युएईबाट १ सय ६८ जना नेपाली लिएर एयर अरबियाको जहाज काठमाडौं आइपुगेको छ।
कोरोना भाइरसको महामारीका कारण घर फर्किएका नेपाली लिएर एयर अरबियाको जी नाइन १७९१ नम्बरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले सो विमानमा १६८ जना नेपाली आएको बताए। ‘युएईबाट १ सय ६८ जना नेपाली लिएर एयर अरबियाको जहाज विमानस्थलमा अवतरण गरेको छ’, नेपालखबरसँग कुरा गर्दै प्रवक्ता कर्णले भने।
उक्त जहाज दिउँसै आउने भनिए पनि नेपाली दूतावास र एयरलाइन्सबीच समन्वय नहुँदा जहाज उडानमा ढिलाइ भएको थियो। दूतावासले आफूले तयार पारेको सूची अनुसारका यात्रु लैजानु पर्ने बताए पनि एयरलाइन्सले त्यहाँका कम्पनीको सूची अनुसारका यात्रुलाई लैजाने तयारी भएपछि ढिलाइ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल श्रोतले जनाएको छ।
उनीहरुलाई अब विमानस्थलबाट प्रदेश अनुसार होल्डिङ सेन्टरमा लगिने छ। होल्डिङ सेन्टरसम्म लैजाने र विवरण लिएपछि सम्बन्धित प्रदेशको जिम्मा लगाइनेछ। हरेक प्रदेशका लागि एक एक जना मन्त्रीलाई समन्वयको जिम्मा दिइएको छ।
यसअघि शुक्रबार बिहान म्यानमारबाट २६ जना नेपाली फर्किएका छन्। उनीहरु आजै घर फर्किएको सेनाले जनाएको छ।
विमानस्थलबाट नेपाली सेनाको संयोजनमा उनीहरुलाई होल्डिङ सेन्टरसम्म र्पुयाइने छ। प्रदेश १ र २ कालाई भक्तपुर, बागमती, गण्डकी र प्रदेशं ५ कालाई काठमाडौं तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुरका होल्डिङ सेन्टरमा राखिनेछ।
उनीहरुलाई राख्नका लागि उपत्यकाका तीन जिल्लाका ८ वटा पार्टी प्यालेस तय भएका छन्। प्रदेश १ का लागि सूर्यविनायक नगरपालिका ५ स्थित इम्पेरिअल बैन्क्वेट र प्रदेश २ का लागि मध्यपुरठिमी नगरपालिका ४ स्थित होटल हेरिटेज पार्टी प्यालेसलाई होल्डिङ सेन्टरको रुपमा व्यवस्थापन गरेको छ।
वागमती, गण्डकी र प्रदेश नं ५ कालाई धुम्बाराहीको स्काइजोन पार्टी प्यालेस, चप्पल कारखानाको कुण्डलिनी दरबार बैन्क्वेट र बसुन्धराको यति इभेन्ट्समा राखिने भएको छ।
कर्णाली र सूदुरपश्चिम प्रदेशकालाई ललितपुरमा राखिने भएको छ। उनीहरुलाई धोविघाटको सिद्धार्थ कटेज, मानभवनको डिलाइट पार्टी भेन्यु र ग्वार्कोको मण्डला पार्टी प्यालेसमा राखिने भएको छ।
प्रतिक्रिया