नेपाल प्रहरी देशको कानुन पालना गराउने सुरक्षा अंग हो। सर्वेन्द्र खनाल त्यो निकायको सर्वोच्च पद अर्थात् प्रहरी महानिरीक्षक पदमा आसिन व्यक्ति हुन्।
कर्तव्यको हिसाबले गलत कामलाई निरुत्साहन गर्नु उनको पहिलो जिम्मेवारी हो। तर प्रहरी महानिरीक्षक खनाल स्वयंले आफ्ना गलत कामको ढाकछोपका लागि सामाजिक सञ्जालमा फेक आइडी बनाएर समाचार लेख्ने पत्रकार, समाचार संस्थामाथि प्रहार गरिरहेको पुष्टि भएको छ।
महानिरीक्षक खनाल मुछिएका प्रकरणमा फेक आइडीबाट प्रतिक्रियास्वरुप उनको गुणगान गाउने काम भइरहेको हो।
२०७६ असार ३० गते साँझ नेपालखबरले आइजीपी खनालसम्बन्धी एउटा समाचार पोष्ट गरेको थियो। त्यो समाचार २०७६ वैशाख २७ गते प्रकाशित आइजीपी खनालले अजित डोभालसँग श्वर मिलाउँदा सरकार अप्ठ्यारोमा कै फलोअप समाचार हो।
प्रकरण के हो?
२०७५ चैत्र ७ मा बैंककमा बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक) को राष्ट्रि सुरक्षा प्रमुखहरुको बैठक भएको थियो। त्यसमा नेपालको तर्फबाट महानिरीक्षक खनालले प्रतिनिधित्व गरेका थिए। उनले त्यहाँ ‘पाकिस्तानलाई आतंककारी संरक्षक राष्ट्र’ भन्नुपर्ने भन्ने भारत सरकारका सुरक्षा सल्लाहकार अजित डोभालको प्रस्तावमा सहमति जनाएर फर्किए। फर्किएर यो विषयमा गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव प्रेमकुमार राईलाई समेत जानकारी दिएनन्।
२०७६ वैशाखको पहिलो साता ढाकास्थित बिमस्टेक सचिवालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै बैठकका एजेन्डा सरकारको अंग बनाउन पत्र पठायो। आइजीपी खनालले समर्थन जनाएजस्तो पाकिस्तानलाई आतंककारीको संरक्षक राष्ट्र भन्नु नेपालको परराष्ट्र नीति विपरित कार्य हो। यो बीचमा गृह र परराष्ट्रमा श्रृंखलाबद्ध छलफल र परामर्श भए। परराष्ट्र र गृहबीच श्रृंखलाबद्ध छलफल भएपछि यो बुँदालाई सरकारले स्वीकार नगर्ने निष्कर्षमा पुग्यो। परराष्ट्र र गृहका उच्च अधिकारीले नेपालखबरलाई यही बताए।
गृहले भनेको छ, ‘उनीमाथि अनुसन्धान अझै जारी छ।’ यही व्यहोरामा नेपालखबरले २०७६ असार ३० गते ‘आइजीपी खनालले बिमस्टेक बैठकमा अनुमोदन गरेको विषय सरकारद्वारा अस्वीकृत’ शीर्षकमा फलोअप समाचार प्रकाशित गर्यो।
फेक आइडीबाट हमला
समाचार पोष्ट भएको केही मिनेटदेखि समाचारमा प्रतिक्रिया सुरु भयो। मंगलबार बिहानसम्म फेसबुकमार्फत १५ वटा प्रतिक्रिया आएका छन्। जसमा १४ वटा अकाउन्टबाट महानिरीक्षक खनालको बचाउ गरिएको छ। समाचार लेख्ने पत्रकार र सञ्चार माध्यमलाई लाञ्छना लगाउने काम गरिएको छ। हेर्नुहोस् कमेन्टहरू:
कसरी पुष्टि हुन्छ फेक आइडी?
महानिरीक्षक खनालको बचाऊ र सञ्चारकर्मी र सञ्चार संस्थामाथि लाञ्छना लगाउने ती अकाउन्टहरुबारे अध्ययन गर्न नेपालखबरले केही स्वतन्त्र विशेषज्ञ र प्राविधिकहरुसँग परामर्श लिएको थियो। उनीहरुको अनुसन्धानबाट के देखियो भने ती १४ अकाउन्टमध्ये १२ वटा सन् २०१९ जुन २५ मा खोलिएका अकाउन्टहरु हुन्। बाँकी २ वटा अकाउन्ट पनि जुन महिनामै खोलिएका हुन्।
यसले उब्जाएको सामान्य प्रश्न: आइजीको खातिरदारी गर्नेहरुको जत्थाले कसरी एकै दिन फेसबुक अकाउन्ट बनायो? ती अकाउन्टहरु फेक भएको सबैभन्दा बलियो तथ्य यही नै हो।
महानिरीक्षकको छवि राम्रो भएको भनेर प्रतिक्रिया दिने फेसबुकका प्रोफाइलमा दिल्लीको इन्डिया गेट पृष्ठभूमिका तस्विर, मन्दिर गएका ब्यक्ति, भिडमा खिचिएको फोटोको कटिङ एवं ब्लर फोटो प्रयोग भएका छन्। कुनैमा पनि परिचय उल्लेख छैन। ती अकाउन्टमा साथी समेत छैनन्। केहीका ४–५ जना मात्र छन्। ती अकाउन्टहरूका फ्रेन्डलिष्ट, अबाउट (जानकारी) र पब्लिक पोष्ट केही छैनन्। यसले ती अकाउन्ट फेक भएको थप आधार दिन्छ।
ती फेक अकाउन्टबाट आएका गाली सशक्त छन्। नेपाली भाषाको प्रतिक्रियामा शुद्धाशुद्धी राम्रोसँग मिलाइएको छ। अंग्रेजी भाषामा आएका प्रतिक्रियामा समेत ग्रामर मिलेको छ। प्रतिक्रियाको प्रवृत्ति विश्लेषण गर्दा यी प्रतिक्रियाहरु भाषागत रुपमा दक्खल राख्ने मान्छेबाट लेखाइएका देखिन्छन्।
‘जाँडरक्सीको तालमा न्युज बनाएर समाचार सम्प्रेषण गर्नेलाई कालोमोसो दल्नैपर्छ नत्र सुध्रिनेवाला छैनन्’, सुनिल गुरुङ नामक आइडीबाट नेपालखबरमा यो कमेन्ट आएको छ।
कमेन्ट लेख्ने गुरुङ को हुन् त? उनका कति साथी छन्? उनको अकाउन्ट कहिले खोलिएको हो?
स्पष्ट देखिन्छः उनका फेसबुकमा अन्य कोही साथी छैनन्। सन् २०१९ को जुन २५ मा खोलिएको यो अकाउन्टको प्रोफाइलमा राखिएको तस्विर समेत गुरुङ जातिका मान्छेको हुलियासँग मिल्दो छैन। हेर्नुहोस् उनको प्रोफाइल तस्विर:
१४ फेकमध्ये यो एउटा प्रतिनिधिमूलक फेसबुक अकाउन्ट हो। अरू फेक अकाउन्ट पनि यसरी नै म्यानेज गरिएका छन्।
रोचक त के छ भने यही अकाउन्टबाट २०७६ असार १३ गते रुपान्तरण अनलाइनमा समेत खनालको बचाउ गर्ने काम भएको छ। (हेर्नुहोस् विस्तृतमा) नेपालखबरमा प्रहरी महानिरीक्षको बचाऊ गर्ने अधिकांश फेक आइडीबाटै रुपान्तरण अनलाइनमा समेत बचाऊ भएको देखिन्छ।
लोकमान सिंह कार्कीको शैली
सत्ता, शक्तिमा बसेकाहरुबाट सामाजिक सञ्जालमा फेक आइडीबाट आफ्नो छवि उजिल्याउने प्रयास भएको यो पहिलो पटक होइन। २०७२ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त थिए, लोकमानसिंह कार्की। सत्ता, शक्ति र पदको दुरुपयोग गरेका कारण उनी त्यतिबेला चरम बद्नाम थिए। उनको कर्तुतका खबर राष्ट्रिय सञ्चार माध्यमहरुले सार्वजनिक गर्थे। ती समाचारको अनलाइन लिंकमा गएर केही व्यक्तिले उत्तेजक अभिव्यक्ति दिँदै लोकमानसिंहको बचाउ गर्थे। माइसंसारले पछि पुष्टि गर्यो ती अकाउन्टहरु सबै फेक थिए। सो घटना भएको ४ वर्षपछि प्रहरी नेतृत्वमा रहेका खनालले लोकमानकै शैलीमा फेक आइडी अस्त्रको प्रयोग गरेका हुन्।
यो प्रकरणका थप खबर
१. आइजीपी खनाल–डोभाल गठजोडमा सन्देह, गृहमन्त्री र सचिवबीच छलफल
प्रतिक्रिया