ad ad

समाज


रेल नचल्दै नवनिर्मित संरचनाको बिजोग : चोरी र तोडफोड बढ्यो, चुहिन थाले भवन

रेल नचल्दै नवनिर्मित संरचनाको बिजोग : चोरी र तोडफोड बढ्यो, चुहिन थाले भवन

शैलेन्द्र महतो
साउन ८, २०७७ बिहिबार ११:५५,

चार/पाँच वर्षअघि जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा रेल्वे स्टेसन (जक्सन) बन्ने खबरले स्थानीय बासिन्दा निकै खुसी थिए।

नेपालकै एक मात्र रेल्वे जनकपुर–जयनगरको ठूलो स्टेसन बन्ने खबरले स्थानीय सूर्यनारायण रायको खुसीले भूइँमा खुट्टै थिएन। चौरमै रहेको छेउछाउकै जग्गामा व्यापार व्यवसाय फस्टाउने, जग्गाको भाउ बढ्ने, धेरैले रोजगार पाउने जस्ता कुराले सूर्यानारायण जस्तै सबै प्रफुलित थिए।

‘सुरुमा स्टेसन बन्ने कुराले हामी कुर्थाबासीको भूइँमा खुट्टै थिएन। व्यापार व्यवस्था फस्टाउँछ। कुर्थाले ठूलो फड्को मार्छ भन्ने लागेको थियो’, उनले भने, ‘स्टेसन निर्माण त भयो। तर, रेल आउने कुराको अहिले टुंगो छैन। त्यसैले अब रेल चल्ने कुरामा फुरुंग हुने कुरौ भएन।’

कुर्थाका बासिन्दाले सोचे अनुसारको रेल्वे स्टेसनका साथै आवश्यक संरचनाहरु निर्माण पनि भयो। झण्डै एक वर्षअघि पूर्ण रुपमा तयार भएको कुर्था स्टेसनको अवस्था रेल सञ्चालन नहुँदै बेहाल बन्न पुगेको छ।

नवनिर्मित भवनहरु समान्य वर्षामा समेत चुहिन थालेको छ। भवनमा ठाउँठाउँमा चिरा परेको छ। बस्नका लागि बनाएको स्थानहरु ढलेका छन्। सो स्थान गोठालो जानेहरु बसेर कुरा गर्ने, कामदारहरु थकाइ मार्न जाने र बालबालिकाहरु खेल्ने ठाउँ बनेको छ। कोसी कतै संरचमा ठोकठाक गर्छन्। त्यति मात्र होइन गाँजा, ड्रग्स सेवन गर्ने युवाहरुको प्रिय स्थल बनेको छ कुर्था रेल्वे स्टेसन।

भवनभित्र जताततै गाइवस्तुको गोबरमात्रै देखिन्छ। जडान गरेको बिजुलीको बाड कतै छ। कतै फुकालेर लगिसकेको देखिन्छ।



रेल्वे संचालन नहुँदै नवनिर्मित गौरवपूर्ण योजनाको यस्तो बिजोक अवस्थाले सुरुमा स्टेसन बन्ने खबरले प्रफुलित कुर्थाबासीहरु अहिले दुःखी र चिन्तित बनेका छन्।

‘स्टेसन निर्माण भयो। दुई वर्षमा रेल चलने। तर, कमसे कम रेल संचालनका लागि अर्बौ रुपैयाँ लगानी गरेर निर्माण गरेको संरचनाको त संरक्षण गर्नुपर्यो’, स्थानीय व्यवसायी चितनारायण साह निराश हुँदै भने, ‘हेर्नुस् स्टेसनको दुर्दशा। सञ्चालन नहुँदै धारासायी बन्दै छ। यसको संरक्षण गर्नु सरकारको दायित्व हो कि होइन? निर्मित संरचना संरक्षणका लागि चितनारायणले स्थानीय निकाय र राजनीतिक दलका प्रतिनिधिलाई गुहारे। तर, कसैले मतलब गरेनन्।'

‘सार्वजनिक सम्पतिको संरक्षण गर्ने सबैको दायित्व हो। मैले यसको निम्ति प्रमुख जिल्ला अधिकारीदेखि लिएर स्थानीय राजनीतिक दलका नेतालाई पनि ध्यानाकर्षण गराए। तर, कसैले वास्तै गरेनन्’, उनले भने, ‘यत्रो अर्बौ लगानी गर्दा १/२ जना कर्मचारी संरक्षण र रेखदेख गर्न पनि खर्च गर्नुपथ्र्यो। आखिरमा सरकारकै लगानी पानीमा गइरहेको छ।’

त्यति मात्र होइन जयनगरदेखि जनकपुरको कुर्थासम्म निर्माण गरेको रेल्वे लिक, भौतिक संरचनाबाट चोरी हुने, तोडफोड गर्ने क्रम बढेको छ।

अहिलेसम्म ८ हजारभन्दा बढी लिकमा प्रयोग हुने फलामे क्लिप चोरी भएको रेल्वे विभागले महानिर्देशक बलराम मिश्रको भनाइ छ।

भारत सरकारको सहयोगमा निर्माण भइरहेको भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का भारतीय इर्कन इन्टरनेसनल कम्पनीले लिएको छ।


रेल्वे संचालनको लागि नवनिर्मित तथा निर्माणको चरणमा रहेको संरचनाहरु तोडफोड, चोरी भएको विषयमा रेल्वे विभागसमेत चिन्तित छ। तर, निर्माण कम्पलीले विधिवत् रुपमा सरकारलाई हस्तान्तरण नगरेको कारण आफूहरु प्रत्यक्ष संरक्षण गर्न नसकेको महानिर्देशक मिश्रले बताए।

‘संरचनामा चोरी, तोडफोडजस्ता घटनाले हामी पनि चिन्तित छौं। तर, निर्माण कम्पनीले हामीलाई हस्तान्तरण गरेको छैन। त्यसैले त्यसको रेखदेख र संरक्षणको दायित्व उसैको हो’, महानिर्देशक मिश्रले भने ‘निर्माण कम्पनीले विधिवत् हस्तान्तरण गर्ने बेला हामी पूर्ण रुपमा चुस्तदुरुस्त संरचना लिन्छौं। तथापी अहिले भइरहेको तोडफोड, चोरीजस्ता गतिविधिको विषयमा जानकारी हुनेबित्तिकै पहलकदमी लिने गरेका छौं।’


उनले निर्माण भइरहेको यस्तो ठूलो योजनाको संरक्षण सम्बद्र्धन गर्नु सबैको दायित्व भए पनि केही व्यक्तिहरुले यसको महत्व नबुझेर त्यस्ता कार्यमा लागेको प्रतिक्रिया दिए।

रेल सञ्चालन कुरा ‘हात्ती आयो, हात्ती आयो फुस्सा’
दुई वर्षदेखि पटक–पटक जनकपुर–जयनगर रेल सेवा सञ्चालनको कुरा सुन्दासुन्दा जनता वाक्क दिक्क भइसकेका छन्।

सर्वसाधारणका लागि ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ उखानजस्तै भइसकेको रेल सेवा सञ्चालनको खबर। तर, कर्मचारी भर्नाजस्ता कुराले रेल सेवा कहिलेदेखि सञ्चालन हुने भन्ने टुंगो अझै भएको छैन।


यता रेल्वे सेवा विभागका महानिर्देशक बलराम मिश्रले अगामी मंसिरदेखि रेल सेवा सञ्चालन गर्ने तयारीमा भइरहेको नेपालखबरलाई जानकारी दिए।बन्दाबन्दीकाराण रेल सञ्चालन गर्न नसकेको उनको भनाइ छ।

पहिलो चरणमा भारतको कुर्थादेखि जनकपुरसम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ। दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको विभागले जनाएको छ। अब पहिलो चरणमै भारतको जयनगरदेखि कुर्थासम्म रेल सेवा सञ्चालन गर्ने विभागको तयारी रहेको जनाएको छ।

जनकपुरदेखि बर्दिबासस्म्म रेल सञ्चालनको निम्ति रेल विभागले भारतको सरकारी कम्पनी कोकण रेल्वेज कर्पोरेसन लिमिटेडसँग रेल किन्ने सम्झौता अनुसार दुई सेट रेल निर्माण भइसकेको छ। रेल्वे विभागका अनुसार भारतको मद्रासस्थित कोकण रेलवेज कर्पोरेसन कम्पनीमा निर्माण भइसकेको दुई सेट रेल रंगरोगन गरी ल्याएर बिहारको पटना नजिकै सुरक्षितसाथ राखिएको छ।

‘बन्दबन्दीको कारण किनेर ल्याएका दुई सेट रेल बिहारको पटनानजिकै सुरक्षित राखिएको छ। केही दिनमा भारतकै जयनगर ल्याउँछौं’, महानिर्देशक मिश्रले भने, ‘लकडाउन खुल्यो। अब कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउँछौं। आगामी मसिंरको सीताराम विवाहपञ्चमीमा रेल सञ्चालन गर्ने हाम्रो तयारी छ।’


जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर लम्बाइको रेल्वे मार्ग ३ खण्डमा बनिरहेको छ। परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजना थियो। जसअन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार छ भने दोस्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम पनि चाँडै सम्पन्न हुने गरी धमाधम काम भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .