ad ad

समाज


८ महिनादेखि तलब नपाउँदा निजी विद्यालयका शिक्षक, कर्मचारी समस्यामा

८ महिनादेखि तलब नपाउँदा निजी विद्यालयका शिक्षक, कर्मचारी समस्यामा

गोकुल जोशी
भदौ ३, २०७७ बुधबार ९:४४,

कञ्चनपुर जिल्लास्थित विभिन्न निजी विद्यालयहरुमा कार्यरत शिक्षकले ८ महिनादेखि तलब नपाएको गुनासो गरेका छन्।

२०७६ साल मंसिर महिनादेखि तलब नपाएर आफूहरु बिचल्लीमा परेको निजी स्कुलमा कार्यरत शिक्षकहरुले दु:खेसो पोखेका हुन्।।

लकडाउन अवधिमा पनि तलब नदिएर आफूहरुलाई भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना गरेकोले तत्काल तलब उपलब्ध गर्नुपर्ने माग संस्थागत विद्यालय शिक्षक युनियन कञ्चनपुरले अघि सारेको छ।
कोभिड–१९ को कारण भएको लकडाउनले संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुलाई बाँच्न नसक्ने अवस्थामा पुर्‍याएको संस्थागत विद्यालय शिक्षक युनियन कञ्चनपुरका अध्यक्ष धनन्जय जोशीले बताए।

‘जीवनको अमूल्य समय विद्यालयको उन्नति र प्रगतिको लागि व्यतित गर्ने शिक्षक, कर्मचारीले तलब नपाउँदा बिचल्ली भएको छ। जीवनभरी न्यून तलबमा काम गर्ने शिक्षक, कर्मचारीहरुलाई लकडाउनको अवधिमा तलब नमिल्दा भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भएको छ’ उनले भने।

गत शैक्षिक सत्रको मंसिर–पुस देखिकै तलब नपाएको अवस्थामा समेत निरन्तर शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक कर्मचारीहरुको पेटमा विद्यालय सञ्चालकले लात हानेको उनको टिप्पणी छ।
संस्थागत विद्यालयको हकहित तथा उन्नतिका लागि निरन्तर काम गरियो तर अहिले समस्यामा परेको बेला त्यही संस्थाले नहेरेको शिक्षक माधवराज पन्तले गुनासो गरे।

‘सञ्चालकले लकडाउनको बहानामा गत वर्षको मंसिर देखिको पारिश्रमिक नदिँदा अहिले हामी शिक्षकलाई घर भाडा तिर्न र रासन खरिद गर्न पनि समस्या भएको छ’ उनले भने।

निजी विद्यालय सञ्चालकहरू पारिश्रमिकका विषयमा गम्भीर बन्न छोडेर उल्टै शिक्षक निकाल्ने गतिविधि गरिरहेको भन्दै शिक्षकहरुलाई निकाल्ने काम रोक्नुपर्ने र तत्काल तलब उपलब्ध गराउनु पर्ने शिक्षकहरुकोे माग छ।

विद्यालय बन्द भइरहेको अवस्थामा शिक्षकहरुलाई सामान्य राहत हुने गरी सञ्चालकहरुले पारिश्रमिक उपलब्ध नगराएको संस्थागत विद्यालय शिक्षक युनियन कञ्चनपुरका अध्यक्ष धनन्जय जोशी बताउँछन्।

सञ्चालकले शिक्षकहरुका समस्याप्रति बेवास्ता गरिरहँदा सरकार समेत निरीह बनेको उनीहरुकाे गुनासाे छ।

सम्पूर्ण संस्थागत विद्यालयका शिक्षक, कर्मचारीको तलब उपलब्ध गराउनुपर्ने माग गर्दै निजी विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरुले एक साताको अल्टिमेटम दिएका छन्। एक साताभित्र आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलनमा जाने उनीहरुको चेतावनी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .