ad ad

समाज


सातवटा कारागारमा फैलियो कोरोना, कैदी छोड्ने कार्यविधि मन्त्रालयमै

सातवटा कारागारमा फैलियो कोरोना, कैदी छोड्ने कार्यविधि मन्त्रालयमै

नेपालखबर
भदौ १४, २०७७ आइतबार १७:४३,

नेपालमा कोरोना संक्रमण छिटफुट देखिनासाथ कैदीको चिन्ता सुरु भएको थियो। त्यतिबेलै सर्वोच्च अदालतले कैदीको संख्या कम गर्ने उपायसहितको आदेश जारी गरेको थियो।

अदालतले भनेको थियो, ‘तत्काल पक्रिनैपर्ने बाहेकका अभियुक्त नपक्रिनु, मिल्नेजति कैदी छोड्दै जानु, मिल्नेजतिलाई रकम लिएर कैदी भुक्तान गर्ने व्यवस्था पनि कार्यान्वयन गर्नु।’

अदालतको त्यही आदेशअनुसार बाल सुधारगृहका धेरै बालबालिकालाई अभिभावकको जिम्मा लगाइयो। जिल्ला प्रशासन कार्यालयको आदेशमा थुनामा रहेका थुनुवालाई पनि थुनामुक्त गरियो।

तर अन्य कैदीको हकमा तत्काल छोड्नका लागि कार्यविधि नभएको भन्दै त्यतिबेलै कारागार व्यवस्थापन विभागले बनाएको कार्यविधि कार्यान्वयनमा आउनसकेको छैन।

आफ्नै मन्त्रालयमा कार्यविधि अलपत्र पारेका गृहमन्त्री रामबहादुर थापाले आइतबार राज्य व्यवस्था समितिको बैठकमा कैदीमा संक्रमण देखिएको भन्दै चिन्ता व्यक्त गरे।

कारागार व्यवस्थापन विभागले खाका तयार गरेर बुझाएको कार्यविधि कानुन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयले अन्तिम रुप दिन बाँकी नै रहेको गृह स्रोतले जनाएको छ।

आइतबार राज्य व्यवस्था समितिका सांसदहरुले भने कैदीलाई पछि हाजिर हुने कागजात गराएर छोड्नुपर्ने विकल्पमा जान सरकारलाई सुझाव दिएका छन्। तर यसअघि तयार प्रस्तावित खाकामा भने दुई तिहाइ कैद भुक्तान गरिसकेकालाई छोड्न सकिने प्रस्ताव गरिएको छ।

उक्त कार्यविधिमाथि लामो समयदेखि छलफल नै हुनसकेको छैन। आइतबार राज्य व्यवस्था समितिले गृहमन्त्रीको ध्यानाकर्षण गराएसँगै यो कार्यविधि कार्यान्वयनमा जाने अपेक्षा गरिएको गृहका एक अधिकारीले बताए।

उक्त कार्यविधिमा हप्तामा एक दिन हाजिर हुने गरी छोड्ने, श्रममा छोड्ने, रकममा कैद कट्टा गर्नेजस्ता विकल्प उल्लेख छन्।

तर यो कार्यविधिअनुसार जघन्य प्रवृत्तिका अपराधमा संलग्नहरु भने छोड्न पाइनेछैन। कैदीको संख्या कम भए कारागारमा व्यवस्थापन गर्न पनि सहज हुनेछ। देशभरका कारागारमा २४ हजार १ सय कैदीबन्दी छन्।

सातवटा कारागारमा पस्यो कोरोना
कारागार व्यवस्थापन विभागका अनुसार देशका सातवटा कारागारमा कोरोना संक्रमण देखिएको छ। केन्द्रीय कारागार सुन्धारासँगै, बाँके, पर्सा, सिरहा, सुनसरी, स्याङ्जा र सिन्धुपाल्चोक कारागारमा कोरोना संक्रमण देखिएको छ।

केन्द्रीय कारागारमा मात्रै संक्रमितको संख्या ५० पुगेको छ। यहाँ कार्यरत ५२ जना प्रहरीलाई पनि कोरोना संक्रमण देखिएको छ। ३५ कैदीबन्दीलाई आइतबार संक्रमण पुष्टि भएको हो ।

देशभरका ८ सय ८० कैदीबन्दीको कोरोना परीक्षण (पीसीआर) गरिएको थियो। यीमध्ये १०९ जनामा संक्रमण देखिएको कारागार व्यवस्थापन विभागका निर्देशक देवर्षि सापकोटाले बताए। यीबाहेक कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मी र कर्मचारीमा समेत संक्रमण देखिएको छ।

पर्साको वीरगन्जमा ३३, बाँकेमा ८ जना, सिरहामा ७, सुनसरीमा ८, स्याङ्जा १ र सिन्धुपाल्चोकमा २ जना कैदीबन्दीलाई कोरोना संक्रमण देखिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .