ad ad

समाज


अपराधमा प्रहरीकै संलग्नता बढ्दो, ३८४ को गयो जागिर, हजारलाई कारबाही

अपराधमा प्रहरीकै संलग्नता बढ्दो, ३८४ को गयो जागिर, हजारलाई कारबाही

उजिर कार्की
असार १८, २०७७ बिहिबार १४:२१,

‘देशमा अब अपराध बढ्छ,’ लकडाउनकै बीचमा डीआईजी विश्वराज पोख्रेलले नेपालखबरसँग भनेका थिए।

उपत्यका प्रहरी प्रमुख समेत रहेका पोख्रेलको तर्क थियो, ‘लकडाउनका कारण मान्छेहरु बेरोजगार भएका छन्, उनीहरुका समस्या बढ्छन् विकल्पको रुपमा आपराधिक गतिविधिमा संलग्न हुन्छन्।’

लकडाउन खुकुलो भएपनि पूरै हटिसकेको छैन। देश लकडाउनमा गएको सय दिन पूरा भइसकेको छ। लकडाउनको समयमा समग्र आपराधिक घटनामा कमी आएको प्रहरीको तथ्यांक छ। तर यसबीचमा अपराधमा प्रहरीको संलग्नता भने बढिरहेको देखिन्छ।

प्रहरी अधिकृत र जवानहरु एकपछि अर्को गर्दै अपराधमा संलग्न भेटिएका छन्। कोही अख्तियार त कोही आफ्नै संगठनको फन्दामा परेका छन्।

दुई दिनअघि मात्रै जिल्ला प्रहरी कार्यालय उदयपुर दरबन्दी भई मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक सीताराम घिमिरे पक्राउ परे। होटल व्यवसाय सञ्चालनमा सहजीकरण गरिदिने भन्दै उनले ४ हजार रुपैयाँ घुस लिएको अख्तियारले फेला पार्‍यो। घिमिरेविरुद्ध भ्रष्टाचार निवारण ऐन अन्तरगत मुद्दा चलाइएको छ।

त्यसअघि चीनको सीमाबाट तस्करीमार्फत भित्रिएको सुन लुटेको आरोपमा रसुवाको सीमा प्रहरी चौकी टिमुरेका तत्कालीन प्रमुख खेमराज नेपालसहित १६ जना प्रहरीलाई पक्राउ गरी केही दिनअघि विशेष अदालतमा मुद्दा दर्ता गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की, पर्साको अस्थायी प्रहरी पोस्ट, इनर्वागाउँका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङसहित ५ जना पनि घुसकै आरोपमा अख्तियारको फन्दामा परे।

जघन्य अपराधको आरोपमा आफ्नै संगठनको फन्दामा पर्ने प्रहरीको संख्या पनि ठूलो छ।

गत साता बुधबार लागूऔषध नियन्त्रण ब्युरोले प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्र शाहीलाई पक्राउ गर्‍यो। लागूऔषध कारोबारीसँग मिलेर शाहीले भारतीय नाकाबाट लागूऔषध ल्याउने गरेको ब्युरोको दाबी छ।

गत आइतबार साँझ राजधानीको व्यस्त बजार न्युरोडमा एकजना भारतीय व्यापारी लुटिए। त्यसको दुई दिनपछि सो लुटपाटमा प्रहरीकै संलग्नता पुष्टि भयो।

प्रहरी परिसर काठमाडौंमा कार्यरत हवल्दार धीरेन्द्र विष्ट र जवान विक्रमकुमार चन्दलाई अपराध महाशाखाले पक्राउ गर्‍यो।

गत वैशाख ५ गते ३ जना प्रहरीलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठायो। उनीहरुले मकवानपुरको कैलाश गाउँपालिकाको एक घरबाट हिरा लुटपाट गरेका थिए। चैत ९ गते हिरा लुटेर काठमाडौंतर्फ भागेका उनीहरु बाटैमा प्रहरीको फन्दामा परे।

यस्ता आपराधिक घटनामा संलग्न रहेको अभियोग लाग्नासाथ प्रहरीले उनीहरुलाई निलम्बन गर्ने गरेको छ। आरोप पुष्टि भए उनीहरुलाई बर्खास्त गरिन्छ र मुद्दा चलाइन्छ।

प्रहरी नै अपराधमा किन संलग्न हुन्छन् त?

पूर्वडीआईजी रमेश खरेल भन्छन्, ‘राज्यले जता डोहोर्‍याउँछ प्रहरी पनि त्यतै दौडिन्छ।’

आफ्नो नेतृत्व हेर्ने र नेतृत्वले इमान्दारिताका साथ काम नगरे यस्ता विकृति बढ्दै जाने खरेलले बताए।

‘राज्य नै अहिले गिरोहले चलाएका छन्, सिन्डिकेटले चलेको छ, भ्रष्टाचारी, दलाल हाबी छन्, प्रहरीले पनि त्यही सिकिहाल्छ नि,’ खरेल भन्छन्, ‘सदाचारी र पारदर्शी सरकार भएको भए प्रहरीले त्यो आँटै गर्न सक्दैनन्।’

पछिल्लो समय आपराधिक गतिविधिमा प्रहरीको संलग्नता बढ्दै गएको प्रधान कार्यालयको तथ्यांकले पनि पुष्टि गर्छ। गत आर्थिक वर्ष २०७५/०७६ मा २ सय ५६ जना प्रहरी जागिरबाट निकालिएका थिए।

यस वर्ष अघिल्लो सालभन्दा १ सय २८ जना बढी अर्थात ३ सय ८४ जना प्रहरी जागिरबाट निकालिएका छन्। त्यसमध्ये ७ जना भने भविष्यमा सरकारी जागिरका लागि आयोग्य हुनेगरी बर्खास्तीमा परेका छन्। यो संख्या बढ्ने देखिन्छ। किनभने पछिल्ला केही दिनमा पनि यस्ता अपराधमा संलग्न देखिएका छन्।

जागिरबाट हटाइएकामा २ जना डीएसपी, एक जना इन्सपेक्टर, १० जना सई र १९ जना असई छन्।

गत वर्षभन्दा यसवर्ष विभागीय कारबाही भने कमलाई भएको छ। गत वर्ष १ हजार ५ सय ४४ जनालाई विभागीय कारबाही भएको थियो। यस वर्ष सो संख्या १ हजार ५९ छ।

यसवर्ष ७ सय ८६ जना प्रहरीलाई चेतावनी (नसिहत) दिइएको छ। यस वर्ष एसपीभन्दा माथिल्लो तहका अधिकारी कारबाहीमा परेका छैनन्।

१ सय ४९ जनाको ग्रेड रोक्का भएको छ। ११ जनालाई प्रतिकूल राय दिइएको छ, २७ जनाको ग्रेड घटुवा गरिएको छ।

पदोन्नति रोक्कामा एक डीएसपीसहित ८६ जना परेका छन्। तर यो वर्ष कुनै पनि प्रहरीको घटुवा भएको छैन।

यो पनि: 

प्रहरी भन्छ: अब लकडाउन लम्बिए अपराध बढ्छ

लुट्ने प्रहरी, प्रमाण जुटाउने व्यापारी 

इन्सपेक्टर लागुऔषध ओसार्ने, पूर्वपाइलट खरिद गर्ने 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .