ad ad

समाज


कञ्चनपुर र डडेल्धुरामा ठूलो झुण्डमा सलह देखिए

कञ्चनपुर र डडेल्धुरामा ठूलो झुण्डमा सलह देखिए

गोकुल जोशी
साउन २, २०७७ शुक्रबार १४:७,

कञ्चनपुरमा शुक्रबार सलह किराको ठुलो झुण्ड देखिएको छ। जिल्लाका ६ स्थानीय तहमा सलह किरा देखा परेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ। बिहीबार बेलुका पुनर्वास नगरपालिका–११ विकास बस्ती क्षेत्र आसपासमा देखिएको सलहको झुण्ड ६ स्थानीय तहमा पुगेको हो।

पहिलो पटक पुनर्वास नगरपालिकामा देखा परेको सलहको झुण्ड शुक्रवार लालझाडी, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा पनि प्रवेश गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले बताए।

‘विभिन्न ठाउँमा सलह ठुलो झुण्डमा नै देखिए। समयमै स्थानीय किसान र हाम्रो टोलीले सलह धपाउन सफल हुँदा बालीनालीमा नोक्सानी गर्न पाएन’ उनले भने।

बेदकोट नगरपालिकाको चम्फापुर, दैजी, सुन्दरपुर र भीमदत्त नगरपालिका–२, १७, र १९ आसपासको क्षेत्रमा ठुलो झुण्डमा सलह किरा देखिएको उनले बताए।

‘अहिले कत्तै देखिएको खबर आएको छैन्, बालीमा पसे पछि किसानहरुले तितरवितर पारेका छन्।’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख भट्टले भने, ‘बासस्थानको खोजीमा राष्ट्रिय निकुञ्ज अथवा भारततर्फ गएको अनुमान छ।’

कृषि बालीलाई सखाप पारी अनिकाल निम्त्याउन सक्ने सलह किरा करोडौँको संख्यामा देखिए पछि किसानहरु चिन्तित भएका छन्। विज्ञका अनुसार यी फट्याङग्रा एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने गर्छन् भने एउटा बथानमा झण्डै चारदेखि आठ करोड हुन्छन्। फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरुले बताएका छन्।

यो फट्याङग्राले सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँठ, डाँठको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको बताइएको छ।

डडेल्धुरामा पनि देखियो सलह
डडेल्धुरामा पनि सलह देखिएको छ। शुक्रवार बेलुका डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउमा सलह किराको एउटा ठूलो झुन्ड देखा परेको स्थानीय चेतन बोहराले बताए। खेतमा सलह देखा परे पछि स्थानीय किसानहरु भाँडाकुँडा बजाएर धपाउने प्रयास गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .