ad ad

समाज


फोन गरेर युवतीलाई भेट्न बोलाए, अनि कामदारलाई बाटो ढुकेर एसिड हान्न लगाए

फोन गरेर युवतीलाई भेट्न बोलाए, अनि कामदारलाई बाटो ढुकेर एसिड हान्न लगाए

उजिर कार्की
साउन ९, २०७७ शुक्रबार १०:१९,

फोनमा ब्लक गरेको तीन महिना भइसकेको थियो। तर बिहीबार उसको अथवा मोहम्मद आलमको तारन्तार फोन आउन थल्यो।

२२ वर्षीया युवती दही किन्नका लागि घरबाट निस्किन्। फोनमै मोहम्मदसँग भेट गर्ने तय भइसकेको थियो।

ओखलढुंगाकी यी युवती पहिले मोहम्मदकै गार्मेन्टमा काम गर्थिन्। उनी दिदीसँगै बस्छिन्, बाफलमा। दिदी भने अहिले पनि मोहम्मदकै गार्मेन्टमा काम गर्छिन्।

कुनै समय दिदी बहिनी नै उसको काम गर्ने भएकाले मोहम्मदसँग परिवारको राम्रै घुलमिल थियो। तर युवतीले केही महिना काम गरेर गार्मेन्ट छाडिन्। उनी ह्यात होटलमा काम गर्न थालिन्। होटलमा काम गर्न थालेसँगै उनीहरुको भेटघाट पातलियो। सम्बन्ध पहिले जस्तै रहेन।

तीन महिनादेखि त युवतीले मोहम्मदलाई फोनमा ब्लक नै गरेकी थिइन्। उनीहरुको बीचमा फोन संवाद समेत टुटेको थियो। तर अनुसन्धानमा संलग्न प्रहरी भन्छन्, ‘बिहीबार ७ पटक उनीहरुको बीचमा कुरा भएको देखिन्छ।’

बिहीबार युवती आफूलाई भेट्न आउने निश्चित भइसकेपछि मोहम्मदले आफ्नो गार्मेन्टमा काम गर्ने भारतीय नागरिक फैयाज आलमलाई युवतीको घरनजिकै लगेर छाडे। उनले रक्सीको बोतलमा एसिड बोकेका थिए।

फैयाजले भने बोतलमा के छ भन्ने कुरा आफूलाई थाहा नभएको प्रहरीलाई बयान दिएका छन्। उनलाई साहु मोहम्मदले युवतीको अनुहारमा हान्न लगाएका थिए।

फैयाजलाई त्यहीँ छाडेर मोहम्मद फर्किए।

युवती घरबाट निस्किन्। बाफलको कोल्ड स्टोरमा मोहम्मदले उनलाई भेटे। 

युवतीले कोल्ड स्टोरमा दही किनिन्। अर्को पसलमा चिउरा किनिन्। उनलाई मोहम्मदले घर नजिकै मोटरसाइकलमा लगिदिने भए। युवती मोटरसाइकलमा पछाडि बसेर घरतर्फ लागिन्। घरभन्दा केही वर उनलाई ओरालेर मोहम्मद त्यहीँ बसे।

मोटरसाइकलबाट ओर्लेर हिँड्दै गरेकी युवतीलाई साहुले भनेझैँ गरी फैयाजले एसिड खन्याए। उनी चिच्याउँदै कोठा पुगिन्।

फैयाजलाई केही तल पर्खिरहेका मोहम्मदले मोटरसाइकलमा लिएर डल्लुतर्फ फर्किए।

युवतीलाई नजिकै रहेको अस्पतालमा लगियो। त्यहाँ सामान्य उपचारपछि कीर्तिपुर अस्पतालमा लगियो।

यता एसिड छर्किएका दुई जना भने डल्लुको कोठा नजिकै पुगेर रक्सी खान थाले। महानगरीय प्रहरी वृत्त स्वयम्भुले घटनाको बारेमा जानकारी पायो। वृत्तले काठमाडौं प्रहरी परिसरमा खबर गर्‍यो। महाशाखा र परिसरका टोली खटिए। उपत्यका आउजाउ गर्ने सबै नाका सील गरियो।

परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीसहितको टोली कीर्तिपुर अस्पतालमा पुगेर युवतीसँग सोधखोज गर्‍यो। मोबाइल नम्बर मागेर प्रहरीले सम्पर्क हेर्न थालिसकेको थियो। उपत्यकाका वृत्तबाट समेत केही प्रहरी परिचालन गरियो। महाशाखाका प्रमुख एसएसपी दीपक थापासहितको टोली पनि फिल्डमा निस्कियो।

116216155_1157938817915163_7429140308621748555_n.jpg

प्रहरीले सीसीटीभीको फुटेज निकालेर उनीहरुको पहिचान गरिसकेको थियो। सम्पर्क र सीसीटीभी फुटेजका आधारमा उनीहरु पत्ता लागे। मोहम्मद र फैयाज भने रक्सी खाएर कोठामा पुगिसकेका थिए।
फैयाजकोमा प्रहरी पुग्यो। हातमा पनि एसिड लागेकाले उनले कपडा परिवर्तन गरिसकेका थिए।

प्रहरीले फैयाजलाई सोध्यो, ‘यो फोटो कसको?’

‘मेरो,’ फैयाजले भने।

‘फोटोमा देखिएको लुगा खै?’, प्रहरीले फेरि सोधे।

‘त्यहाँ छ,’ भन्दै एसिड छर्किंदा लगाएको कपडा देखाए।

प्रहरीले उनलाई नियन्त्रणमा लिइसकेपछि सबै सोध्दै गयो। उनले साहुले भनेकाले छ्यापेको बताए। उनले छ्याप्न लागेको वस्तु एसिड भन्ने पनि आफूलाई पोलेपछि मात्रै थाहा भएको बताएका छन्।

याे पनि: आक्रमणकारी युवकको बयानः आफैंलाई पोलेपछि मात्रै थाहा पाएँ, एसिड पाे रहेछ! (भिडियो)

मोहम्मदले युवतीलाई आफूले मन पराउने तर पछिल्लो समय उनी टाढा भएको र रुपको घमण्ड गरेकाले एसिड हानेको बताएका छन्। ह्यात होटलमा काम गर्न थालेपछि बिस्तारै युवती टाढिँदै गएको र पछिल्लो समय फोनमा समेत ब्लक गरेको बताएका छन्। लामो समय फोन सम्पर्क नदेखिएका उनीहरुबीच बिहीबार भने पटक पटक फोनमा कुराकानी भएको पाइएको प्हरीले जनाएको छ।

युवती अस्पतालमा भएकाले उनीसँग बयान लिन बाँकी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुई जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .