ad ad

समाज


यसपालिको गौरा पर्व ‘खल्लो’, घर–घरमा ‘बिरुडा’ राखेर यसरी मनाइँदैछ सुदूरपश्चिमको ठूलो पर्व

यसपालिको गौरा पर्व ‘खल्लो’, घर–घरमा ‘बिरुडा’ राखेर यसरी मनाइँदैछ सुदूरपश्चिमको ठूलो पर्व

गोकुल जोशी
भदौ ७, २०७७ आइतबार ६:४४,

सुदूरपश्चिममा आइतवारदेखि गौरा पर्व सुरु भएको छ। गौरा पर्व सुरु भए पनि कोरोना महामारीको त्रासले बिगतका वर्ष जस्तो चाडको चहलपहल भने यस वर्ष छैन्।

यस पर्वको पहिलो दिन आइतवार पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन्।

पञ्चमीका दिनदेखि घर घरमा बिरुडा राखेर गौरा पर्व सुरु हुने भीमदत्त नगरपालिका–१८ की कृष्णा भट्टले बताइन।

‘कोरोना महामारीले गर्दा यसपालीको गौरा पर्व खल्लो भएको छ। घरबाहिर मठमन्दिरमा भीडभाड छैन्,’ उनले भनिन्, ‘घरभित्रै परिवारका सदस्य मिलेर मनाउँदै छौँ।’

घरको एक कोठामा गाईको गोबरले लिपेर तामापितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टिका र अक्षताले सिङ्गारेर धुपबत्तीबालेर पञ्च अन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवन महेश्वरको आह्वान गर्ने कार्यलाई बिरुडा भनिन्छ।

GauraParba pooja 1

त्यस दिन महिलाले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउनाका साथै पञ्चवनस्पति (धान, साँउ, तिल, बेल र पाती)को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मङ्गलगीतसँगै घरमा ल्याएर राख्ने गर्छन्।

विवाहित महिलाले गौरा पर्वमा ब्रत बसी कण्ठसूत्र धारणा गर्नुपर्ने र पुरुषसरह गायत्री जप गरी भोजन ग्रहण गर्ने प्रचलन छ।

सप्तमीका दिन महिलाले दिनभर ब्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत रहेको भीमदत्त नगरपालिका–१८ कटानकी बसन्ती भट्टले बताइन्।

सात गाँठो पारिएको दुर्वा सहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुटृामा राखिन्छ। अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीति कथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शीरमा राखी नाँच्ने गर्दछन्।

यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गर्ने गरिन्थ्यो। यद्यपी कोरोना भाइरस (कोभिड–१९) को कारण यस वर्षको गौरा खल्लो भएको भीमदत्त नगरपालिकाका स्थानीय गीता भट्टले बताइन।

‘गौराको अवसरमा देउडा खेलिन्थ्यो, तर यसपाली त्यो सब भएन। कोभिड–१९ बाट बच्न जनस्वास्थ्य सबै मापदण्ड अपनाएर घरमै पर्व मनाउने छौँ,’ उनले भनिन्, ‘बिगतका वर्षमा ठाउँ–ठाउँमा देउडा लागेर चाडवाड आए जस्तो हुन्छ, यसपाली कोरोनाले सबै रोकिदिएको छ।’

गौरा पूजा गरिसकेपछि झाँकीसहित पञ्च वनस्पतिबाट बनाइएको गौराको प्रतिमालाई झाँकीसहित विसर्जन गरिने उनको भनाइ छ।

गौरा पर्वमा नयाँ कपडा लगाउनका साथै सेल, पुरी र चामलको पिठोबाट बनेको माणा, खीर, मालपुवा, बटुकजस्ता शाकाहारी पकवान खाने गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .