ad ad

समाज


इन्सपेक्टर लागुऔषध ओसार्ने, पूर्वपाइलट खरिद गर्ने

इन्सपेक्टर लागुऔषध ओसार्ने, पूर्वपाइलट खरिद गर्ने

उजिर कार्की
असार १२, २०७७ शुक्रबार ११:२९,

कवि भूपी शेरचनका छोरा पाइलट भूपेश लागुऔषध कारोबारको मुद्दामा पक्राउ परेका छन्। प्रहरीले बुधबार पेप्सीकोलाबाट ४ जना पक्राउ गरेकोमा उनी पनि परेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

शेरचन नेपाल एयरलाइन्सका पूर्वपाइलट समेत हुन्। ७ वर्ष राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स चलाएका उनले पछि जागिर छाडेका थिए।

जागिर छाडेपछि लागुऔषध सेवनमा लागेका उनलाई प्रहरीले रंगेहात फेला पारेको हो। पेप्सीकोलामा उनी साथीसँगै लागुऔषध खरिद गर्न पुगेका थिए।

काठमाडौंको नक्सालका भूपेश शेरचन र ज्ञानेश्वरका अविनास थपलियासँगै त्यहाँ पुगेका थिए। उनीहरुको साथबाट मनोद्दिपक लागुऔषध ६६० बोतल, नाइट्राभेट ११४० ट्याब्लेट, स्पास्मो प्रोक्स्भिोन क्याप्सुल ३३० थान र एक लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।

भूपेशले सात वर्ष नेपाल एयरलाइन्सको जहाज चलाएर जागिर छाडेको बताएका छन्। ब्युरोले यसबारे आधिकारीक जानकारी नेपाल एयरलाइन्ससँग माग गरिसकेको छ।

‘स्वास्थ्यले साथ नदिएर र परिवारले पनि अब यो काम छाडिदिनू, आफ्नो मात्रै होइन अरुको पनि स्वास्थ्यको सवाल छ’ भनेपछि जागिर छाडेको बयान उनले दिएका छन्। प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ।

सोही लागुऔषध डिलरका सञ्चालक सन्तोष शाह र उदयपुरको त्रियुगा नगरपालिका ११ बोक्सेका एलिसन बस्नेत पनि पक्राउ परेका छन्।

यसरी परे फन्दामा
काठमाडौंको पेप्सीकोला स्थित एउटा कोठा तीनवर्षदेखि लागुऔषध नियन्त्रण ब्युरोको निगरानीमा थियो। सन्तोष शाहको डेरा निगरानी गरिरहेका थिए लागू औषधको मुद्दा खेपेर छुटेकाहरुले नै।

उनीहरुले त्यहाँका हरेक गतिविधि प्रहरीलाई सुनाउँथे। तर लामो समयदेखि निगरानीमा परेका शाहलाई प्रहरीले तत्काल पक्राउ गरेन। कारण थियो, उनी पहिले पनि लागुऔषध कारोबारकै मुद्दामा पक्राउ परिसकेका थिए। उनको साथमा थोरै मात्रामा लागुऔषध फेला परेकाले उनलाई अदालतले २०७३ सालमा ३५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दियो।

अदालतबाट छुटे पनि शाह प्रहरी निगरानीमै थिए। र उनले पहिलेको व्यवसाय छाडेका थिएनन्। लकडाउनको बीचमा पनि उनकोमा चहलपहल भइरहेको थियो। प्रहरी भने ठूलो परिणाममा लागुऔषध कहिले भित्रिन्छ भनेर पर्खिरहेको थियो।

बुधबार बिहान शाहको कोठामा लागुऔषध भित्रिएको सूचना आयो। दिउँसो प्रहरी सुराकी लिएर त्यहाँ पुग्यो, जहाँ ठूलो परिणाममा लागुऔषध फेला प¥यो। खरिद गर्न आएका ३ जना र कारोबारी पनि भेटिए। त्यसैबेलामा फन्दामा परे शेरचनसहितका तीन जना पनि।

इन्सपेक्टरले ल्याउँथे बोर्डरबाट
लागुऔषधको कारोबारमा मुद्दा परेर पनि धरौटीमा छुटेका सन्तोष त्यसपछि झन ढुक्क थिए। किनकि, उनको साथमा प्रहरी निरीक्षक (इन्सपेक्टर) पनि थिए। प्रहरी परिसर ललितपुरमा कार्यरत रुद्रबहादुर शाही उनको साथमा थिए।

जसले सन्तोषलाई कारोबारमा दरिलो साथ दिएका थिए। भारतीय सीमाबाट काठमाडौंसम्म लागुऔषध ल्याउन सन्तोषले उनलाई नै भन्थे। कहिले रुद्र आफैं पुग्थे, कहिले फोनबाटै कुरा मिलाउँथे।

बुधबार सन्तोष पक्राउ परेपछि उनको मोबाइल प्रहरीले अनुसन्धान ग¥यो। रुद्र र सन्तोषको बाक्लै सम्पर्क देखियो। अनुसन्धानमा संलग्न ब्युरोका प्रहरी भन्छन्, ‘त्यसपछि थप सोधीखोजी गर्‍यौं, प्रहरी निरीक्षकको लागुऔषध सेवनको भिडियो नै फेला प¥यो।’

बिहीबार ब्युरोले निरीक्षक शाहीलाई पनि नियन्त्रणमा लियो। आफूले पहिलेदेखि नै लागुऔषध सेवन गर्ने गरेको उनले बताए।

‘लागुऔषध कारोबारबाट उनले अरु के के लाभ लिन्थे त्यो खुल्दै जाला, अहिलेसम्म उनले ओसारपसारमा सहयोग गर्ने गरेको पाइएको छ, कहिले सन्तोषको गाडीमा, कहिले आफ्नै गाडीमा आउजाउ गर्ने गरेको पाइएको छ,’ ब्युरो स्रोतले भन्यो।

बर्दियाको ठाकुरबाबा नगरपालिका ३ का सन्तोष र नेपालगन्ज उपमहानगरपालिका ५ का रुद्रको बीचमा पुरानै सम्बन्ध रहेको खुलेको छ।

बिहीबार पक्राउ परेका उनको साथमा १०० एमएलका डाइलेक्स डीसी ७ बोतल र नाइट्राभेट ४६ ट्याब्लेट फेला परेको ब्युरोले जनाएको छ।

चालू आर्थिक वर्षको जेठसम्ममा लागुऔषधको मुद्दामा ४ हजार २ सय ५९ जना पक्राउ परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .