ad ad

समाज


कोरोना संक्रमितलाई उपचार गर्दा सिर्जित फोहोर जथाभावी फालिएपछि स्थानीयवासी त्रसित

कोरोना संक्रमितलाई उपचार गर्दा सिर्जित फोहोर जथाभावी फालिएपछि स्थानीयवासी त्रसित

शैलेन्द्र महतो
भदौ २०, २०७७ शनिबार १३:५४,

जनकपुरमा कोरोना संक्रमितको उपचारको क्रममा स्वास्थ्यकर्मी तथा डाक्टरले प्रयोग गरेका स्वास्थ्य सामग्री जथाभावी फाल्ने गरेका कारण स्थानीयवासी त्रसित भएका छन्।

कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले प्रयोग गरेका पीपीई, मास्क, पञ्जा लगायतका फोहोर सामग्री प्रादेशिक अस्पताल जनकपुरको प्राङ्गणमै फालिएपछि उपचार गराउन पुग्ने अन्य बिरामी तथा आसपासका वासिन्दामा त्रास फैलिएको हो।

संवेदनशील स्वास्थ्य संस्थाहरु गंगालाल हृदयकेन्द्र, खोप तथा परिवार नियोजन संघ, जिल्ला स्वास्थ्य कार्यालय र नर्सिंग क्यम्पसमै संक्रमितलाई उपचार गर्ने आइसोलेसन कक्ष रहेको छ। र त्यहीँ परिसरमा अहिले ती फोहोरमैला फालिँदै आएको छ।

उक्त फोहोरको डङ्गुरमा दिनभरी दर्जनौ गाई, सुँगुर र कुकुर जम्मा हुने गरेको र ती जनावर वस्तीमा पस्ने गरेकाले बस्तीमा त्रास फैलिएको छ।

अस्पतालले संक्रमण फैलाउन सक्ने फोहाेरमैला व्यवस्थित गर्न नसकेकाले आफूहरु त्रसित भएको स्थानीय पुजा शर्माले गुनासो गरिन्।

Janakpur waste 2

‘यहाँ आइसोलेसन निर्माण गरेदेखि नै हामी स्थानीय त्रसित छौं। तर कोरोना संक्रमितलाई उपचार गर्दा प्रयोग गरिएका फोहोर समेत अस्पतालले जथाभावी फालेपछि बस्तीमा कोरोनाको जोखिम बढेको छ,’ उनले भनिन्, ‘कोरोना संक्रमितको संख्या दिनानुदिन बढेकै छ। अस्पताल परिसरमा जथाभावी फालेको फोहोर खाएर सुंगुर, कुकुर, गाई बस्तीमै डुलेपछि डरले हामीलाई कुनै अति आवश्यक कामले घरबाट निस्किन समेत गाह्रो भएको छ।’

सबभन्दा बढी गंगालाल हृदयकेन्द्रमा उपचार गराउन जाने गरेका बिरामी डराउने गरेका छन्।

मुटु रोगीलाई कोरोना भाइरसको संक्रमणबाट बढि जोखिम हुने पछिल्लो अध्ययन तथा घटानाक्रमले देखाएका छन्।

गंगालाल हृदयकेन्द्रमा आफ्नो छोराको उपचार गराउन पुगेका सखुवा महेन्द्रनगरका जनकलाल सिंह अस्पतालकै छेउमा कोरोना संक्रमितलाई उपचार गरेको पीपीई जस्ता फोहोर जथाभावी देखेपछि त्रसित हुने गरेका छन्।

‘यस्तो संवेदनशील ठाउँमा यसरी जथाभावी अस्पतालजन्य फोहोर फाल्नु मुटु रोगीको लागि निकै घातक छ। झन् त्यो फोहोरमा सुंगुर, कुकुर र गाईहरु डुल्छन् र पछि बस्तीमा पुग्छन्,’ उनले भने, ‘प्रादेशिक अस्पतालले किन यहाँ फोहोर यसरी जथाभावी फालेको हो? यस्तो फोहोरलाई त झन् संवेदनशील भएर मानिस नजाने ठाउँमा राम्ररी व्यवस्थापन गर्नुपर्ने हुन्छ। यहाँ त चारैतिर स्वास्थ्य संस्था नै छन्।’

गंगालाल हृदयकेन्द्र जनकपुरका प्रमुख डा.राजेश साहले जथाभावी फालेको फोहोरले यहाँ उपचार गराउन आउने बिरामीमा त्रास फैलिएको बताए।

‘यो ठाउँमा प्रादेशिक अस्पतालले पहिलेदेखि नै फोहोर फाल्दै आएको छ। कहिलेकाँही नगरपालिकाले पनि फोहोर फाल्छ।

अस्ति मरेको एउटा गाई नगरपालिकाले यही ल्याएर गाडेको थियो,’ डा. साहले भने भने ‘यो अति संवेदनशील ठाउँ भएकाले पटक पटक यहाँ फोहर नफाल्न प्रादेशिक अस्पताल र जनकपुरधाम उपमहानगरपालिकामा आग्रह गर्दा कुनै वास्ता गरिएको छैन। झन् अव संक्रमितलाई उपचार गरेको फोहर नै फ्ँयाकिएको छ।’

Janakpur waste 3

यता प्रादेशिक अस्पताल जनकपुरले अन्यत्र फोहोर फाल्ने ठाउँ नभएकोले अस्पतालकै जग्गा भएको उक्त ठाउँमा फोहोर व्यवस्थापन गर्ने गरेको बताएको छ।

तर संक्रमितलाई उपचार गरेको पीपीई लगायतको फोहोरको केमिकल प्रयोग गरी डिस्पोज गरेर मात्र छेउको कन्टेनरमा राखेर जलाउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन सिंहले बताए।

‘फोहोर व्यवस्थापनको लागि डम्पिंग साइट चाहिन्छ। उपमहानगरको डम्पिंग साइट छैन। उसले वास्ता पनि गर्दैन। त्यसैले अस्पतालकै जग्गामा व्यवस्थापन गर्नुपरेको छ,’ डा. सिंहले भने, ‘कोरोना संक्रमितलाई उपचार गरेको फोहरलाई केमिकल प्रयोग गरी डिस्पोज गरेर मात्र व्यवस्था गर्ने गरिएको छ। त्यो फोहोरबाट आतिनु पर्दैन। अहिले बाहिर फोहोर व्यवस्थापनको कुनै विकल्प छैन। अब चाँडै संघीय सरकारको सहयोगमा फोहोर व्यवस्थापन गर्ने थर्मल प्लान्ट जडान हुन्छ। त्यसपछि यो समस्या रहँदैन।’

उनले कन्टेनरमा मात्र फोहोर राखेर जलाउने गरेको बताउँदै कहिले काहीँ फ्याँक्नेहरुले कन्टेनरबाहिर पीपीई फालेको हुनसक्ने बताए। अब सीसीटीभीबाट निगरानी गरेर जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने उनको भनाइ छ।

यता जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता झाले डम्पिंग साइट नरहेकोले फोहोर व्यवस्थपनमा समस्या भएको बताइन्।

फोहोर व्यवस्थापनको समस्या चाँडै समाधान गर्न उपमहानगरपालिकाले पहल गरिरहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .