ad ad

समाज


‘कर्मचारीको मिलेमतोमा नक्कली अंशियार खडा गरी जग्गा पास’, गरिबको उठिबास

‘कर्मचारीको मिलेमतोमा नक्कली अंशियार खडा गरी जग्गा पास’, गरिबको उठिबास

गोकुल जोशी
साउन १४, २०७७ बुधबार ११:६,

कञ्चनपुरको बेदकोट नगरपालिका–१० चतहरीका धनुबहादुर रावलको ५ जनाको परिवार टिनले छाएको सानो झुप्रोमा बस्छन्।

धनुबहादुर रावललाई दुई महिना पहिले मातृशोक पर्‍यो भने एक महिना पहिले उनका दाइले संसार त्यागे।

परिवारका दुई सदस्यको निधनले बिक्षिप्त बनेको धनुबहादुरको परिवार अहिले अर्को ठुलो समस्यामा परेको छ।

धनुबहादुर, उनकी आमा मङ्गली देवी र उनका दाइ देवबहादुरको संयुक्त नाममा रहेको ४ कट्ठा १८ धुर जग्गा अर्कैले नामसारी गरेको पाइएको छ।

‘मालपोत कार्यालय कञ्चनपुरका कर्मचारीहरुको मिलोमतोमा नक्कली अंशियार खडा गरेर बेदकोटका बिपिन प्रकाश पाण्डेयको नाममा रावल परिवारको जग्गा नामसारी’ गरिएको हो।
बेदकोटका बिपिन प्रकाशसँग दृष्टि बन्धकमा राखिएको जमिन मालपोतका कर्मचारीको मिलेमतोमा नामसारी गरिएको धनुबहादुर रावल बताउँछन्।

उनकी आमा मङ्गली र दाई देवले २०७१ सालमा जग्गा २ लाख ५० हजार रुपैयाँमा एक वर्षका लागि पाण्डेयलाई दृष्टि बन्धकमा लालपुर्जा दिएका थिए।

दृष्टि बन्धकमा दिएको लालपुर्जा मालपातका कर्मचारीको मिलेमतोमा नक्कली अशिंयार खडा गरेर पाण्डेयको नाममा गरिएको उनीहरुको भनाइ छ।

जग्गा नामसारी गर्दा अंशियार आफै उपस्थित हुनुपर्छ। तर १० वर्षदेखि भारतमा रहेका अशिंयारमध्येका एक धनुबहादुरको किर्ते हस्ताक्षर गरेर जग्गा नामसारी गर्दै बिक्रि गरिएको छ।

DhanuBdr Kanchanpur 3

‘म लामो समयदेखि भारतमा थिएँ,’ धनबहादुरले भने, ‘मेरो दाई र आमालाई झुक्याएर हाम्रो जग्गा पाण्डेयले आफ्नो नाममा नामसारी गरी बिक्री गरेका छन्। मेरो हस्ताक्षर पनि किर्ते गरिएको छ।’

उनका अनुसार दृष्टि बन्धकमा पाण्डेयले दिएको जग्गा आफ्नो नाममा गर्दै काशीसिंह भण्डारीलाई बिक्री गरिसकेका छन्।

दृष्टि बन्धकमा कुनै अचल सम्पत्ति धितो राखी इच्छामाफिकको ब्याज दिन कबुल गरी यति भाकाभित्र साँवाब्याज समेत नबुझाएमा सो धितोबाट असुलउपर गरिन्छ। त्यसपछि धनीका नाममा जग्गाजमिन धितो राखे पनि सो धितो ऋणीले नै चलनचल्ती गरेको हुन्छ।

दृष्टि बन्धकको कागज बनाउने भनेको तर पछि झुक्याएर जग्गा नै आफ्नो नाममा गरेको धनुबहादुरकी भाउजु शान्तीदेवी रावलले बताइन।

‘कागज बनाउछुँ भनेको थियो तर पछि कागज बनाएन,’ उनले भनिन्, ‘हामीसंग दृष्टि बन्धकको कागज पनि छैन्।’

मालपोत कार्यालय कञ्चनपुरको रेकर्डअनुसार मंगली, देवबहादुर र धनुबहादुर रावलको नाममा रहेको कित्ता नं. २२९८ को ४ कट्ठा १८ धुर जग्गा २०७१ जेठ महिना ६ गते विपिनप्रकाश पाण्डेयको नाममा पास भएको छ।

रावल परिवारबाट पाण्डेयले ४ लाखमा उक्त जग्गा खरिद गरी नामसारी गरेको मालपोतको रेकर्डमा छ।

पाण्डेयको नाममा सरेको १ वर्षपछि २०७२ मंसिर २७ गते पाण्डेयले २ लाख ९४ हजारमा काशीसिंह भण्डारीलाई बिक्री गरी उनको नाममा पास गरेको मालपोतको रेकर्डमा उल्लेख छ।

आफ्नो जग्गा अर्कैले आफ्नो नाममा नामसारी गरेपछि रावल परिवारको उठिबास हुने स्थित आएको छ।

‘घर समेत उठाउनु भन्छन्। अब हामी कहाँ जाने? हाम्रो त बिचल्ली हुने भयो।’ धनुबहादुरले भने।

अंशियारमध्येका एक धनबहादुर १० वर्षदेखि भारतमा रहेको स्थानीय पनि बताउँछन्।

‘गरिब, सोझासाझा मानिसलाई जालझेल गरी जमिन आफ्नो नाम गरिएको छ। यसमा मालपोतका कर्मचारी पनि संलग्न छन्,’ स्थानीय जयबहादुर रावलले भने, ‘धनुबहादुर त १० वर्षदेखि भारतमा छन्। उनी यसबीचमा कहिल्यै आएनन्। आमाको निधनपछि मात्रै आएका हुन्। उनको हस्ताक्षर कसरी भयो?’

जमिन बिक्रि गर्दा पाण्डेयले आफ्नै जमिन भन्दै बिक्रि गरेको धनुबहादुरको जमिन खरिद गर्ने काशीसिंह भण्डारीका छोरा राम भण्डारीले बताए।

‘हामीलाई जमिन यस्तो हो भन्ने थाहा थिएन। आफ्नै जग्गा हो भनी बिक्रि गरेको हो,’ उनले भने।

उता विपिनप्रकाश पाण्डेयले भने रावल परिवारको सहमतिमै ४ लाखमा जग्गा खरिद गरेको दाबी गरे।

‘मैले उहाँहरुलाई झुक्याएर नामसारी गरेको होइन्,’ उनले भने, ‘उहाँहरु तीनै जनाको सहमतिमा जग्गा किनेर नामसारी गरिएको हो।’

आफूले रावल परिवारलाई नझुक्याएको पाण्डेयको दाबी छ। ‘मैले उहाँहरुलाई झुक्याएर कागजपत्र बनाएको छैन्,’ उनले भने, ‘उहाँहरु मकहाँ जग्गा बन्धक राख्ने भनेर आउँदा उहाँहरुलाई जग्गा बन्धक हुँदैन, बिक्रिनै गर्नुहोस् भनेपछि उहाँहरुले जग्गा बिक्रि गर्नुभएको हो।’

DhanuBdr Kanchanpur 1

रावल परिवारबाट आफूले ४ लाखमा जग्गा खरिद गरेको उनी बताउँछन्। ‘अहिले उनीहरुबाट खरिद गरेको जग्गा काशी भण्डारीलाई बेचेको छुँ,’ उनले भने, ‘४ लाखमा किनेको जग्गा घरायसी समस्याका कारण भण्डारीलाई २०७२ सालमा २ लाख ९४ हजारमा बिक्री गरेको हुँ।’

जग्गा पास गर्दा अंशियार आफै उपस्थित भएर हस्ताक्षर गर्नुपर्ने मालपोत कार्यालय कञ्चनपुरका प्रमुख खेमराज खत्रीले बताए।

‘गुनासो लिएर रावलजी कार्यालयमा पनि पुग्नुभएको थियो। उहाँको कुरा सुन्दा कर्मचारीहरुको पनि गम्भीर लापरबाही देखिन्छ। मिलेमतो देखिन्छ,’ उनले भने, ‘लिखित निवेदन आएमा यस बिषयमा छानविन गर्छौ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .