ad ad

खेल


राखेपमा सिलवालको पुनरागमन : शक्ति घट्यो, वाचा पुरानै

राखेपमा सिलवालको पुनरागमन : शक्ति घट्यो, वाचा पुरानै

लक्ष्मी जि.सी
साउन १५, २०७७ बिहिबार १:२९,

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका रूपमा दोस्रोपटक शपथ खाएका रमेशकुमार सिलवाल बुधबार सिंहदरबारबाट सीधै त्रिपुरेश्वरस्थित राखेप मुख्यालय पुगे। एक वर्षमा दोस्रोपटक पदभार ग्रहण गरेका सिलवालले लगत्तै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरे।

कोरोना महामारी कम हुँदै गएमा गण्डकी प्रदेशको पोखरामा फागुनका लागि तय गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न कुनै समस्या नहुने बताए। पोखरामा पूर्वाधारकै कारण नवौं राष्ट्रिय खेलकुद नरोकिने दाबी गरे।

पोखरामा खेलका सबैजसो पूर्वाधार रहेकाले कोरोना महामारी कम भएमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने सिलवालले बताए। उनले भने, ‘अहिलेको मुख्य चुनौती भनेको स्विमिङ पुल र आर्चरीको हल मात्र भएकाले त्यसको वैकल्पिक व्यवस्था गरेर राष्ट्रिय खेलकुद गर्न सकिन्छ।’

silwal2

कोरोना संक्रमण कम भएको देशमा पनि पुनः देखापर्न थालेको भन्दै सदस्यसचिव सिलवालले नवौं खेलकुदका लागि पनि आफूहरू पर्ख र हेरको स्थितीमा रहेको बताए। उनले भने, ‘अहिले हामी पनि पर्ख र हेरको स्थितिमा छौं, त्यसैले नवौं खेलकुदका लागि अर्काे मिति तोकेका छैनौं। कोरोना संक्रमण कम हुँदै गएमा पहिलो प्राथमिकता भनेको विश्वकप फुटबलको छनोट नै हो।’

एसियाली फुटबल महासंघ (एएफसी) ले कोभिड-१९ महामारी कारण स्थगित विश्वकप छनोट असोजका लागि तय गरेको छ।

कोरोना संक्रमण फैलिरहेको समयमा विभागमा रहेका कतिपय खेलाडी ड्युटीमा खटिरहेको जानकारी दिँदै सिलवालले आफ्नो कार्यकालमा खेलाडीको त्यस्तो स्थिति हटाउन प्रयास गर्ने प्रतिबद्धता जनाए।

असार १८ गते राष्ट्रिय खेलकुद ऐन २०७७ कार्यान्वयनमा आएसँगै तत्कालीन सदस्यसचिव सिलवाल, अन्य पदाधिकारी र सदस्य पदमुक्त भएका थिए। नयाँ ऐनको व्यवस्थाअनुसार छनोट चरण पार गर्दै मन्त्रिपरिषदबाट नियुक्ति पाएपछि दोस्रोपटक सदस्यसचिवका रूपमा राखेप फर्किएका सिलवालले पहिला थाँती रहेका काम पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।

rameshsilwal2

गत वर्ष कार्यभार सम्हालेको छोटो समयमै सिलवालको नेतृत्वमा नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) सञ्चालन गरेको थियो। त्यति मात्र होइन, सागको साढे ३ दशक लामो इतिहासमा त्यो प्रतियोगिता, नेपालले ५१ स्वर्णसहित २०७ पदक जितेर सबैभन्दा सफल पनि बन्यो। जसका कारण सिलवालप्रति एक खालको विश्वास बढेको थियो। त्यसैले पदमुक्त हुँदा पनि उनी पुनः सदस्यसचिवका रूपमा फर्किनेमा धेरैको विश्वास थियो।

खेलकुदलाई जीवनको अंग मान्ने उनले काम गर्ने प्रतिबद्धतासहित दोस्रो कार्यकालको सुरुवात गरेका छन्।

‘खेलकुदको विकास गर्ने हो भने पूर्वाधार तयार पार्नुपर्ने हुन्छ। त्यसका लागि केन्द्रमा मात्र होइन, सबै स्थानीय तहमा पूर्वाधार बनाउनुपर्छ,’ उनले भने, ‘खेलाडीहरूलाइ प्रशिक्षण दिने, प्रशिक्षकलाइ अपग्रेड गर्ने राम्रो काम गर्नेलाइ सम्मान र नराम्रो काम गर्नेलाइ कारबाही गर्ने वातावरण तयार पार्नुपर्छ। राम्रो काम गर्ने संस्थालाइ बजेट बढाउँदै अझै हौसला दिन सकिन्छ।’

१३औं सागको हिसाबकिताब छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता सिलवालले दोहोर्‍याएका छन्। साग सकिएको दोस्रो दिन सिलवालले पत्रकारहरूसँग भनेका थिए, ‘आम्दानी कति भयो? खर्च कति भयो? ९० दिनभित्र सार्वजनिक गर्छु। एउटा पदकका लागि खेलकुद परिषद्ले कति रकम खर्च गरेको रहेछ। हिसाबकिताब गर्नुहोला।’ तर त्यसो भनेको ७ महिनाभन्दा बढी समय बित्दा पनि उनले हिसाबकिताब सार्वजनिक गरेका छैनन्।

नयाँ खेलकुद ऐन आएसँगै राखेपबाट बिदा भए पनि महिना दिन नबित्दै पुनः फर्किन सफल सिलवालले फेरि पनि सागको हिसाब छिट्टै सार्वजनिक गर्ने कुरा दोहोर्‍याएका छन्।

राखेपमा भ्रष्टचार गर्न नआएको भन्दै उनले आफूले सुशासन कायम गर्दै पारदर्शी ढंगले काम गर्ने दाबी गरे। पत्रकार सम्मेलनमा उनले भने, मेरा कुराहरू तथ्य र तथ्यांकमा रहेर सत्यतथ्य लेख्न आग्रह गर्छु। यस्तो विषयमा म छलफल गर्न सधैं तयार छु।’

खेलकुद विकासका लागि पूर्वाधार महत्वपूर्ण रहेकाले हरेक संघको आफ्नै खेल्ने ठाउँ हुनुपर्नेमा आफूले जोड दिने सदस्यसचिव सिलवालले बताए। पुरानो ऐनले सदस्यसचिवलाई शक्तिशाली बनाएको थियो, तर नयाँ ऐनले त्यो अधिकार ७ सदस्यीय कार्यकारी समितिलाई सुम्पिएको छ। समितिले राखेपबाट मन्त्रालयसँग समन्वय गर्नुपर्ने हुन्छ। आफूले त्यसलाइ सामान्य रूपमा लिएको बताउँदै सिलवालले प्रक्रियागत रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले केही संघको विवाद पनि छिट्टै समाधान हुने विश्वास दिलाए। राखेपमा दर्ता भएका २०६ वटा संघमध्ये केहीमा लामो समयदेखि विवाद भइरहेको छ। सिलवालले भने, ‘अहिले धेरै संघमा विवाद छैन, केहीमा मतभेद र केहीमा मनभेद छ भने कतिपयमा दुवै छ। ती दुवैलाई मिलाएर लैजाने छाैँ।’

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र सिलवाल उनकै चाहनामा पहिलोपटक राखेपको सदस्यसचिव भएका थिए। ऐनले व्यवस्था गरेको नयाँ प्रक्रियामा पनि उनले आवेदन दिनु र मन्त्रिपरिषद्ले नै नियुक्ति गर्ने भएपछि सिलवाल दोहोरिने अनुमान धेरैले गरेका थिए। खेलकुद मन्त्रालयमा सचिव रामप्रसाद थपलिया र खेलविज्ञ रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समितिले सिलवालसहित लिलबहादुर थापा र अञ्जु श्रेष्ठको नाम खेलकुद मन्त्रीसमक्ष सिफारिस गरेको थियो।

त्यसैमध्येबाट सिलवाल पुनः सदस्यसचिव र नेकपाका नेता शिव कोइराला ‘ज्वाला’ उपाध्यक्षमा नियुक्त हुँदा खेलकुद क्षेत्र आश्चर्यमा परेको थियो। सदस्यसचिवको रस्साकस्सी चलिरहँदा उपाध्यक्षको चर्चै थिएन। पहिलो कार्यकाल सफल बनाएका सिलवालको दोस्रो कार्यकाल कस्तो रहला? त्यसका लागि केही समय पर्खनुपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .