ad ad

समाज


सस्तैमा पाइने औषधिले कोरोना उपचार हुनसक्ने निष्कर्ष, विज्ञहरु भन्छन्– यो ठूलो उपलब्धी

सस्तैमा पाइने औषधिले कोरोना उपचार हुनसक्ने निष्कर्ष, विज्ञहरु भन्छन्– यो ठूलो उपलब्धी

नेपालखबर
असार २, २०७७ मंगलबार १५:४३,

कोरोनाबाट सिकिस्त बिरामीको ज्यान बचाउन सक्ने सस्तो र सर्वत्र उपलब्ध हुनसक्ने औषधि पत्तालागेको छ।

न्यून मात्रामा दिइने डेक्सामेथासोनलाई बेलायतका विशेषज्ञहरुले कोरोना उपचारमा ठूलो उपलब्धी भएकाे बताएका छन्।

यसले भेन्टिलेटरमा रहेका बिरामीमध्ये एक तिहाईको मृत्यु जोखिम कम गर्ने र अक्सिजन लिइरहेका बिरामीमा पाँचमध्ये एक जनाको जोखिम कम गर्ने बताइएको छ।

बेलायतले कोरोना महामारी सुरु भए देखि नै यो औषधि प्रयोग गरेको भए ५ हजार जति मानिसको ज्यान जोगाउँथ्याे भनी अनुसन्धाताहरुले दाबी गरेका छन्।

यो औषधी कोभिड–१९ का बिरामी धेरै भएका गरीब मुलुकहरुका लागि पनि निकै सहयोगी हुनसक्ने उनीहरुले बताएका छन्।

अहिलेसम्मको अध्ययनअनुसार कोरोनाबाट संक्रमित हुने २० मध्ये १९ जना अस्पताल नगई निको भएका छन्। अस्पताल भर्ना भएका मध्ये केहिलाई उपचारका क्रममा अक्सिजन वा मेकानिकल भन्टिलेटर आवश्यक पर्छ।

उच्चजोखिममा हुने यस्ता बिरामीलाई डेक्सामेथासोनले उपचारमा काम गरेको पाइयो।

अक्सफोर्ड विश्वविद्यालयको टोलीले गरेको परीक्षणका क्रममा अस्पतालमा भर्ना गरिएका २ हजार बिरामीलाई डेक्सामेथासोन दिएर अरु ४ हजारभन्दा बढि बिरामीसँग तुलना गरिएको थियो।

त्यसो गर्दा भेन्टिलेटरमा भएका बिरामीलाई सो औषधीले ४० प्रतिशतदेखि २८ प्रतिशत मृत्युको जोखिम कम गरेको र अक्सिजन लिएका बिरामीलाई २५ प्रतिशतदेखि २० प्रतिशतसम्म मृत्यु जोखिम कम गरेको बताइएको छ।

मुख्य अनुसन्धानकर्ता प्रोफेसर पिटर हर्बीले भने, ‘अहिलेसम्म मृत्युदर कम गरेको देखाएको यो मात्र एउटा औषधि हो। यसले उल्लेख्य रुपमा कम गरेको देखियो। यो ठूलो उपलब्धी हो।’
अर्का मुख्य अनुसन्धाता प्रोफेसन मार्टिन ल्यान्ड्रीले सो औषधीका कारण भेन्टिलेटरमा उपचार गराएका ८ जनामध्ये एकजनाको ज्यान बचाउन सकिएको निष्कर्ष बताए।

‘यसले एकदम प्रष्ट उपलब्धी देखिएको छ। यो उपचारका लागि १० दिन लाग्छ र प्रति बिरामी ५ पाउण्ड लाग्छ। यस हिसाबले एकजनाको ज्यान बचाउन ३५ पाउण्ड खर्च हुन्छ र यो औषधि विश्वभर उपलब्ध छ,’ उनले भने।

ल्यान्ड्रीले अस्पतालमा भर्ना भएका बिरामीलाई उपयुक्त रुपमा यो औषधि तत्काल दिँदा हुन्छ तर मानिसहरु आफै किनेर घर लगेर प्रयोग गर्न चाहिँ हुँदैन।

तर यो औषधिले सामान्य (माइल्ड) लक्षण देखिएका बिरामीमा भने काम गर्दैन। स्वाशप्रश्वासमै समस्या देखिएकोमा मात्र यसले राम्रो काम गर्छ।

विश्वभरी नै उपलब्ध हुनसक्ने औषधि भएको हुँदा यो खुशियाली नै मनाउनु पर्ने ठूलो उपलब्धी भएको विज्ञहरुको भनाई छ।

डेक्सामेथासोनसन् १९६० को दशकदेखि नै दम, जोर्नी दुख्ने लगायत बिरामीलाई प्रयोग गर्दै आइएको औषधि हो।

-बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .