ad ad

समाज


बाढी बस्तीमा पस्दा कैलालीमा ४ जना बेपत्ता, दर्जनौं गाउँ डुबानमा

बाढी बस्तीमा पस्दा कैलालीमा ४ जना बेपत्ता, दर्जनौं गाउँ डुबानमा

नेपालखबर
साउन १५, २०७७ बिहिबार १:३६,

अविरल वर्षाका कारण कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा परेका छन् भने चार जना बेपत्ता भएका छन्।

जिल्लाको भजनी नगरपालिकाका फरक÷फरक ठाउँमा चार जना बेपत्ता भएका प्रहरीले जनाएको छ।

मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको जनजीवन कष्टकर बनेको छ। वर्षाका कारण जिल्लाको पूर्वी क्षेत्रका धेरैजसो भूभाग जलमग्न भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिका–८ सोनाफाँटा क्षेत्रका चार जना बगेर बेपत्ता भएका हुन्। भजनी–८ सोनाफाँटाका ठग्गु चौधरीका ११ वर्षीय नाति स्केल चौधरीसहित चार जना बेपत्ता भएका प्रहरीले जनाएको छ।

बेपत्ताको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीले जानकारी दिए। बाढीले बगाउँदै गरेको अवस्थामा दुई जनाको सकुशल उद्धार गरिएको छ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले बुधबार साँझसम्म बाढीका कारण जिल्लाभर सात सय बढी परिवार प्रभावित भएको जनाएको छ। प्रभावित परिवारलाई नजिकैको विद्यालय र सामुदायिक भवन स्थानान्तरण गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए।

‘बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतलाई परिचालन गरी उद्धार सहित राहत सामग्री वितरण गरिएको छ,’ उनले भने।

यसैगरी कान्द्रा नदीमा आएको बाढीले भजनी–८ मा एक हजार आठ सय विस्थापित भएका छन्। उनीहरुलाई नजिकै अग्लो ठाउँमा रहेको हुलाकी सडकमा त्रिपाल टाँगेर राखिएको छ।

जिल्लाको कान्द्रा, काडा र पथरैयालगायतका नदीमा पानीको बहाव बढेपछि भजनी, टीकापुर, लम्की र जोशीपुर गाउँपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन्। जल तथा मौसम विज्ञान विभाग अत्तरियाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ।

सुदूरपश्चिम प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .