गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरमा पहिराेमा फसेकी महिलाको १८ घण्टापछि आज जीवितै उद्धार गरिएको छ।
मुसिकोट नगरपालिका २ की तारा कुमालको पहिराेबाट उद्धार गरिएको हो।
उनलाई आज हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको स्थानीयवासी श्रीराम महतले बताए। खेतबारीको मकै लिन गएकी उनलाई फर्कने बेला रातिदेखि ठूलो पानी परी बगेको लेदोले च्यापेको थियो।
दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिले फसेको देखेपछि मिलेर कुमालको उद्धार गरेका हुन्। अहिले हस्तिचौर र मुसिकोटका अधिकांश सडक अवरुद्ध छन्।
एम्बुलेन्सको व्यवस्था गरेर जान सक्ने स्थानसम्म गएर बिरामी ल्याउन प्रहरीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए। -रासस
प्रतिक्रिया