ad ad

समाज


विद्यालयको जग्गाबाट स्वीकृतिबिना ग्राभेल उत्खनन गर्नेलाई उन्मुक्ति

विद्यालयको जग्गाबाट स्वीकृतिबिना ग्राभेल उत्खनन गर्नेलाई उन्मुक्ति

शैलेन्द्र महतो
असार २२, २०७७ सोमबार १५:१५,

सामुदायिक विद्यालयको जग्गाबाट अनुमति नलिएरै लाखौं रुपैयाँ बराबरको ग्राभेल उत्खनन गरेको आरोपमा जेसीबीसहित पक्राउ परेका चालक र सहचालकलाई प्रहरीले कारबाही नै नगरी छाडेको छ।

धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानी स्थित श्री माध्यमिक प्राविधिक विद्यालय मूलाबारीको जग्गाबाट ग्राभेल चोरेको आरोमा पक्राउ परेका चालक र सहचालकलाई ईलाका प्रहरी कार्यालय ढल्केबरले कारबाही प्रक्रिया नै अघि नबढाई छोडेको खुलेको हो। 

विद्यालयको नाममा रहेको किता नं. ८३ र ८४ को चार विघा जग्गाबाट ग्राभेल चोरी गरी उत्खनन गरिरहेको बेला ज १ क ४४० नम्बरको जेसीबीसहित चालक र सहचालकलाई स्थानीयहरुले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए। करिब डेढ सय टेलर ग्राभेल खनेपछि शनिबार स्थानीयले इलाका प्रहरी कार्यालय ढल्केबरको जिम्मा लगाएकोमा प्रहरीले कारबाही नै नगरी छाडेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी नारायण मण्डलले गुनासो गरे।

‘विद्यालयको जग्गाबाट रातारात डेढसय टेलर जति ग्राभेल चोरेर खनी लगेको छ। हामीले रंगेहात पक्राउ गरी जेसीबीसहित चालक र सहचालकलाई प्रहरीको जिम्मा लगायौँ तर कारबाहीको साटो प्रहरीले पैसाको चलखेलमा छाडिदियो’ उनले भने, ‘प्रहरीले भन्दैछ हामीले नगरपालिकाको जिम्मा लगायौं। सार्वजनिक सम्पति चोरी गर्नेलाई पनि नगरपालिकालाई जिम्मा लगाउन मिल्छ?’

स्थानीय विश्वनाथ महासेठ संयोजक रहेको सडक ग्राभेल उपभोक्ता समितिले विद्यालयको स्वीकृतिबीना नै रातिको समयमा जेसीबी र ट्रयाक्टर लगाएर चौरमा रहेको विद्यालयको जग्गाबाट झण्डै डेढसय टेलर माटो, ग्राभेल खनेको प्रधानाध्यापक प्रदीप कुमार सिंहले बताए।

गएको शुक्रबार राति नै ग्राभेल चोरी भएको थाहा पाएपछि २० गते स्थानीयको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिकाे आकस्मिक बैठक भएको थियो। तर फेरि ग्राभेल उत्खनन गर्न सोहि दिन जेसीबीले बाटो मर्मत गर्न थालेपछि विद्यालय व्यवस्थापन समिति लगायत स्थानीयले उक्त जेसीबी र चालक, सहचाकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ढल्केबरलाई जिम्मा लगाएको थियो।

इलाक प्रहरी कार्यालय ढल्केबरले बिना कारबाही जेसीबीसहित चालक र सहचालकलाई छाडेपछि कानुनी उपचार खोज्न विद्यालय व्यवस्थापन समिति लगायतका स्थानीयहरु सोमबार जिल्ला समन्वय समिति धनुषामा पुगेका थिए।

यता इलाका प्रहरी कार्यालयले पक्राउ परेका जेसीीसहति चालक र सह चालकलाई धनुषाधाम नगरपालिकालाई कारबाहीको लागि जिम्मा लगाएको जनाएको छ ।

‘विद्यालय व्यवस्थापन समितिले दिएको अवैध उत्खननको निवेदन अनुसार हामीले कारबाहीका लागि नगरपालिकालाई जेसीवीसहित चालक र सहचालकलाई जिम्मा लगायौँ,’ इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले भने ‘चोरी गरेको निवेदन दिएको भए हामी आफैँ काबाही प्रक्रिया अघि बढाउँथ्यौं। तर त्यसो भएन। ढुंगा, गिट्टी बालुवा उत्खनन सम्बन्धी कुरा नगरपालिकाको अधिकार क्षेत्र भिएको भएर जिम्मा लगाइयाे।’

इलाका प्रहरी कार्यालयबाट जेसीबीलाई जिम्मा लगाएपछि नगरपालिकाले आर्थिक ऐन अनुसार १७ हजार रपैयाँ जरिवाना काटेर छाडेको छ। तर चालक र सह चालकलाई आफूलाई कारबाही गर्ने अधिकार नभएकाले प्रहरीबाट जिम्मा नलिएको नगरपालिका प्रमुख बालेश्वर मण्डलले दाबी गरे।

‘अवैध उत्खनन गर्ने जेसीबी, टीपर, ट्याक्टरलाई कारबाही गर्ने अधिकार हाम्रो छ। तर सवारीसाधनसहित पक्राउ परेका मानिसलाई कारबाही गर्ने अधिकार हामीलाई छैन। त्यसैले हामी जेसीबीलाई मात्र जिम्मा लिएर कारबाही गर्यौ। चालक सहचालकलाई के भयो हामीलाई थाहा छैन’ नगरप्रमुख मण्डलले थपे।

उनले विद्यालय व्यवस्थापन समितिले आफूलाई पत्राचार नगरेको कारण ग्राभेल चोरेको विषयमा चाहे जस्तो पहलकदमी लिन नसकेको भन्दै पन्छिए।

यता इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्ष कार्कीले नगरपालिकाप्रति प्रश्न गर्दै भने ‘नगरपालिकाले त्यतिबेला जेसीबीसहित चालक र सहचालकलाई पनि लियो। अहिले व्यक्तिलाई कारबाही गर्ने अधिकार हामीलाई छैन भनेर जिम्मा नलिएको भन्न सुहाउँछ? त्यति बेलै भन्नु पथ्र्यो नि?’

जिल्ला समन्वय समिती धनुषाले सार्वजनिक सम्पति चोरीको घटनालाई कुन ऐन अनुसार नगरपालिकालाई जिम्मा लगायो भन्ने प्रश्न गरेको छ। समन्वय समिती धनुषाका उपसभापति दिपक झाले सार्वजनिक सम्पति चोरी गर्नेलाई प्रहरीले नै कानुन बमोजिम कार्वाही प्रक्रिया अघि बढाउनुपर्ने बताए। उत्खननसँग समबन्धित चोरीको घटना भएकाले प्रहरीले समन्वय समितीलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .