ad ad

समाज


वैदेशिक रोजगारी खुलाउने मापदण्ड बनाउँदै श्रम मन्त्रालय, रोजगारदाताको राय माग

वैदेशिक रोजगारी खुलाउने मापदण्ड बनाउँदै श्रम मन्त्रालय, रोजगारदाताको राय माग

उजिर कार्की
असार ७, २०७७ आइतबार १४:१,

विदेशमा रहेका ५० हजार नागरिक अलपत्र परेर फर्किन लागिरहेका बेला सरकारले भने तिनै देशमा तत्कालै श्रमिक पठाउने प्रक्रिया थालेको छ।

शुक्रबार बसेको कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी) ले यसका लागि तत्काल प्रक्रिया अगाडि बढाउन श्रम मन्त्रालयलाई अनुमति दिएको छ।

समितिबाट अनुमति पाएपछि के कसरी खुल्ला गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको र विदेशस्थित कुटनीतिक नियोगको राय माग गरिएको श्रम मन्त्रालयका वैदेशिक रोजगार महाशाखा प्रमुख सहसचिव उमेश ढुंगानाले नेपालखबरलाई बताए।

‘परराष्ट्र मन्त्रालयलाई पत्र पठाइसकेका छौं। ती देशले नेपाली कामदार अहिले लिन्छन् कि लिँदैनन्? लिने भए के कसरी लिन्छन? त्यो बुझ्न भनेका छौं,’ उनले भने।
सीसीएमसीले अनुमति दिनु पहिले नै श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई गन्तव्य देशको राय माग गरेको थियो।

श्रम मन्त्रालयको पत्रपछि सबै कुटनीतिक नियोगलाई नेपाली कामदार लिने अवस्था बुझेर जवाफ पठाउन पत्र पठाइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

फागुन २८ गतेदेखि विभागले श्रम स्वीकृति बन्द गरेको थियो। अकस्मात बन्द भएपछि करिव ४० हजार श्रमिक अन्तिम स्वीकृति लिएर पनि सम्बन्धित देश जान नपाएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले बताए।

uae manmar7

नेपालले कोरोना संक्रमणको जोखिम बढेको भन्दै ती देशमा नेपाली पठाउन रोक लगाएको थियो। त्यसको केही दिनमै अन्तर्राष्ट्रिय उडान पूर्णरुपमा बन्द भएको थियो।

अहिले नेपालले सम्बन्धित मुलुकसँग समन्वयात्मक रुपमा खुल्ला गर्ने भनेपनि रोजगारदाता मुलुकले खुल्ला नगरेमा पठाउन संभव नभएकाले ती देशको अवस्था बुझ्न थालिएको हो।
ती देशको श्रमिक लिने नलिने अहिलेको नीतिबारे प्रस्ट भएपछि नेपालले श्रमिक पठाउनेबारे आधिकारिक निर्णय गर्नेछ।

यसका लागि श्रम मन्त्रालयले आइतबारबाटै मातहतका निकायसँग छलफल थालेको छ। उच्चस्तरीय समितिले बन्द गर्ने निर्णय गरेपनि खुल्ला गर्ने विषयमा भने श्रम मन्त्रालयलाई अधिकार दिइएको छ।

सीसीएमसीको निर्णयमा बिदामा आएका र नयाँ जाने श्रमिकलाई आवतजावत गर्न अनुमति दिने उल्लेख छ।

तर श्रमिकको लागि श्रम मन्त्रालय र विद्यार्थीको हकमा शिक्षा मन्त्रालयको सिफारिस आवश्यक पर्ने भनिएको छ।

समितिको निर्णयपछि दुवै मन्त्रालयले आवश्यक तयारी थालेका छन्।

तत्काल बिदामा आएका श्रमिकलाई मात्रै पठाउन सकिने अवस्था रहेको श्रम मन्त्रालय स्रोतले बतायो।

‘हामी पहिले ती देशले नेपाली श्रमिक तत्कालै लिन्छन् कि लिँदैनन् त्यो बुझ्छौं, यता पनि जिल्लाबाट काठमाडौं आउन, बस्न र अरु प्रक्रियाका लागि पनि समस्या छ। ती विषयमा छलफल गर्छौं,’ मन्त्रालयका उच्च अधिकारीले भने, ‘यदि नेपाली श्रमिक तत्कालै लान तयार भए भने बिदामा आएकालाई पठाउन सकिन्छ भन्ने हाम्रो आकलन हो।’

यहाँबाट पठाएर विदेशमा फेरि अलपत्र हुने छैनन् भन्ने अवस्था भएमात्रै श्रम मन्त्रालयले श्रमिक पठाउने निर्णय लिने उनले बताए।

नयाँ श्रमिक पठाउन भने स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम लगायत प्रक्रियामा पनि सहज छैन।

संघका अध्यक्ष गैरेले सरकारको निर्णय स्वागतयोग्य भएपनि श्रमिकको सुरक्षा र रोजगारदाताले पनि सुरक्षाको सुनिश्चित गर्नुपर्ने बताए।

‘अब खुलाउने निर्णय गरिएको छ, श्रमिकको स्वास्थ्यलाई मध्यनजर गर्दै बिस्तारै पुर्वस्वीकृति पनि खुलाउँदै जानुपर्छ, व्यवसायीको पूर्ण साथ रहन्छ,’ गैरेले भने।

यता बिदेशबाट उद्धार सुरु गर्ने सरकारको निर्णयपछि शनिबारसम्ममा ४ हजार २ सय १७ जना नेपाली फर्किसकेका छन्।

१२ देशबाट ३२ वटा उडानमा सो संख्यामा नेपाली फर्किएको कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी) ले जनाएको छ।

हालसम्म मलेसिया, बंगलादेश, थाइल्याण्ड, सिंगापुर, कुवेत, साउदी अरेविया, ओमान, यूएई, कतार, माल्दिभ्स, दक्षिण कोरिया र जापानबाट नेपाली फर्किएका छन्।
विदेशबाट फर्किएका ४ हजार २ सय १७ नेपालीमध्ये प्रदेशले तयार गरेका क्वारेन्टिनमा २ हजार ७ सय ४२ जना पठाइएको छ।

आफ्नै खर्चमा होटलमा बस्ने ३१३ जना छन्। ४९७ जना होम क्वारेन्टिनमा र ६३६ जनालाई स्थानीय तहले बनाएका क्वारेन्टिनमा राखिएको छ।

विदेशबाट आएका २९ जना अस्पताल भर्ना भएका छन्।

यहि बीचमा शनिबारसम्ममा विदेशबाट ४१ शव नेपाल ल्याइसकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .