ad ad

समाज


साढे ३३ किलो सुन प्रकरणः चार मुद्दाका अभियुक्त हरिशरणलाई मध्यराति पुर्‍याइयो विराटनगर

साढे ३३ किलो सुन प्रकरणः चार मुद्दाका अभियुक्त हरिशरणलाई मध्यराति पुर्‍याइयो विराटनगर

उजिर कार्की
असार २९, २०७७ सोमबार १५:१,

साढे ३३ किलो सुन प्रकरणमा संलग्न रहेको आरोपमा युएईबाट फर्किंदा विमानस्थलमा पक्राउ परेका हरिशरण खड्कालाई विराटनगर पुर्‍याइएको छ।

मोरङ प्रहरीले सोमबार उनलाई जिल्ला अदालतमा उपस्थित गराएको छ। हरिशरण विरुद्ध चार वटा मुद्दा रहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

उनीविरुद्ध आपराधिक समूह र सञ्जाल स्थापना गरी सुन अवैध चोरी निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता छ।

गत शनिबार बिहान १०:२० मा दुबईबाट हिमालयन एयरलाइन्सको उडान नम्बर एच ९५७७२ बाट उनी नेपाल आएका थिए। उनी नेपाल फर्किंदै गरेको सूचना इन्टरपोलमार्फत नेपाल प्रहरीले पाएको थियो।

सोही सूचनाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आगमन कक्षमा चेकजाँच गर्ने क्रममा उनी इन्टरपोलको अन्तर्राष्ट्रिय खोजतलासको सूचीमा रहेको पत्ता लागेको थियो।

विमानस्थलस्थित अध्यागमन विभागले जानकारी दिएलगत्तै प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट डीएसपीको कमान्डमा टोली खटिएको थियो। नियन्त्रणमा लिएपछि गौशाला वृत्तमा राखिएका उनलाई आइतबार राति मोरङ प्रहरीलाई बुझाइएको हो।

सञ्जीव शाक्यको जाहेरीले गोरे भन्ने चुडामणि उप्रेती समेतको संलग्नतामा भएका घटनामा हरिशरण खड्काको समेत संलग्नता देखिएको प्रहरीको दाबी छ। यसअघि पक्राउ परेका व्यक्तिले उनको संलग्नता रहेको बयान दिएका थिए।

उनीविरुद्ध जिल्ला अदालत मोरङले वारेन्ट जारी गरेको थियो। हरिशरण यूएईमै बसेपछि उनलाई पक्राउ गर्न इन्टरपोलको अन्तर्राष्ट्रिय खोजतलासको सूचीमा राखी रेड नोटिस जारी गरिएको थियो।

उनीविरुद्ध २०७५ साउन ९ गते इन्टरपोलले रेड नोटिस जारी गरेको थियो। उनले दुबईमा बसेर विभिन्न व्यक्तिहरुसँग रकम संकलन गरेर अवैध सुन खरिद गरी नेपालतर्फ पठाउने गरेको आरोप छ। उनले आपराधिक समूहका सदस्यलाई उक्त सुन किनेर बुझाउने गरेको पाइएको छ।

दुबईबाट आएको अवैध सुन हरिशरण खड्काले पटक पटक रामहरि कार्कीलाई बुझाएको बयान पक्राउ परेका मोहन काफ्लेले दिएका थिए। काफ्लेको घरमा प्रहरीले खानतलासी गर्दा बरामद भएको रजिस्टरमा सुन पठाउने व्यक्तिको नामहरुमा हरिशरणको समेत नाम उल्लेख थियो।

उक्त रजिस्टरमा पटक पटक हरिशरणले सुन पठाएको उल्लेख थियो। २०७४ माघ ९ गते आएको साढे ३३ किलो अवैध सुन हराएपछि उक्त समूहभित्रै विवाद भएको थियो।

हराएको सुन खोजी गर्न आपराधिक समूहका सदस्यलाई उक्साउँदा सनम शाक्यलाई अपहरण गरी बन्धक बनाई यातना दिई ०७४ फागुन १८ गते मोरङको उर्लाबारी १ स्थित जंगलमा हत्या गरिएको थियो। हरिशरण यो घटनामा समेत संलग्न रहेको अभियोग छ।

हरिशरणसँगै इन्टरपोलले रेड नोटिस जारी गरेका बेनु श्रेष्ठ २०७५ साउन १० गते पक्राउ परेका थिए। इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो काठमाडौंमार्फत इन्टरपोल मुख्यालयले बेनुसहित सुन तस्करीका मुख्य नाइके एमके मामा भन्ने मोहनकुमार अग्रवाल, रमेश उप्रेती र हरिशरण खड्काविरुद्ध रेड नोटिस जारी गरेको थियो।

बेनुलाई २०७५ असोजमा नेपाल ल्याइएको थियो। उनले समेत दुबईमा सुन किनेर नेपाल पठाउने गरेको स्वीकार गर्दै बयान दिएका थिए।

उनले बयानका क्रममा हरिशरणको समेत संलग्नता रहेको बताएका थिए।

सनम शाक्यको निर्ममतापूर्वक हत्यापछि सुन तस्करी प्रकरण र यसको संगठित जालोका बिषयमा खोजबिन सुरु भएको थियो। १८ फागुन २०७३ मा सनमको शवसहित टेकराज मल्ल पक्राउ परेपछि घटनाको पर्दा खुल्दै गएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .