धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग खाेलाले बगाएको छ। साेमबार राति आएको बाढी बीचमा पाँच मजदुर फसेका छन्।
तीन दिनदेखिको वर्षाका कारण साेमबार राति खोलामा आएको बाढीले उद्योग बगाएको उद्योगका सूचना अधिकारी तुलसीजंग थापाले बताए।
ताल्तीस्थित खोलालाई नियन्त्रण गरी सिमेन्ट उद्योगको निर्माण थालिएको थियो।
रातिको समयमा आएको बाढीका कारण पाँच जना मजदुर बाढीमै फसेका हुन्। दुवैतर्फ खोला बगेकाले बीच भागमा रहेको फलामका पोलमा समातेर उनीहरु बसिरहेका छन्।
खोलामा फसेका मजदूरको उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरीबाट गएको टोली अझै घटना स्थानमा पुग्न सकेको छैन।
ताल्ती जाने बाटो मलेखु नजिकै सोही खोलाले बगाएपछि उद्धारकर्मी रोकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
रातभरि परेको वर्षाका कारण खोलामा फसेका मजदूरको स्थानीयवासी र ताल्तीमा रहेको प्रहरी टोलीले उद्धारको प्रयास गरिरहेका छन्।
निर्माण भएका केही संरचना बाढीले बगाएको छ। क्षतिको आँकलन गर्न सकिएको छैन । मानविय क्षति भएको छैन।
१५ अर्बको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले सो उद्योग निर्माण शुरु गरेको चार महीना भएको छ। नौ महीनामा निर्माण सम्पन्न गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण सुरु भएको हो।
प्रतिक्रिया