ad ad

समाज


‘तातो पानी र गुर्जो खाएर कोरोना निको हुन्छ भन्ने भ्रम नपालौं’

‘तातो पानी र गुर्जो खाएर कोरोना निको हुन्छ भन्ने भ्रम नपालौं’

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार १२:४६,

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसका विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस तातो पानी खाएर, गुर्जो खाएर निको हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेको हो। प्राविधिक मान्छेहरुले संवेदशील विषयमा बोल्दा ध्यान दिनुपर्ने महाशाखाका निर्देशक डा. बासुदेब पाण्डेले बताए।

शिक्षा तथा स्वास्थ्य समितिमा कोभिड—१९ को सम्बन्धमा सरकारले गरेका कामहरुको विषयमा भएको छलफलमा उनले आफूलाई विज्ञ भनेर चिनाउने मान्छेहरुले समेत अनावश्यक भ्रम फैलाएको पाइएकोले त्यसो नगर्न आग्रह गरे।

यस्तै, उनले संघीयता सुरु हुनु भन्दा पहिले सिधै जिल्ला स्वास्थ्य कार्यालयहरुसँग समन्वय गरेर काम गर्न सकिने अवस्था भएपनि अहिले तीन तहको सरकार हुँदा आवश्यक बजेट समेत दिन समस्या भएको बताए। महामारीको समयमा स्थानीय तहसम्म स्वास्थ्य संस्थासँग सिधा सम्बन्ध राख्न सकिने वातावरण बनाउन आवश्यक रहेको उनले बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले अहिले नेपालमा दैनिक २३ हजार जनाको पीसीआर परीक्षण क्षमता भएपनि १८ हजार भन्दा बढी परीक्षण गर्न समस्या हुने बताइन्। ८ निजी समेत गरी ४८ वटा परीक्षण प्रयोशालाबाट दैनिक १८ हजारसम्म परीक्षण गर्न सक्ने अवस्था रहेको उनले बताइन्।

स्वाव नमुना प्रयोगशालामा आएको ३८ देखि ४८ घण्टासम्म सामान्यतया रिपोर्ट आउने भएपनि तत्काल परीक्षण गर्नैपर्ने र २, ३ दिनपछि पनि परीक्षण गर्दा हुने स्वावहरु सँगै आउँदा केही समस्या देखिने गरेको उनले बताइन्। रिपोर्ट पोजेटिभ आएकाहरुलाई ट्रेसिङ नगरी तत्काल रिपोर्ट दिदाँ व्यवहारिक समस्याहरु आउने गरेको उनले बताइन्।

प्रयोगशालाहरुमा जनशक्ति अभाव रहेको र निजी क्षेत्रमा प्रयोगशाला सञ्चालनका लागि दबाव आउने गरेको उनले बताइन्। निजी क्षेत्रले विशुद्ध व्यापारिक हिसाबले इच्छा देखाउने गरेको पाइएको उनको भनाई थियो।

समितिले कोभिड—१९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठन गरेको उपसमितिले छलफलको आयोजना गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .