ad ad

राजनीति


अमेरिकी प्रतिवेदन भन्छ : नेपालमा तिब्बतीहरुको स्वतन्त्रता खुम्चियो, धर्म परिवर्तनसम्बन्धी कानुनले अप्ठेरो

अमेरिकी प्रतिवेदन भन्छ : नेपालमा तिब्बतीहरुको स्वतन्त्रता खुम्चियो, धर्म परिवर्तनसम्बन्धी कानुनले अप्ठेरो

नेपालखबर
जेठ २९, २०७७ बिहिबार १४:३४,

काठमाडौंमा रहेका तिब्बतीहरुले धर्मगुरु दलाई लामाको जन्मोत्सव समेत स्वतन्त्ररुपमा मनाउन नपाएको भनी अमेरिकामा चासो व्यक्त गरिएको छ।

अमेरिकाको विदेश मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता कार्यालयद्वारा वर्षेनी प्रकाशित गर्ने इन्टरनेशनल रेलिजियस फ्रिडम रिपोर्टमा सो कुरा उल्लेख गरिएको हाे।

सरकारले जुलाई ६ मा पर्ने दलाई लामाको जन्मोत्सव मनाउने तिब्बतीहरुमाथि थप कडाई गर्दै लगेको सो प्रतिवेदनमा उल्लेख छ। त्यस्ता धार्मिक गतिबिधिमा पनि चीन बिरोधी गतिबिधि हुने गरेको भन्दै कडाई गरिएको प्रतिवेदनमा बताइएको छ।

प्रशासनले सो जन्मोत्सव मनाउन अनुमति दिए पनि प्रहरीले भने गृह मन्त्रालयको आदेशमा तिब्बतीहरुलाई बन्द ठाउँमा कार्यक्रम गर्दा पनि पक्राउ गर्ने चेतावनी दिइएको आरोप लगाइएको छ।

तिब्बतीहरुले उनीहरुको नयाँ वर्ष लगायत साँस्कृतिक कार्यक्रम पनि खुला रुपमा गर्न नपाएको प्रतिवेदनले बताएको छ।

‘तिब्बती वुद्धिष्ट व्यापारीहरुले प्रहरीले आफूहरुलाई धार्मिक र सामाजिक आबद्धताबारे अनावश्यक सोधखोज गर्ने गरेको बताए,’ सो प्रतिवेदनमा उल्लेख छ।

त्यसै गरी सो प्रतिवेदनमा नेपालमा धर्म परिवर्तनलाई संविधान र कानुनमा प्रतिबन्ध लगाउँदा धार्मिक अल्पसंख्यकहरुका धेरै गतिबिधिमा अप्ठेरो परेको बताइएको छ।

त्यसले गर्दा धार्मिक समूहहरुले आफ्ना नियमित गतिबिधि पनि गर्न नपाउने जोखिम बढेको बताइएको छ।

‘यी अल्पसंख्यक समूहले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकारअनुसार धार्मिक प्रवचन, आफ्नो आस्थाको सार्वजनिक प्रस्तुति, धार्मिक सामग्रीको वितरण गर्न पाउने अधिकार समेत जोखिममा छ,’ प्रतिवेदनमा भनिएको छ।

धार्मिक प्रचारमा रहेका कैयौं व्यक्तिहरु धार्मिक सामग्री तथा उपहार बितरण गर्ने क्रममा पक्राउ परेको पनि सो प्रतिवेदनमा उल्लेख छ।

सो प्रतिवेदनमा गाई मारेको आरोपमा पुलिसले बिभिन्न ठाउँमा २३ जना व्यक्तिलाई पक्राउ गरेको विवरण समेत दिइएको छ।

‘राजदूत, दूतावासका अधिकार र अन्य अमेरिकी सरकारी प्रतिनिधिले नेपालका उच्च सरकारी अधिकारी र राजनीतिक नेताहरुसँग धर्म परिवर्तन गर्न पाउने अधिकारमा संविधान र फौजदारी संहिताका कारण धार्मिक स्वतन्त्रतामा लगाइएको बन्देजबारे निरन्तर चिन्ता व्यक्त गरिएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

त्यसका लागि दूतावासका अधिकारीहरुले कानुनी तथा मानव अधिकारका अभियन्तासँग सहकार्य गरी धर्मपरिवर्तनमा बन्देज लगाउने ती कानुनबाट कसरी अमेरिकी नागरिकहरुलाई जोगाउने भनी सहकार्य गरिएको प्रतिवेदनमा उल्लेख छ।

दूतावासका अधिकारी र नेपाल भ्रमणमा आउने वरिष्ठ अमेरिकी अधिकारीहरुले पनि तिब्बती लगायतका विषयमा निरन्तर कुरा उठाइरहेको बताइएको छ।

प्रतिवेदनका अनुसार अमेरिकी दूतावासले यहाँ रहेका बौद्ध स्तुपा, गुम्बा र हिन्दु मन्दिर लगायत बिभिन्न धार्मिक क्षेत्रहरुको संरक्षण आदिका लागि आर्थिक सहयोग दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .