ad ad

समाज


नहर अतिक्रमण हुँदा शहर डुबानमा

नहर अतिक्रमण हुँदा शहर डुबानमा

नारायण अधिकारी
साउन २१, २०७७ बुधबार ११:९,

भरतपुर महानगरपालिकाकाको मुख्य शहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा शहरी क्षेत्र डुबानमा पर्ने गरेको छ। नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखा पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकी डुबान हुने गरेको हो।

नहरको कतिपय भाग पुरेर सडक बनाइएको छ भने कतिपय ठाउँमा निजी तथा सार्वजनिक भवनसमेत बनाइएको छ। महानगरमा वर्षाको पानी जाने उचित निकास हुन नसक्दा शहरी क्षेत्र डुबानमा पर्ने गरेको हो। वर्षामा शहरी क्षेत्रमा परेको पानी नहर हुँदै जाने गर्दथ्यो।

महानगरका मुख्य गरी १०, ११, १२ र ७ नम्बर वडा डुबानमा पर्ने गरेका छन्। महानगरको मुख्य बसोबास रहेको क्षेत्र डुबानमा परेको हो। नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर खेमबहादुर पाठकका अनुसार नारायणी लिफ्टको बी पम्प हाउसबाट तानेको पानी सि एल १ क्यानलमार्फत आउने नहर पूरै मासिएको छ।

भरतपुरको बसेनीबाट नहरचोक, मेडिकल कलेज, गेष्टहाउस चौर, कारागार, रिजालचोक हुँदै उक्त नहर प्रेमबस्तीसम्म पुगेको छ। पाठकका अनुसार नहरमा कालोपत्रे तथा कच्ची सडक, भवनजस्ता संरचना बनेका छन्। कार्यालयले पटकपटक सम्बन्धित निकायमा अतिक्रमण रोक्न पत्राचार गरेको भए पनि रोक्न नसक्दा अहिले शहरी क्षेत्र डुबानमा परेको उनले बताए।

पानीको निकास नभएपछि यहाँका सरकारी कार्यालय, निजी घर, सडक क्षेत्र, खाली जमिन पानीले भरिने गरेको छ। खुलारुपमा रहेका सार्वजनिक तथा निजी जमिन यतिबेला पानीले भरिएका छन्। नारायणी लिफ्ट सिँचाइ जलउपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले सरकारी निकायकै संरक्षणमा नहर अतिक्रमण हुँदा अहिले शहरी क्षेत्र डुबेको र खेतीयोग्य जमिनमा सिँचाइ अभाव भएको बताए।

उनका अनुसार नहरको अन्तिम विन्दु प्रेमबस्तीलगायतका क्षेत्रमा नहरको पानी पुग्न नसक्दा सिँचाइमा समस्या हुने गरेको छ। रानाभाटले भने, ‘नहर पुर्नुहुन्नभन्दा कसैले टेरेन, अहिले निकास नभएर समस्या भएको छ।’ पटक पटक आफूहरुले पहल गरेको भए पनि अतिक्रमण रोक्न नसकेको गुनासो उनले गरे।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल नहर मासिएकै कारण शहरी क्षेत्र डुबानमा परेको बताउँछिन्। जथाभावी विकासका नाममा सडक बनाउँदा वर्षाको समयमा समस्या देखिने गरेको उनले बताइन्। नहर अतिक्रमण रोक्ने काममा आफूले सहयोग गर्ने भन्दै उनले यस क्षेत्रलाई डुबान हुन नदिन केरुंगा घोल व्यवस्थित गर्न लागिएको बताइन्।

महानगर प्रमुख भएदेखि नै नारायणी लिफ्टको स्तरोन्नति गरी हिउँदमा समेत महानगर क्षेत्रमा सिँचाइ गर्नुपर्नेमा जोड दिँदै आएकी दाहालले केरुंगा घोललाई यहाँको जमेको पानीको निकाससँगै सुन्दरता प्रदान गरिने बताइन्। जनप्रतिनिधिले नै बजेट विनियोजन गरेर नहरमा बाटो बनाउने काम भइरहँदा पानीको निकासमा समस्या पर्ने गरेको छ।

लिफ्टले भरतपुर महानगरपालिकाको वडा नम्बर ४, ५, ६, ८, ९, ११, १२, १४, १५ लगायतका वडाका तीन हजार ५०० हेक्टर प्रत्यक्षरुपमा सिञ्चित गर्दै आएको छ। विसं २०४० मा स्थापना गरिएको यस लिफ्ट परियोजनाबाट आएको पानी खगेरी सिँचाइमा मिसाएर पश्चिम चितवनका अन्य वडामा पनि सिँचाइ गरिँदै आएको छ।

वर्षायाममा मात्रै सञ्चालन हुँदै आएको लिफ्ट स्तरोन्नति गरेर आउँदो वर्षबाट हिउँदमा समेत सिँचाइ गर्ने तयारी गरिएको छ। नारायणी नदीबाट पानी तानेर नहरमार्फत सिँचाइ गरिँदै आएको छ। मुख्य शहरी क्षेत्रमा सिँचाइको आवश्यकता कम हुँदै गएपछि नहर संरक्षणमा समस्या भएको छ। त्यसको प्रभाव नहरको अन्तिम विन्दुमा रहेका किसानलाई भने परेको छ।

नहर अतिक्रमण गरे पनि उचित ढलको व्यवस्थापन गर्न नसक्दा पानी जम्ने समस्या आएको हो। पानी जमेसँगै डेंगुलगायतका रोगको समेत समस्या थपिने चिन्ता स्थानीयवासीमा छ । रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .