वारेन्टिनको न्यूनतम मापदण्ड र आधारभूत स्वास्थ्य सेवा समेत उपलब्ध नभएको गुनासो आइरहेका बेला बिभिन्न जिल्लाका क्वारेन्टिनमा मृत्यु हुनेको संख्या दैनन्दिन बढिरहेको छ।
कोरोनाको कारण आइतबारसम्म ८ जनाको मृत्यु हुँदा ३ जनालाई अस्पतालसम्म पुर्याइएको थियो भने अन्य ५ जनाको क्वारेन्टिनमै मृत्यु भएको छ।
क्वारेन्टिनमा राखिएका नागरिकले डाक्टरको परीक्षणबिना नै मृत्यु हुनु दुखद मात्र होइन अक्षम्य समेत भएको संक्रामक रोग तथा जनस्वास्थ्य विज्ञ डा. अनुप सुवेदीले बताए।
‘स्थानीय सरकारको निगरानीमा रहेका क्वारेन्टिनमा सामान्य डाक्टरको समेत उपस्थिति नभई परीक्षणबिना जसको मृत्यु भएको छ, यो अक्षम्य हो,’ सुवेदीले नेपालखबरसँग भने, ‘यो त असफल व्यवस्थापन हो, यसलाई सामान्यरुपमा लिनु हुँदैन, राज्यको असफलताको ठूलो प्रमाण नै यही हो।’
क्वारेन्टिनमा स्वास्थ्य टोलीको डेस्क, आपतकालिन अवस्थाका लागि एम्बुलेन्स, अनुभवी डाक्टर, सफा भौतिक संरचना, शुद्ध पिउने पानी र शौचालय र बाथरुम उपलब्ध हुनुपर्ने न्युनतम मापदण्ड हो।
ठूला अस्पतालनजिकै, विशेषज्ञ डाक्टरहरु तत्काल जानसक्ने र भौतिक संरचना राम्रो भएको ठाउँमा क्वारेन्टिन बनाउनुपर्ने डा. सुवेदी बताउँछन्।
त्यति मात्र होइन क्वारेन्टिनमा मानिसहरुको भीड समेत हुनुहुँदैन। एकजना संक्रमित रहेछन् भने अन्यलाई नफैलियोस भनेर क्वारेन्टिनमा मानिसहरुलाई समूहमा राखिदैन।
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा बनाइएको क्वारेन्टिनमात्रै मापदण्ड अनुसार भएको जानकारहरु बताउँछन्।
चीनबाट विद्यार्थी ल्याएर राख्नको लागि सो क्वारेन्टिन नेपाली सेनाले बनाएको थियो।
तर, आफ्नै जिल्लामा बनाइएका क्वारेन्टिनमा त्यस्तो कुनै सुविधा उपलब्ध नभएको बाँके नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए।
‘हामीलाई क्वारेन्टिन व्यवस्थापन गर्न कसैले सहयोग नै गरेको छैन, भारतबाट नेपाली दाजुभाई ह्वार ह्वारती भित्रिन थालेपछि आँफैले स्कुललाई क्वारेन्टिन बनाएको हुँ’, शाहले नेपालखबरसँग भने, ‘त्यहाँ कुनै अनुभवी डाक्टर छैनन्, अरु सुविधा पनि छैन।’
नरैनापुरमा १३ स्थानमा विद्यालयलाई नै क्वारेन्टिन बनाइएको उनले बताए।
‘सीमानाबाट भित्रिने नेपालीको चाप बढेपछि त केहीलाई जंगलको छेउमा पाल टाँगेर पनि राखियो’ उनले आफ्नो बाध्यता सुनाए।
नरैनापुरको कुनैपनि क्वारेन्टिनमा डाक्टर सेवा उपलब्ध छैन। त्यहिँको क्वारेन्टिनमा रहेका एकजना २५ वर्षीय युवाको जेठ ४ गते उपचार नपाएरै ज्यान गएको थियो।
ती युवाको मृत्यु भएको एक दिनपछि मात्र उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
‘स्वास्थ्यकर्मीको टोली नै पुगेको छैन, २३ वर्ष भयो यो क्षेत्रमा एमबिबीएस डाक्टर नआएको,’ शाहले आफ्नो पीडा पोखे, ‘अहेवको भरमा चलेको छ, ती अहेव पनि क्वारेन्टिनमा पुग्न सक्तैनन्।’
संक्रामक रोग तथा जनस्वस्थ्य विज्ञ डा. अनुप सुवेदीले सरकारले क्वारेन्टिनको मापदण्ड कागजमा बनाएको तर, कार्यान्वयन नै नगरेको बताए।
‘क्वारेन्टिन भनेको सुरक्षित रुपमा रहनको लागि बनाइने हो, त्यहाँ बसेर मानिसले रोगसँग लड्नसक्ने शक्ति आर्जन पो गर्नुपर्छ त, तर, हाम्रा क्वारेन्टिन सुरक्षित भएनन्,’ डा. सुवेदीले प्रश्न गरे, ‘पर्याप्त पानी पिउन नपाउने, ट्वाईलेट पनि नभएको र लामखुट्टेले टोक्ने क्वारेन्टिनमा मानिस कसरी सुरक्षित हुन्छ?’
जेठ ४ गतेपछि क्वारेन्टिनमा उपचार नपाएर ५ जनाको ज्यान गइसकेको छ। जसमा सबैको मृत्युपछि मात्र कोरोना संक्रमण पुष्टि भयो।
दुल्लु नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टिनमा बसेका ३५ वर्षीय पुरुषको शनिबार मृत्यु भएको थियो। उनको कोरोना पुष्टि आइतबार भएको हो।
कोरोना संक्रमणको जोखिम बढ्न थाल्नुअघि नै सरकारले मापदण्डका आधारमा बनाउनुपर्ने क्वारेन्टिन बनाउन चासै नदिएको कतिपयले आरोप लगाएका छन्।
नेपालमा पहिलोपटक माघ ९ गते एकजना व्यक्तिमा कोरोना पोजिटिभ देखिएको थियो, त्यसपछि देशव्यापी रुपमा संक्रमण फैलने आँकलन गरेको सरकारले सुविधासम्पन्न क्वारेन्टिन बनाउन भने पहल नै नगरेको डा. सुवेदीले बताए।
केन्द्र सरकारबाट सहयोग नपाए पनि स्थानीय तहले आफ्नो क्षमता अनुसारको क्वारेन्टिन बनाएका छन्।
झापाको कचनकवल गाउँपालिकाले आफ्नै लगानीमा ६ वटा वडामा क्वारेन्टिन बनाएको छ, जहाँ २ सय बढी बसिरहेको गाउँपालिका उपाध्यक्ष निमसरी राजवंशीले जानकारी दिइन्।
‘क्वारेन्टिनमा रहेका सय जनालाई कोरोना संक्रमण भयो, उहाँहरुलाई विभिन्न अस्पताल पठाइएको छ’, राजवंशीले भनिन्, ‘अहिले २ सय बढी छन्।’
ती कुनैमा पनि स्वास्थ्य टोली उपलब्ध छैनन। एम्बुलेन्स समेत नगएर बसलाई गाउँपालिकाले भाडामा लिएको उपाध्यक्ष राजवंशीले बताइन्।
‘संक्रमित थपिएको भन्दै एम्बुलेन्स चालक समेत आउन मानेनन्’, उनले भनिन, ‘बसलाई एक महिनासम्म ९० हजार भाडा तिर्नेगरी प्रयोग गरेका छौं।’
नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले भगवान भरोसामा मानिसलाई क्वारेन्टिनमा राखेको बताउँछन्।
‘के कस्तो सुविधा चाहिन्छ भन्ने हामीलाई थाहा छ, तर के गर्नु यहाँ उपयुक्त ठाउँको पनि अभाव छ र आर्थिक स्रोतको झनै समस्या छ’, अध्यक्ष शाहले थपे, ‘हाम्रो क्षमताले भ्याएसम्म गरिरहेका छौं।’
डा. अनुप सुवेदी क्वारेन्टिनमा डाक्टर सेवा र एम्बुलेन्स अत्यावश्यक रहेको बताउँछन्।
‘क्वारेन्टिनमा डाक्टर र एम्बुलेन्स अनिवार्य हुनुपर्छ,’ उनले भने, ‘क्वारेन्टिन अव्यवस्थित हुनै हुँदैन, पछिल्ला केही व्यक्तिको मृत्यु हेर्दा स्वास्थ्य सेवाको अभाव देखियो, अर्काे भनेको क्वारेन्टिनमै संक्रमण फैलिने जोखिम पनि बढ्यो।’
कोषमा पैसा थुप्रियो गाउँपालिका ऋणमा
प्रधानमन्त्री कार्यालयमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म २ अर्व ३० करोड ५ लाख ६८ हजार रुपैयाँ जम्मा भएको छ।
जेठ १४ गतेसम्म कोषमा आएको उक्त रकम जिल्ला जिल्लामा परिचालन गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बताएको छ।
तर, सो रकम भने कोरोना संक्रमितलाई राखिरहेका गाउँपालिकाले नपाएको गुनासो गरे।
हजार जना बढीको व्यवस्थापन गरेका बाँकेका नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले दुईमहिना अगाडि राहत वितरणका लागि १० लाख रुपैयाँ पाएको र त्यसपछि एक रुपैयाँ नपाएको बताए।
झापाको कचनकवल गाउँपालिकाले केन्द्र सरकारबाट एक रुपैयाँ रकम नपाएपछि गाउँपालिकाकै बजेट खर्च गरेको छ।
‘हामीले ९७ लाख खर्च गरिसक्यौं, अब त ऋण गर्नुपर्ने अवस्था आयो,’ गाउँपालिका उपाध्यक्ष निमसरी राजवंशीले भनिन।
राहत वितरणका लागि भनेर प्रदेश सरकारले दुईपटक गरेर डेढ महिनाअघि १५ लाख दिएको उनले बताईन।
प्रतिक्रिया