ad ad

समाज


कुवेतबाट फर्केका महिला भन्छन्ः सरकारले न जान दियो, न त फर्किन

कुवेतबाट फर्केका महिला भन्छन्ः सरकारले न जान दियो, न त फर्किन

उजिर कार्की
जेठ २९, २०७७ बिहिबार १४:१७,

कुवेत सरकारले बिहीबार दुई ओटा विमान चार्टर गरेर २ सय ९९ नेपाली महिलालाई स्वदेश फर्काइदियो।

परदेशबाट फर्किनेहरुको खुसीले फुरुक्क परेका हुन्छन्। तर, बिहीबार फर्किने धेरै महिलाहरु झोला च्यापेर, सलले मुख छोप्दै आगमन कक्षबाट बाहिरिएका थिए। आफ्नै देश फर्किआउँदा पनि उनीहरुको अनुहार उज्यालो थिएन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो अनौठो दृश्य थियो।

आगमन कक्षबाट बाहिर निस्किँदै गर्दा उनीहरु पत्रकारहरुसँग कुरा गर्न मानिरहेका थिएनन्। उनीहरुलाई होल्डिङ सेन्टरसम्म लैजान साझा बस कुरिरहेको थियो। जसमध्ये बागमती प्रदेशको बस चाहिँ छिटै भरिँदै थियो।

प्रायः फोटो पत्रकारका क्यामेराका लेन्स पनि त्यही बसलाई ताकिरहेका थिए।

तर, बसमा चढेका महिलाहरु बोल्न चाहिरहेका थिएनन्। भिडियो नखिच्ने र परिचय लुकाउने सर्तमा मात्र एक महिला कुरा गर्न थालिन्।

‘हामीलाई हाम्रो सरकारले केही गरेको छैन यहाँ ल्याइदिएको पनि कुुवेत सरकारले हो,’ ती महिला आक्रोशमिश्रित आवाजमा भन्न थालिन्, ‘सरकारलाई चासो भएको भए त हामीले यो दिन भोग्नै पर्दैनथ्यो। हामी कसरी फर्केको भन्ने थाहा पाउनुभएकै होला! हामीलाई यहीँबाट जान दिएको भए आज यसरी फर्किनु पर्ने थिएन।’

कुवेतबाट बिहीबार फर्किएका अरु सबै महिलाजस्तै उनी पनि आममाफी पाएर फर्किएकी थिइन्। उनीहरु कसैको पनि कागजात आफूसँग थिएन। कुवेतमा बस्ने अनुमति पनि थिएन। पासपोर्ट हुनेहरुसँग पनि श्रम स्वीकृति थिएन, नत उनीहरुसँग भिसाको म्याद नै थियो।

सरकारले घरेलु कामदारका रुपमा विदेश जान प्रतिबन्ध लगाएको छ। आफ्नो देशबाट जान नपाउने भएपछि उनीहरुमध्ये धेरैजसो भारतको बाटो भएर त्यहाँ पुगे। कतिपय अन्य भिसाबाट घरेलु काममा गए। उनीहरुको अभिलेख न नेपालमा रह्यो, न त गन्तव्य देशमा नै।

घर बिदामा आएर फेरि काममा फर्किन नपाउने भएपछि भिसाको म्याद सकिँदा पनि उनीहरु उतै बसे। जसका कारण कागजातविहीन महिलाको संख्या दिनदिनै थपिँदै गयो। तर, सरकारले वैधानिक रुपमा जान पाउने बाटो खुल्ला गरेन।

कोरोनाको जोखिम बढ्दै गएपछि कुवेत सरकारले त्यहाँ अवैध रुपमा बसिरहेका (कागजातविहीन) हरुलाई आफ्नो देश फर्किन आवेदन गर्न भन्यो। यतिबेला आवेदन दिए दण्ड जरिवाना नलाग्ने गरी। विदेशबाट श्रमिक ल्याउने देशहरुले बेलाबेला यो व्यवस्था कार्यान्वयनमा ल्याउँछन् र तिनलाई आफ्नो घर फर्किने बाटो खोलिदिन्छन्।

पासपोर्ट नभएपनि यस्तो अवस्थामा उनीहरु आफ्नो देशको दूतावासबाट ट्राभल डकुमेन्ट लिएर फर्किन सक्छन्। कुवेत सरकारले २ हजार ९ सय ९१ जनालाई आममाफी दिएको थियो। यी मध्ये झण्डै आधा महिला छन्।

कोरोना संक्रमण बढ्दै गएपछि कुवेतले उनीहरुलाई नेपाल ल्याइदिने प्रस्ताव नेपाल सरकारसँग राख्यो। तर, सरकारले त्यो प्रस्ताव तत्काल स्वीकार गरेन। आफ्नै देशको सरकारले तत्काल लिन नमान्दा नेपाली महिलाहरु लामो समय कुवेतका घरफिर्ती केन्द्रमा बस्न बाध्य भए।

त्यसैले आफ्नै देशबाट रोजगारीमा जान पनि नदिएको र समस्यामा परेको बेला घर फर्किन पनि नदिएको गुनासो उनीहरुको छ।

उनीहरु विभिन्न समयमा घरफिर्ती केन्द्रमा पुगेका थिए। केन्द्रमा लामो समय बसिरहँदा पनि कुवेतस्थित नेपाली राजदूतावासले आफूहरुको कुनै वास्ता नगरेको फर्केका नेपालीहरुले बताए।

‘हाम्रो दूतावास त्यहाँ गइदिएको भए, चासो दिएको भए हामीलाई हेर्ने नजर नै अर्कै हुन्थ्यो,’ एक महिलाले भनिन्, ‘अरु देशका दूतावास जान्थे त, हाम्रो चाहिँ के भाको?’

दूतावासकै रवैयाका कारण आफूहरुले अपमान बेहोर्नुपरेको सिन्धुपाल्चोककी ती महिलाले बताइन्।

‘दूतावासले चासो दिएकै कारण अरु देशका श्रमिकलाई घरफिर्ती केन्द्रमा पनि छुट्टै सम्मान थियो, नेपाली भन्नासाथ हेर्ने नजर नै अर्कै। तर, हामीलाई हेर्न कोही आएन,’ उनले भनिन्।

श्रमविज्ञ सरु जोशी पनि उनीहरुको गुनासो सही भएको बताउँछिन्।

‘जसको अभिलेख आफ्नो देशको सरकारले समेत राख्दैन, वैधानिक अधिकार समेत रहँदैन, उनीहरुलाई आममाफी दिएर घर ल्याइदिएको छ, त्यसैले कुवेत सरकारलाई धन्यवाद दिनुपर्छ,’ जोशीले भनिन्।

अरुको भन्दा फरक छ, आममाफी पाएर फर्किनेहरुको हैसियत। नेपालमा उनीहरुले क्षतिपूर्तिका लागि दाबी गर्ने पाउँदैनन्। कल्याणकारी कोषमा १५ सय रुपैयाँ जम्मा नगर्दा राज्यले कुनै सहयोग गर्दैन।

चार वर्षअघि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदार पठाउन प्रतिबन्ध लगाउने निर्णय गर्‍यो। घरेलु कामदारका रुपमा गएकाहरु विदेशमा हिंसाको सिकार बन्ने देखिएपछि यस्तो निर्णय गरिएको थियो।

तर यसले नेपाली महिलाहरुलाई घरेलु कामदारका रुपमा खाडी मुलुक जान रोकेन। वैधानिक बाटो बन्द भएपछि उनी अवैध बाटोबाट जान थाले। जसले गर्दा उनीहरुलाई परदेश र स्वदेश दुवैमा अप्ठेरो हुन थालेको छ।

कुवेत सरकारले माफी नदिएको भए उनीहरु घर फर्किन समेत पाउँदैनथे। यहाँ आइसकेपछि पनि उनीहरुलाई सजिलो छैन।

‘फर्किएका महिलाहरुलाई समाजमा स्थापित हुन गाह्रो छ। पुनर्स्थापनाको जिम्मा सरकारले लिनुपर्छ,’ विज्ञ जोशी भन्छिन्, ‘नभए उनीहरुले फेरि उतै फर्किन सक्छन्।’

फर्किएका धेरै महिलाले विमानस्थलमा यही मनसाय स्पष्ट पारे।

बसको झ्यालनेर बसेकी एक महिलालाई टेलिभिजनकी एक पत्रकारले सोधिन्, ‘कुवेतबाट फर्किन पाउनु भएको छ, कस्तो लागिरहेको छ आफ्नो देश आउन पाउँदा?’

‘कस्तो पनि लागेको छैन बहिनी,’ ती महिलाको जवाफ थियो, ‘कोरोना ठिक भएपछि फेरि उतै जाने हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .