ad ad

समाज


महोत्तरीमा घरभित्रै पसेर दलित महिलामाथि साहुले गरे कुटपिट, प्रहरीले लिएन उजुरी

महोत्तरीमा घरभित्रै पसेर दलित महिलामाथि साहुले गरे कुटपिट, प्रहरीले लिएन उजुरी

शैलेन्द्र महतो
भदौ १५, २०७७ सोमबार १२:५,

महोत्तरीमा लिएको ऋण तिर्न नसक्दा साहुले एक दलित महिलामाथि निर्घात कुटपिट गरेका छन्।

महोत्तरीको औरही नगरपालिका १ औरही बजारकी ६५ वर्षीय पासोदेवी मण्डलमाथि साहु परिवारले घरमै पसेर आइतबार कुटपिट गरेको पीडित परिवारले बताएका छन्।

स्थानीय साहु विजयचौधरी, उनका भाइ सन्तोष चौधरीलगायतले घरमै आएर व्याजसहित ऋण तिर भन्दै कुटपिट गरेको पीडित पासेदेवीले दुखेसो पोखिन्। साहुले कुटपिट गर्दै लगाएको साडीसमेत च्यातिदिएको उनका श्रीमान् गुदरी मण्डलले बताए।

पासोदेवीले घर व्यवहारका लागि दुई वर्षअघि मिटरब्याजी चौधरीसँग ‘प्रतिबजार हजार व्याजदर’ (औरहीमा हप्ताको दुईपटक बजार लाग्ने गर्दछ, एक बजार लागेपछि एक हजार ब्याज तिर्नुपर्ने, यो मिटर ब्याजभन्दा महँगो मानिन्छ) का हिसाबले दुईपटक गरी डेढ लाख रुपैयाँ ऋण लिएको बताइन्। जसमा एक लाख रुपैयाँको एक बजार अर्थात चारदिनमा लाग्ने स्थानीय हाटको हिसाबले एकबजारको १ हजार रुपैयाँ ब्याज हुन्छ।

साहुले चर्को ब्याजदरमा दिएको ऋणको कागज समेत बनाएका छन्। पासोदेवीले लिएको डेढलाख रुपैयाँको चर्को ब्याजदरमा दुई वर्षमै साढे ६ लाख रुपैयाँ सुदसहित मूलधन भएको पीडित गुदरी मण्डलको भनाइ छ।

No description available.परिवारका साथमा पासोदेवी मण्डल।

‘अहिलेसम्म साहुलाई ३ लाख रुपैयाँ तिरिसकेका छौं। अझै साढे ३ लाख रुपैयाँ माग्दैछन्। अहिले यो लकडाउनमा काँबाट ल्याएर दिने? हामी गरिबलाई खानै मुस्किल छ’, पीडित मण्डलले भने, ‘तर, साहुले घरमै पसेर ऋण सुदसहित फिर्ता गर। नत्र भैँसी फुकाएर लैजान्छु भनेपछि हामीले भैँसी दिने हो भने गराएको ऋणको कागज फिर्ता गरभन्दा भनाभन भयो। उनीहरुले मेरी श्रीमतीलाई कुटपिट गरे। चाँडै ऋण तिर्नु भनेर धम्काएर गए।’

बसेर ऋणको विषयमा छलफल गर्नभन्दा पनि कुरा नमानी कुटपिट गरेको स्थानीय प्रत्यक्षदर्शी बासुदेव मण्डलले बताए। कुटपिट गरेको विषयमा निवेदन दिन जाँदा औरही प्रहरी चौकीले निवेदनसमेत दर्ता नगरेको पीडित परिवारको गुनासो छ।

यता औरही प्रहरी चौकीका इन्चार्ज असई शिवजी यादवले विवाद भएपछि उनीहरुलाई प्रहरी चौकीमा ल्याएको र समान्य विवाद भएको बुझेर छोडेको बताए।

पीडितले आफूलाई विजय चौधरीलगायतले कुटपिट गरेको भन्दै उजुरी गर्ने भनेपछि इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिन भनेको असई यादवको भनाइ छ।

साहु विजयले विवादमा आफ्नी आमाले पासोदेवीको कपाल समातेको भए पनि  आफूले उनीमाथि कुटपिट नगरेको दावी गरेको प्रहरीले जनाएको छ।

यस घटना विषयमा कुनै प्रकारको जानकारी नरहेको र विस्तृतमा बुझेपछि मात्र केही भन्न मिल्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रकाश विष्टले नेपालखबरलाई बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .