दाङमा जंगली च्याउ खाँदा १४ जना बिरामी परेका छन्। प्रदेश नं ५ प्रहरी कार्यालय दाङका अनुसार जंगलबाट ल्याएको च्याउ खाँदा गए राति ८ बजेदेखि उनीहरु बिरामी परेका हुन्।
प्रदेश नं ५ प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं ५ रानीजरुवा निवासी ३५ वर्षीया विमला विक, उनकी ११ वर्षीया छोरी र १० वर्षीय छोरा, सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं ३ निवासी १७ वर्षीया किशोरी, तुलसीपुर ५ निवासी ३६ वर्षीय टेकबहादुर पुन, ३३ वर्षीय कमला पुन र उनका १९ वर्षीय छोरा टोपेन्द्र बिरामी परेका छन् ।
त्यस्तै तुलसीपुर ५ निवासी चीनबहादुर रानाका नौ वर्षीया छोरी र पाँच वर्षीय छोरा, ओसो घर्ती मगरकी १८ वर्षीया छोरी निर्मला, २४ वर्षीय खिमा पुन, १५ वर्षीया एक बालिका, ३५ वर्षीया विपना घर्ती र कमानसिंह पुनकी १० वर्षीया छोरी बिरामी परेका छन्। उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।
यसैबीच दाङमा एक चित्तल मृत फेला परेको छ। लमही नगरपालिका वडा नं ७ हसनापुरमा विहीबार राति ११ बजे नवशान्ति सामुदायिक वनमा उक्त चित्तल मृत फेला परेको डिभिजन वन कार्यालय दाङ, देउखुरीका प्रमुख प्रवीण बिडारीले बताए।
वनको टोली गस्ती गएका बेला मुख र कानमा चोट लागेका अवस्थामा करीब ४५ किलोको गर्भावस्थाको चित्तल मृतावस्थामा फेला परेको उनले बताए। मृत चित्तल परीक्षणका लागि रिहार पशु केन्द्रमा लगिएको छ। रासस
प्रतिक्रिया